राष्ट्र बैंकले गत कात्तिकमा ल्याएको चालु पुँजी कर्जा सम्बन्धी मार्गनिर्देशन ऐतिहासिक उपलब्धि भएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले यस्तो बताएका हुन्। 'म गर्वका साथ भन्छु, हामीले ल्याएको चालु पुँजी मार्गनिर्देशन ऐतिहासिक छ, यसले १०औं वर्ष बैंकलाई बचाउनेछ।'
कोभिडको समयमा अर्थतन्त्र चलायमान बनाउन भन्दै विभिन्न नीतिगत सहुलियत दिइएको थियो।
व्यापार/व्यवसाय रोकिएकाहरूलाई राहत दिने उद्देश्यले राष्ट्र बैंकले बैंकहरूमार्फत् थप २० प्रतिशत चालु पुँजी कर्जा दिन सकिने सुविधा दिएको हो।
यही कारण आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७८/७९ को तीन वर्षको अवधिमै चालु पुँजी कर्जा रकम ६४ प्रतिशतले बढेर १० खर्ब १४ अर्ब रूपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०७५/७६ मा ६ खर्ब १५ अर्ब रूपैयाँ यस्तो कर्जा लगानी भएको थियो। यो तीन वर्षको अवधिमा वार्षिक औसत १८ प्रतिशतले यस्तो कर्जामा वृद्धि भएको हो।
चालु पुँजी कर्जाबापत व्यवसायीहरूले पाएको रकम दुरुपयोग भएको आशंका गरिँदै आएको छ। यही कारण राष्ट्र बैंकले मार्गदर्शन ल्याएर यसलाई कसेको छ।
वार्षिक १० करोडसम्म कारोबार वा बिक्री आम्दानी गर्ने संस्थालाई त्यसको अधिकतम २० प्रतिशतसम्म (२ करोड रूपैयाँसम्म) मात्रै कर्जा गर्न गर्न पाइने व्यवस्था गरिएको छ।
२ करोडभन्दा बढी रकमको अल्पकालिन कर्जा भएमा २५ प्रतिशतसम्म र दीर्घकालिन कर्जा भएमा त्यस्तो कर्जालाई स्वतः आवधिक कर्जाको रुपमा मानिने व्यवस्था गरेको छ।
त्यस्तै, विशेष प्रकृतिको आवश्यकता देखेमा भने अनुमानित वार्षिक कारोबार र बिक्रीको अधिकतम ४० प्रतिशतसम्म कुल चालु पुँजी कर्जा सीमा निर्धारण गरिएको छ।
तर, पुराना ऋणीलाई भने यस्तो कर्जा सीमामा ल्याउन दुई वर्षको समय दिइएको छ।
गभर्नर अधिकारीका अनुसार अहिले ऋणीहरूले प्राप्त गर्नपर्ने भन्दा धेरै ऋण पाइसकेकाले पनि नयाँ कर्जा लगानी हुन नसकिरहेको हो।
हाल बजार चलयमान बनाउन राष्ट्र बैंकले गर्न सकिनेसम्म पैसाको आपूर्ति बढाउने भने गभर्नर अधिकारीले स्पष्ट पारे।
'हामीले फेरि पनि पहिले जसरी बैंकहरूले राख्नुपर्ने अनिवार्य नगद मौज्दातलाई घटाउने छैनौं, यो अहिले न्यूनतम विन्दुमै छ,' गभर्नर अधिकारीले भने,'यसरी राखिने यो कुसनले निक्षेपकर्ताको बचतको सुरक्षा गर्न सक्छ। तर, जहाँ स्पेस छ त्यसलाई सहजिकरण गरेर बजारमा पैसाको आपूर्ति बढाउन सक्छौं।'
उनले यसरी पैसाको आपूर्ति बढाउँदा प्रणालीमा असर नगर्ने गरी मात्रै गरिने स्पष्ट पारे।
अहिले पनि धेरैले राष्ट्र बैंकले कोभिड कालिन समयमा बजारमा पैसाको आपूर्ति बढाउँदा यसले सेयर घरजग्गा जस्ता क्षेत्रमा लगानी बढेको र मानिसहरूले सहजै पैसा हात पर्ने अवस्था आएसँगै उपभोगमा वृद्धि भएको आरोप लगाउँदै आएका छन्।
उपभोगमा भएको वृद्धि कै कारण आयात बढेर मुलुकमा रहेको विदेशी मुद्रा सञ्चिति ह्रास भएको धेरैको निस्कर्ष छ।
अन्ततः विदेशी मुद्राको सञ्चिति बढाउन लिइएको नीतिकै कारण नै अहिले अर्थतन्त्र मन्दि उन्मुख भएको हो।