नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा युवा नेता विजय गौतमले प्रचण्डको नेतृत्व कौशलमा मात्र मुलुकमा समाजवाद सम्भव रहेको बताएका छन्।
अनेरास्ववियू (क्रान्तिकारी) मकवानपुरद्वारा दशैं, तिहार, नयाँ वर्ष, छठ तथा ल्होसारको पूर्वसन्ध्यामा आज आयोजित शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले मुलुकलाई पछाडि फर्काउन कोसिस गर्नेहरूले समृद्धि र सुशासनको नेतृत्व गर्न नसक्ने बताए।
'खड्ग ओलीले मास्न खोजेको संविधान र लोकतन्त्र आज प्रचण्डको नेतृत्व कौशलताले बनेको ५ दलीय गठबन्धनको कारण जोगियो,'उनले भने,'यसमा गठबन्धन साझेदार दल र नेताको भूमिका स्मरणीय भए पनि मुलुकलाई समाजवादको उज्यालोतर्फ डोर्याउने सामर्थ्य र अठोट प्रचण्डमा नै देखिएको छ।'
मुलुकलाई पछाडि फर्काउन खोज्ने प्रतिगामी पार्टी र नेताहरूको सोच केबल दिवास्वप्नमा सीमित हुने दाबी गर्दै नेता गौतमले खड्ग ओलीले एमालेलाई त्यतै लतारेर घाँटी जोड्न बाध्य बनाउन लागेकोले एमालेभित्र रहेका सच्चा कम्युनिष्टहरूले प्रतिवाद गर्नुपर्ने बताए।