PLAYERS TO WATCH
सन् २०२२ डिसेम्बर १० का दिन कतारको दोहास्थित अल थुमामा रंगशालाको दृश्य फुटबल प्रशंसकका लागि निकै अर्थपूर्ण थियो।
एकतर्फ अफ्रिकी राष्ट्र मोरक्कोका खेलाडीहरू जितको खुसी मनाइरहेका थिए। सो जितको उन्माद यसरी फैलिएको थियो कि कतारको मेट्रोमा राती तीन बजेसम्म मोरक्कन समर्थकहरू खुसीयाली साटासाट गरिरहेका देखिन्थे।
अर्कोतर्फ विश्व फुटबलका महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोका लागि त्यो दिन निकै पीडादायी थियो। उनी रंगशालाबाट बाहिरिँदै गर्दा निकै भावुक बनेका थिए र उनका आँखाबाट आँसु झरिरहेका थिए। मैदानबाट बाहिरिने टनेलमा उनी एक्लै रोइरहेको दृश्यले विश्वभरका उनका फ्यानको मन कुँडिएको थियो।
२०२२ को विश्वकप रोनाल्डोका लागि अन्तिम विश्वकप ठानिएको थियो। त्यसैले अन्तिम विश्वकपमा उपाधि जित्ने उनको लक्ष्यमा पूर्णविराम लागेको अनुमान गरिएको थियो। पोर्चुगल अल थुमामा रंगशालामा मोरक्कोसँग १-० गोलले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो।
तर, खेल जीवन सोचेजस्तो कहाँ हुन्छ र? सन् २०२२ मा अन्तिम विश्वकप खेलेको ठानिएका रोनाल्डोका लागि फेरि अर्को अवसर आएको छ। अमेरिका, मेक्सिको र क्यानडामा जुन ११ देखि सुरु हुने २०२६ को विश्वकपमा रोनाल्डो फेरि मैदान उत्रिँदैछन्। समूह ‘के’ मा पोर्चुगलले कंगो, उज्वेकिस्तान र कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ।
४१ वर्षको उमेरमा आफ्नो छैटौँ विश्वकप खेल्न लागेका रोनाल्डोले क्लब करिअरमा लगभग सबै रेकर्ड बनाइसकेका छन्। रोनाल्डोका लागि फुटबल खेल मात्र नभई रेकर्डहरूको एउटा साम्राज्य नै हो भन्नु अतिशयोक्ति नहोला। उमेरले चालीस काटेपछि उनी आफ्नो करिअरको सबैभन्दा कठिन र महत्त्वपूर्ण गन्तव्यतर्फ अगाडि बढिरहेका छन्।
रोनाल्डोको विश्वकप यात्रा सन् २००६ मा जर्मनीबाट सुरु भएको थियो। २१ वर्षको उमेरमा पोर्चुगललाई सेमिफाइनलसम्म पुर्याउन उनले मुख्य भूमिका खेले, जहाँ पोर्चुगल चौथो भएको थियो। त्यसपछिका २०१०, २०१४ र २०१८ का विश्वकप रोनाल्डो र पोर्चुगलका लागि सोचेजस्तो सुखद रहेनन्।
सन् २०२२ को कतार विश्वकप रोनाल्डोको जीवनको सबैभन्दा भावुक मोड बन्यो। मोरक्कोसँग पराजित भएर बाहिरिँदा टनेलमा खसेका रोनाल्डोका आँसुले संसारलाई स्तब्ध बनाएको थियो। धेरैले सोचेका थिए, रोनाल्डोको विश्वकप यात्रा त्यहीँ सकियो।
तर, उनी अझै रोकिएका छैनन्। ती आँसुलाई अब २०२६ का लागि ऊर्जा र प्रतिबद्धतामा बदल्ने सोचमा रोनाल्डो रहेका छन्।
विश्वकपमा संघर्ष गरे पनि रोनाल्डोले पोर्चुगललाई ऐतिहासिक सफलताहरू दिलाइसकेका छन्। सन् २०१६ को युरो कपको फाइनलमा घाइते भएर मैदान बाहिर बस्नु परे पनि उनको कप्तानीमा पोर्चुगलले फ्रान्सलाई हराउँदै पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्यो। त्यसपछि २०१९ मा उनले पोर्चुगललाई 'यूईएफए नेसन्स लिग' को च्याम्पियन बनाए।
पोर्चुगलको सानो टापु मडेराबाट उनको यात्रा सुरु भएको थियो, जहाँ एउटा दुब्लो र फुटबलप्रति पागल बालकको सपना हुर्किएको थियो। गरिब परिवारमा जन्मिएका रोनाल्डोका बुबा नगरपालिकाका माली थिए भने आमा भान्छामा काम गर्थिन्। आर्थिक अवस्था कमजोर भए पनि उनको सपना भने असाध्यै ठूलो थियो।
सानैदेखि उनी बलसँगै सुत्थे र बलसँगै उठ्थे। १२ वर्षको उमेरमा मडेरा छाडेर लिस्बन पुगेका उनले स्पोर्टिङ लिस्बनको एकेडेमीमा भर्ना हुने मौका पाए। लिस्बनबाट सुरु भएको उनको करिअर २००३ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पुगेपछि विश्वव्यापी बन्यो। प्रशिक्षक एलेक्स फर्गुसनले उनलाई निखारे, जसका कारण ड्रिब्लिङ, स्पिड र फिनिसिङमा उनी उत्कृष्ट बन्दै गए।
