यस वर्ष नेपालका चार वटा ठाउँमा अहिलेसम्मकै उच्चतम तापक्रम मापन भएको छ।
बिहीबार चार वटा केन्द्र भएको ठाउँमा अहिलेसम्मकै सबभन्दा गर्मी भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार ओखलढुंगा, सुनसरीको धरान बजार, इलामको कन्याम चिया बगान र नवलपरासीको दुम्कौलीमा उच्चतम तापक्रम मापन भएको हो।
ओखलढुंगामा सोमबार ३१.१ डिग्री, मंगलबार ३१.३ डिग्री र बुधबार ३१ डिग्री मापन भएको हो। यहाँ यसअघि उच्चतम तापक्रम १९९९ अप्रिल २८ तारिखमा भएको थियो। त्यसयताकै सबैभन्दा उच्च तापक्रमको मापन भएको हो।
त्यतिबेला ३०.९ डिग्री तामपक्रम मापन भएको थियो।
धरानमा पनि बुधबार ३९.३ डिग्री पुगेको थियो। त्यसअघि सन् २०१३ अप्रिल १२ मा ३८.८ डिग्री तापक्रम थियो।
कन्याम चिया बगानमा रहेको केन्द्रले मापन गरेअनुसार मंगलबार ३० डिग्री मापन भएको थियो। यहाँ यसअघि सबैभन्दा उच्चतम तापक्रम मापन सन् १९७३ जुलाइ १० मा भएको थियो। त्यतिबेला २९ डिग्रीसम्म पुगेको थियो।
यसैगरी दुम्कौलीमा भने सोमबार, मंगलबार बुधबार नै ४३.८ डिग्री पुगेको विभागले जनाएको छ। यसअघि त्यहाँ उच्चतम तापक्रम ४३.७ डिग्रीसम्म पुगेको थियो। यो तापक्रम सन् १९७९ जुन ५ मा भएको थियो।
देशभर विभागका ११३ वटा केन्द्रहरू छन्। जसमध्ये १३ वटा केन्द्रमा जुन महिनाको उच्चतम तापक्रम मापन भएको छ।
