नेपालीहरूले डलर प्रिपेड कार्डबाट नौ महिनामा करिब दुई अर्ब रूपैयाँ खर्च गरेका छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा डलर प्रिपेड कार्डबाट नेपालीहरूले एक करोड ३८ लाख ६ हजार डलर (करिब एक अर्ब ८९ करोड रूपैयाँ) खर्चिएका हुन्।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ देखि नेपालीहरूले विदेशी मुद्राको प्रिपेड कार्ड प्रयोग गर्न सक्ने सुविधा दिएको हो।
विदेशी सामान तथा सेवाको प्रयोगको भुक्तानी सजिलो बनाउन राष्ट्र बैंकले यस्तो कार्ड प्रयोग गर्न सक्ने गरेर व्यवस्था गरिदिएको हो।
यस्तो कार्डबाट कुन-कुन क्षेत्रमा कति खर्च भइरहेको छ भन्ने पछिल्लो तथ्यांक राष्ट्र बैंकले निकाली सकेको छैन। तर, २०७९ मा डलर प्रिपेड कार्डको भुक्तानीको प्रभावकारिता अध्ययन गर्ने क्रममा भने भुक्तानी भइरहेको क्षेत्र सार्वजनिक गरेको थियो।
सो अध्ययन अनुसार नेपालीहरूले डलर प्रिपेड कार्डमार्फत सबैभन्दा धेरै सामाजिक सञ्जाल लगायतमा विज्ञापनमा खर्च गर्ने गरेको पाइएको थियो।
यसरी विज्ञापनको लागि १३.३८ प्रतिशत रकम खर्च भएको देखिएको थियो।
त्यसपछि विद्यालय लगायतका शिक्षामा ८.५७ प्रतिशत, कलेज लगायतमा ७.२५ प्रतिशत, कम्प्युटर सफ्टवेयर सेवामा ४.९९ प्रतिशत खर्च भएको पाइएको थियो।
त्यस्तै, बुक स्टोरमा ४.३५ प्रतिशत, गेम लगायत डिजिटल सेवामा ४.२७ प्रतिशत, किताब सञ्चार, फिल्म, संगीत लगायतका डिजिटल सेवाको लागि १.३६ प्रतिशत लगायतको खर्च भएको पाइएको थियो।
राष्ट्र बैंकले कार्ड प्रयोगकर्ताले एकै पटकमा वा पटक-पटक गरेर एक वर्षमा अधिकतम पाँच सय डलर वा सो बराबरको अन्य परिवत्य विदेशी मुद्रा कार्डमा जम्मा गर्न सक्ने सुविधा दिएको छ।
आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म यस्ता कार्ड प्रयोगकर्ताले चार करोड १० लाख अमेरिकी डलर (करिब पाँच अर्ब ६२ करोड रूपैयाँ) खर्च गरेका छन्।
यो अवधिसम्ममा यस्तो कार्डमा चार करोड ८३ लाख रूपैयाँ लोड गरिएको थियो। हालसम्म एक लाख ६५ हजार वटा डलर कार्ड जारी भएको छ।
यस्तो कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरेर कमाएको विदेशी मुद्रा समेत जम्मा गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको थियो।
चालु आवको नौ महिनामा प्रयोगकर्ताले आर्जन गरेर करिब ७५ लाख रूपैयाँ (५५ हजार डलर) यो कार्डमा जम्मा गरेका छन्। आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म भने विदेशी मुद्रा आर्जनबाट यी प्रयोगकर्ताको कार्डमा करिब तीन करोड रूपैयाँ (दुई लाख १९ हजार डलर) जम्मा भएको छ।
विदेशमा सेवा निर्यातबाट भएको आर्जनको कारण कार्डमा यदि पाँच हजार डलरभन्दा धेरै रकम लोड भएमा सो सीमाभन्दा धेरै हुने रकम ग्राहकको स्वदेशी वा विदेशी मुद्राको खातामा अनिवार्य सारिदिन बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ।
डलर प्रिपेड कार्ड वाणिज्य बैंक वा राष्ट्रियस्तरका विकास बैंकहरूले मात्रै जारी गर्छन्।
मुलुकमा विदेशी मुद्राको सञ्चिति उच्च रहँदै गर्दा राष्ट्र बैंकले डलर प्रिपेड कार्डको सुविधा ल्याएको थियो।
पठनपाठन, मनोरञ्जन लगायतमा नेपालीले विदेशमा भुक्तानी दिँदा अनौपचारिक बाटोको प्रयोग धेरै भएपछि यसलाई खर्च गर्न पाउने सीमा तोकेर औपचारिक माध्यममा ल्याएको हो।
दुईदेखि मुलुकको विदेशी मुद्रा सञ्चिति उच्च छ। गत चैतसम्ममा २४ खर्ब नौ अर्ब रूपैयाँ (१७ अर्ब २६ करोड डलर) विदेशी मुद्रा सञ्चिति छ। यो सञ्चिति ऐतिहासिक उच्च हो।
अहिलेकै प्रवृत्ति अनुसार वस्तु तथा सेवाको आयात भइरहेमा यस्तो सञ्चिति १४ महिना नौ दिनलाई पर्याप्त हुन्छ।