क्लब फुटबलमा रोनाल्डोको दबदबा अतुलनीय छ। स्पोर्टिङ सीपीबाट यात्रा सुरु गरेका उनले म्यानचेस्टर युनाइटेडमा पहिलो 'बालोन डी'ओर' जिते। रियल म्याड्रिड पुगेपछि उनले ४ वटा युरोपियन च्याम्पियन्स लिग जितेर आफूलाई 'गोल मेसिन' सावित गरे। युभेन्ट्समा पनि उनको सिरी 'ए' यात्रा सफल रह्यो।
५ पटकका बालोन डी'ओर र ४ पटकका युरोपियन गोल्डेन शू विजेता रोनाल्डो अहिले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। उनले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल (१४३ गोल) र सबैभन्दा धेरै खेल (२२६ खेल) खेलेका छन् ।\

यति धेरै गोल र खेलको कीर्तिमान निकट भविष्यमा अन्य खेलाडीका लागि तोड्न सहज छैन। उनले ५ वटा फरक-फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान पनि राखेका छन्। रोनाल्डोलाई 'युरोपियन च्याम्पियन्स लिगको राजा' समेत भनिन्छ, जहाँ उनले १८३ खेलमा १४० गोल गर्दै ५ पटक उपाधि जितेका छन्।
धेरैले रोनाल्डो साउदी अरबको 'अल-नासर' क्लबमा जाँदा उनको स्तर खस्कने ठानेका थिए। तर, उनले त्यहाँ पनि आफ्नो लय कायम राखे। साउदी प्रो लिगको प्रतिस्पर्धा र त्यहाँको भौतिक तयारीले उनलाई २०२६ को विश्वकपका लागि शारीरिक रूपमा फिट राख्न मद्दत गरिरहेको छ। रोनाल्डो २०२६ को चुनौतीपूर्ण यात्राका लागि साउदी लिगलाई आफ्नो प्रशिक्षण मैदानका रूपमा प्रयोग गरिरहेका छन्।
उनको करिअरमा एउटै मात्र उपाधि बाँकी छ। समकालीन प्रतिस्पर्धी लियोनेल मेसीले सन् २०२२ मा विश्वकप जितेपछि रोनाल्डोका लागि २०२६ को विश्वकप प्रतिष्ठाको विषय बनेको छ। उमेरले चार दशक पार गरे पनि उनी अझै थाकेका छैनन् र अहिले मुख्य तीन वटा लक्ष्यमा दृढ देखिएका छन्।
पहिलो लक्ष्य: व्यावसायिक फुटबलमा १००० गोल पुर्याउने पहिलो खेलाडी बन्ने। अहिले उनी यो आँकडाको निकै नजिक छन्। उनको कूल गोल संख्या ९७३ पुगिसकेको छ।
दोस्रो लक्ष्य: आफ्नो छोरा 'क्रिस्टियानो जुनियर' सँग व्यावसायिक म्याच खेल्ने। यो सपना पूरा गर्न उनले २०२६ सम्म खेल्नु अनिवार्य छ। यसै वर्षको अन्त्यसम्ममा साउदी क्लब अल नासरले क्रिस्टियानो जुनियरलाई सिनियर टोलीमा राख्ने सम्भावना छ। जुनियर रोनाल्डो पोर्चुगलको उमेर समूहको टोलीमा परिसकेका छन् र अल नासरको एकेडेमीका उत्कृष्ट प्रतिभा मानिन्छन्।
तेस्रो लक्ष्य: विश्वकपको उपाधि जित्नु। यो लक्ष्य पूरा गर्न २०२६ को विश्वकप नै उनको अन्तिम अवसर हुन सक्छ।
रोनाल्डोका लागि १००० गोल र छोरासँग फुटबल खेल्ने लक्ष्य नजिक देखिन्छन्, तर विश्वकपको उपाधि उनको एकल प्रयासमा मात्र निर्भर छैन। यसका लागि टोलीको प्रदर्शन र भाग्यको पनि साथ आवश्यक पर्नेछ।
रोनाल्डोको २०२६ को यात्रा केवल एउटा खेलाडीको रहर मात्र होइन, यो त फुटबल इतिहासकै एउटा महागाथाको सुखद अन्त्य गर्ने प्रयास हो। ४१ वर्षको उमेरमा विश्वकप खेल्नु शारीरिक र मानसिक दुवै हिसाबले चुनौतीपूर्ण छ। तर, रोनाल्डोको इतिहासले भन्छ— उनी चुनौतीहरूलाई रेकर्डमा बदल्न माहिर छन्।
पोर्चुगलको जर्सी, १००० गोलको लक्ष्य र विश्वकपको त्यो सुनौलो ट्रफी— यी तीन कुराले रोनाल्डोलाई २०२६ को मैदानमा डोर्याउनेछन्।
सन् २०२६ को विश्वकपमा उत्रिँदा यो केवल एउटा खेल हुने छैन, बरु आलोचकहरूलाई जवाफ र आफ्नो विरासतको अन्तिम छाप हुनेछ।
के रोनाल्डोले विश्वकपको सुनौलो ट्रफी उचालेर सुखद बिदाइ पाउलान्? यो हेर्न पूरा विश्व व्यग्र प्रतीक्षामा छ।