ललितपुर महानगरको जवलाखेल क्षेत्रमा एकैसाथ चार वटा पार्क बन्ने भएका छन्।
यी पार्क ललितपुर महानगरको नगरस्तयरीय गौरवशाली आयोजना अन्तर्गत बन्न लागेका हुन्।
पार्कको शनिबार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शिलान्यास गरे।
चिल्ड्रेन पार्क, मिडल पार्क, पिस पार्क र गणेशमानसिंह पार्क नाम दिइएको यी पार्कहरू कूल २६ आना ३ पैसा जग्गामा निर्माण हुनेछन्। यी पार्कको कुल लागत ७८ लाख ४८ हजार रहेको महानगरपालिकाले जनाएको छ।
पार्कको शिलान्यास गर्दै नगरप्रमुख महर्जनले हरियाली र पानीजन्य परियोजनालाई महानगरले प्राथमिकतामा राखेको बताए। उनले भने, ‘सहरभित्र पार्क निर्माण गर्दा सहरको सौन्दर्य बढ्छ।’
खुल्ला स्थानको संरक्षण गर्न पार्क निर्माणलाई महत्व दिएको बताए। उनका अनुसार महानगरले खुल्ला ठाउँमा कुनै पनि भवन निर्माण गर्न नदिने नीति लिएको छ।
अहिले नै खुल्ला ठाउँको संरक्षण नगर्ने हो भने नयाँ पुस्तालाई अन्याय हुने उनले स्पष्ट पारे। प्रमुख महर्जनले भने, ‘म सानो छँदा लगनखेलमा फुटबल खेल्न जान्थें, त्यहाँ सबैतिर पोखरी थियो, त्यहीँ पौडी खेल्न सिकेको हो, हाम्रो पुस्ताले जुन प्रकृतिमा रमाइलो गरेका थियौं, त्यस्तो रमाइलो हाम्रा छोराछोरी र नातिनातिनाले गर्न पाएका छैनन्।’
ललितपुर महानगरपालिकाले लगनखेल, कुमारीपाटीको प्रसादी एकेडेमी नजिकै पार्क निर्माणको तयारी गरिरहेको छ। महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामरतन शाहले पार्क बालमैत्री, अपागंतामैत्री हुने बताए।
गणेशमान सिंह सालिक संरक्षण समितिका अध्यक्ष तथा पूर्वसांसद रामकृष्ण चित्रकारको पनि उपस्थिति थियो। पार्कका डिजाइनर वृक्ष फाउण्डेसनका अध्यक्ष मिलन राईले पार्क बालमैत्री, अपागंतामैत्री बन्ने बताए।
पार्क जैविक विविधतापूर्ण हुने समेत उनले स्पष्ट पारे। सिटिइभिटीइका पूर्वसदस्य सचिव तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष गणेशकुमार बखतीले पार्क निर्माण र संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्ण हुने बताए।