कात्तिक लागेपछि वाणिज्य बैंकहरूमा निक्षेप घटेको छ।
असोज मसान्तपछि कात्तिक मध्य (१५ गते)सम्म बैंकहरुको निक्षेप ११ अर्बले घटेको छ। असोज मसान्तसम्म वाणिज्य बैंकहरुले कुल २९ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा कात्तिक १५ गतेसम्म २९ खर्ब ६२ अर्बमा झरेको छ।
असोज मसान्तताका बैंकहरुले बचतकर्ताको खातामा व्याज जम्मा गरिदिँदा निक्षेप बढी देखिए पनि अहिले घटेको छ। तिहार, छठजस्ता पर्वका कारण बैंकहरुमा निक्षेप रकम घट्नु स्वभाविक रहेको बैंकर बताउँछन्।
‘चाडपर्वका कारण झिकिएको रकम पुनः बैंकमा आउन केही समय लाग्छ’ एक बैंकका प्रमुख कार्यकारीले भने ‘तै पनि निक्षेप सोचेअनुरुप बढ्न नसकेको यथार्थ हो।’
बैंकहरुमा निक्षेप अभाव चर्किएसँगै कर्जा विस्तारमा समेत संकुचन आएको छ।
असोज मसान्तसम्म कुल २६ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेका बैंकहरुले कात्तिक १५ गतेसम्म जम्मा २ अर्ब मात्रै बढाउन सकेका छन्। जवकि असोजको १७ गतेदेखि ३० गतेसम्म २१ अर्बले कर्जा विस्तार भएको थियो।