स्टुडियो स्टुडियो चहार्छु
सन्दुक सन्दुक फुटाल्छु
कतै फोटो बेरिएको छ कि भनी
घरको हर पोका फुकाल्छु
हो, म आमाको एउटा तस्बिर खोज्दै हिँडेको छु ।
हो कि जस्तो लाग्छ गोरी
भन्छन्, देख्नेहरू आमा त काली
कालै थिइन् कि गाजलझैँ आमा
या बैँसमै सिउँदोको रातो पुछिएर भन्यो
हो, म आमाको एउटा तस्बिर खोज्दै हिँडेको छु ।
समयको भेलले बगायो
आमाको तस्बिर पनि
पसिनाले बगाए जस्तो
आमाको आँखाको गाजल
भित्ताभरि टाँस्न, कलेजोभरि गाँस्न
म मृत आमाको तस्बिर खोजेर हिँडिरहेको छु
विडम्बना, तिमीलाई जिउँदो आमा मन पर्दैन!