सेयर बजार बढ्दा ब्रोकर कम्पनी, नेप्से, सिडिएस एन्ड क्लियरिङ (सिडिएससी), धितोपत्र बोर्ड तथा सरकारलाई हुने आम्दानी पनि बढेको छ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले सेयरको मूल्यसँगै कारोबार रकम बढेकाले नेप्से, ब्रोकर कम्पनी लगायतको आम्दानी बढेको जानकारी दिए।
'बजार बढ्दा लगानीकर्ताको नाफा त बढ्ने नै भयो। सरकारले पाउने पुँजिगत लाभकर र टिडिएस पनि बढ्छ,’ उनले भने, 'नेप्से, सिडिएससी, धितोपत्र बोर्डको आम्दानी पनि बढ्छ।’
दोस्रो, सेयर बजारबाट सरकारलाई यस आर्थिक वर्षको पहिलो चार महिनामै १ अर्ब ६४ करोड रुपैयाँ राजश्व प्राप्त भएको छ। जबकि गत वर्षको ४ महिनामा १९ करोड २९ लाख रुपैयाँ राजश्व प्राप्त भएको थियो। सरकारको यो आम्दानी ब्रोकर, नेप्से तथा सिडिएससीले तिर्ने टिडिएस र व्यक्तिगत लगानीकर्ताले तिर्ने समग्र पुँजीगत लाभकर हो।
ब्रोकर, नेप्से, सिडिएससीले आफ्नो कमिसन आम्दानीमा १५ प्रतिशत टिडिएस तिर्ने गर्छन्। त्यस्तै व्यक्तिगत लगानीकर्ताले फाइदा लिएको सेयर मूल्यमा ५ प्रतिशत क्यापिटल गेन तिर्नुपर्छ।
कुनै कम्पनीको सेयरमा १० हजार नाफा लिएर लगानीकर्ताले बेचेमा ५ सय रूपैयाँ क्यापिटल गेन कटौती भएर बेच्नेको बैंक खातामा रकम प्राप्त हुन्छ।
सोबाहेक ब्रोकर कमिसन र धितोपत्र बोर्डको कमिसन कटौती हुन्छ। म्युचुअल फण्डहरूलाई भने क्यापिटल गेन नै तिर्नु नपर्ने व्यवस्था छ।
सेयर बजार बढिरहँदा ब्रोकर कम्पनीको कमिसन आम्दानी ६.९ गुणा बढेको छ। गत आर्थिक वर्षको पहिलो चार महिनामा ब्रोकर कम्पनीहरूले २१ करोड ५८ लाख रुपैयाँ खुद कमिसनवापत आम्दानी गरेकामा यस वर्षको सोही अवधिमा १ अर्ब ४५ करोड रुपैयाँ कमाएका छन्। हाल ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन्।
हाल दैनिक ७ अर्ब रूपैयाँको हाराहारीमा सेयर कारोबार हुने गरेको छ। सेयर किन्ने र बेच्ने दुवै पक्षबाट ब्रोकर कम्पनीले कुल कारोबार रकममा ०.४ देखि ०.६ प्रतिशतसम्म कमिसन लिन्छन्। औसतमा ०.५ प्रतिशत कमिसन मान्दा ब्रोकर कम्पनीहरूले दैनिक साढे ३ करोड रुपैयाँ कमिसन लिँदै आएका छन्।
ब्रोकरको कमिसनमा २० प्रतिशत नेप्सेलाई जान्छ भने बाँकीबाट १५ प्रतिशत सिडिएससीलाई जाने गर्छ।
ब्रोकरले लिने कमिसन बढी भएको भन्दै शुक्रबार मात्रै लगानीकर्ताको समूहले धितोपत्र बोर्डमा पुगेर ध्यानाकर्षण गराएका छन्। उनीहरूले ब्रोकर कमिसन ०.२५ प्रतिशत कायम गर्नुपर्ने माग राखेका छन्।
त्यस्तै नेप्सेको आम्दानी ६.२ गुणा बढेको छ। गत वर्षको चार महिनामा ५ करोड ३९ लाख रूपैयाँ आम्दानी गरेको नेप्सेले अहिले सोही अवधिमा ३३ करोड ८२ लाख कमाएको छ। सेयर खरिदबिक्रीमा ब्रोकरले लिने कुल कमिसनबाट २० प्रतिशत रकम नेप्सेले प्राप्त गर्छ।
सिडिएससीले पहिले २८ लाख रुपैयाँ कमाएकोमा अहिलेको चार महिनामा १ करोड ८० लाख कमाएको छ। ब्रोकरले लिएको कमिसनबाट २० प्रतिशत नेप्सेलाई दिएपछि बाँकी रहेको रकमबाट १५ प्रतिशत सिडिएससीले लिन्छ।
नेपाल धितोपत्र बोर्डले गत वर्षको चार महिनामा ७६ लाख रुपैयाँ आम्दानी गरेकामा अहिले बढेर ५ करोड पुगेको छ।