राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले संगठन विभागमा तीन जना सदस्य थपेको छ।
बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले प्रमीला भुसाल, सुशील अधिकारी र मानकुमार लामालाई संगठन विभागका नयाँ सदस्य मनोनीत गरेको हो।
त्यस्तै पार्टीले संगठन सुदृढीकरण, विधायकी स्वायत्तता र उपनिर्वाचन तयारीमा सघन रूपमा लाग्ने घोषणा गरेको छ।
यीसहित बैठकले विभिन्न ६ वटा निर्णयहरू गरेको पार्टी प्रवक्ता मनीष झाले जानकारी दिए।
पार्टीले गरेका निर्णयहरू यसप्रकार छन्-
१. भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने र छानबिनका लागि सहजीकरणका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको अडानबारे छलफल गरियो र पार्टीको अडान कायम राखी संसदमा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने।
२. संसदको राज्य व्यवस्था समितिबाट पारित भएको सघीय निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधि सभाबाट पास भएर आउँदा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसदकोझ सार्वभौमिकतामाथि प्रहार हो।
कानुन बनाउने विधायकी स्वतन्त्र भूमिकामा आँच आउने गरी भएको यस्तो खालको बदमासीपूर्ण छलछामको गतिविधिलाई अनदेखा नगरी, यस कार्यमा संलग्नहरूलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्छ। संसदको यो विधायकी भूमिकामा कुनै पनि चलखेल सहय नहुने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।
३. आगामी कात्तिक २७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट योग्य उम्मेदवार छनोट गर्न बैठकमा पेस भएको उम्मेदवार छनौट विधिमा व्यापक छलफल भयो। प्राप्त सुझावहरू समेतलाई समेटेर आगामी आइतबार हुने सचिवालय बैठकमा उम्मेदवार छनौट कार्यविधि अनुमोदनका लागि प्रस्तुत गर्ने निर्णय भएको छ।
साथै पार्टीले रूपन्देही ३ मा त्यहाँको आम नागरिक, पार्टी शुभेच्छुकहरू समेतको चाहना अनुसार छनोट विधि मार्फत योग्य, सक्षम उम्मेदवार प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्छ।
४. पार्टीका सबै केन्द्रीय विभागहरूलाई चलायमान बनाउने, विभागहरूको रिक्त पदपूर्तिको लागि विभाग प्रमुखले पहल लिनुपर्ने, २०८२ असार मसान्त सम्मको कार्यसम्पादन प्रतिवेदन २०८२ साउन ७ गते भित्र पेस गर्न निर्देशन दिने, प्रदेशमा गठन गर्नु र्ने विभागहरू असार मसान्तसम्म गठन गर्न केन्द्रीय विभाग प्रमुखले पहल लिनुपर्ने निर्णय भएको छ।
५. केन्द्रीय संगठन विभागको प्रस्तावमा हालसम्म ७० प्रतिशत वडा अधिवेशन सम्पन्न भएको पालिकामा मात्र पालिका अधिवेशन हुनसक्ने व्यवस्था रहेकोमा उक्त व्यवस्थालाई संशोधन गरी ५० प्रतिशत वडा अधिवेशन भएको र ३० प्रतिशत वडा अधिवेशन भएको पालिकाहरूको समेत अधिवेशन गर्न सक्ने निर्णय भएको छ।
कुन पालिकामा कति प्रतिशत वडा अधिवेशन भएको भन्ने विवरणले संगठनको अवस्था चित्रण गर्ने भएकोले सो कुरा ख्याल गरेर सकभर धेरै वडा अधिवेशन सकेर पालिका अधिवेशन गर्न निर्देशन दिने निर्णय भएको छ।
६. केन्द्रीय संगठन विभागको सदस्यका लागि प्राप्त आवेदकहरूमध्ये छनौट कार्यदलबाट सिफारिस भएको निम्न सदस्यहरूलाई केन्द्रीय संगठन विभागको सदस्यमा मनोनीत गर्ने निर्णय गरिएको छ।
१. श्री प्रमीला भुसाल, चितवन
२. श्री सुशील अधिकारी, दाङ
३. श्री मानकुमार लामा, चितवन