सामान्य तरिकाले बुझ्दा मेनोपज भनेको महिनावारी रोकिनु हो। यसलाई रजोनिवृत्ति पनि भनिन्छ।
महिनावारी रोकिएको एक वर्ष भएपछि मात्र यसलाई मेनोपज भनिन्छ। कसै–कसैको २/३ महिना महिनावारी रोकियो भने 'मेरो मेनोपज भयो होला' भनिन्छ, तर त्यो गलत हो।
मेनोपज एउटा विन्दु त हो, तर यो प्रक्रिया धेरै पहिलेदेखि सुरू हुन्छ। मेनोपज हुनुभन्दा चार/पाँच वर्षदेखि नै यसको लक्षण देखिँदै आएको हुन्छ। त्यसलाई हामीले पेरिमेनोपज भन्छौं। त्यो बेलादेखि नै लक्षण देखिँदै आउँछन्।
केही लक्षणहरू यस्ता हुन्छन्:
- महिनावारी अनियमित हुनु।
- अचानक गर्मी हुने अनि छिनमै चिसो हुने।
- जोर्नीहरू दुख्ने।
- निद्रा नलाग्ने, निद्रा पर्यो भने पनि राति ३/४ बजे ब्युँझिने अनि फेरि सुत्न गाह्रो हुने।
- टाउको दुख्ने, एन्जाइटी बढ्ने।
- पिसाब रोक्न गाह्रो हुने।
- यौन चाहनामा कमी आउने।
- गोप्य अंग पोल्ने, दुख्ने, सुख्खा हुने।
- बिर्सिने समस्या हुने (फ्रिज खोल्ने तर के लिन लागेको भन्ने समेत बिर्सिने)
- हिँड्दा-हिँड्दै सन्तुलन बिग्रिने, रिंगटा लाग्ने।
यस्ता लक्षणहरू कसैलाई दुई/तीन वर्षअघि देखिन्छन् भने कतिलाई त १० वर्षअघिदेखि देखिएको अनुसन्धानमा पाइएको छ। विकसित देशहरूमा ५२/५३ वर्ष भए पनि नेपालमा ४८/४९ वर्ष औसतमा देखिन्छ।
त्योभन्दा ३/४ वर्षदेखि लक्षण देखिने भएकाले ४२/४३ वर्षदेखि नै आफूलाई ख्याल गर्नुपर्छ। ४० वर्षभन्दा अघि हुन लाग्यो भने त्यो अलि अस्वाभाविक हो।
युरोपको अध्ययन हेर्ने हो भने त ५५/५६ वर्षमा मेनोपज भएको पाइन्छ। यो कुन उमेरमा हुन्छ भन्ने कुरामा धेरै फ्याक्टरले काम गरेका हुन्छन्।
खानपिन, जीवनशैलीले धेरै फरक पार्छ। जसको तौल धेरै छ, उनीहरूलाई लक्षण पनि धेरै देखिन्छ। कोही धेरै दुब्लो छ भने पनि मेनोपज अलि छिटो हुन्छ।
व्यायाम गर्ने र सक्रिय हुनेहरूलाई मेनोपज अलि ढिलो हुन्छ भने बसिरहनेहरूलाई अलि चाँडो हुने हुन्छ।
भौगोलिक कारण पनि अर्को महत्त्वपूर्ण देखिन्छ। जस्तो युरोप–अमेरिकामा अलि ढिलो मेनोपज हुन्छ। दक्षिण एसियामा चाँडो हुन्छ। प्रोटिन र पोषणयुक्त खाना अनि माछा खानेहरूलाई ढिलो मेनोपज हुन्छ।
मेनोपजबारे अनुसन्धान निकै कम छ। मेनोपोज हुने नेपालको औसत उमेर ४८/४९ वर्ष नै हो।
८० प्रतिशत महिलालाई मेनोपोजका बेला समस्या देखिन्छ। कसैलाई धेरै देखिएला, कसैलाई थोरै देखिएला, तर देखिन्छ। २० प्रतिशतलाई भने केही थाहा हुँदैन।
आफ्नो शरीरमा के भइरहेको छ अनि जसलाई मेनोपज भइरहेको छ भन्ने थाहा हुन्छ, उनीहरूले बुझ्ने हो। कतिलाई त उमेरसँगै हुने समस्या हो भन्ने लाग्छ। व्यायाम, खानपिन र स्वस्थ जीवनशैलीले मेनोपजको समस्या देखिने सवालमा भने फरक पार्छ।
मेनोपज सबैलाई हुन्छ। जसरी महिनावारी हुन्छ, त्यसरी नै रोकिन्छ। यसको औषधि–उपचार भन्ने हुँदैन। त्यसैले पहिलो काम भनेको जीवनशैलीकै परिवर्तन हो।
यसका लागि सबभन्दा ध्यान दिने खानपिनमा हो।
४० वर्ष कटेपछि मोटोपनको समस्या देखिन सक्छ। भिटामिन डी र क्याल्सियम भएको खाना खानुपर्छ। यो समयमा पुगेपछि खानाको मात्रा कम गरेर कोदोको ढिँडो, रोटी लगायत खान मिल्छ। गेडागुडी, क्वाँटी, गुन्द्रुक लगायत राम्रो हो। अर्को, आलसको धूलो दूधमा वा पानीमा राखेर खाइयो भने पनि फाइदा हुन्छ। माछामासु र अझ माछाले धेरै फाइदा गर्छ।
व्यायाम गर्न पनि जरूरी छ। पहिले कुद्ने-दौडिने राम्रो हुन्थ्यो भने अब यो समयमा उठबस गर्ने, तौल उठाउने, भर्याङ तलमाथि गर्ने गर्नुपर्छ।
त्यस्तै, समयमा सुत्ने र उठ्ने गर्नुपर्छ। रातिको समयमा मोबाइल सकेसम्म चलाउनु हुँदैन। यति गरियो भने आधा लक्षण आफै ठीक हुन्छन्।
यति गर्दागर्दै पनि कम भएन भने केही उपचारका उपाय अपनाउन सकिन्छ। थाइरोइड, सुगर छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ।
कतिपय अवस्थामा हर्मोन थेरापी गर्न सकिन्छ। एस्ट्रोजन हर्मोन दिएर यसका लक्षण कम गर्न सकिछ। यसले अरू असर गर्छ भन्ने गलत बुझाइ छ। त्यसका पछाडि नलागीकन चिकित्सकको परामर्श लिएर अघि बढ्नुपर्छ।
कतिपय महिलाले मेनोपजबारे खुलेर बोल्दैनन्, लुकाउँछन्। यसका लागि परिवारको ठूलो भूमिका हुन्छ।
जस्तै छोराछोरी, श्रीमानले बुझ्नुपर्छ। यो उमेरकी महिला भनेको परिवारको खम्बा हो। परिवार र समाजले राम्रो व्यवहार गर्यो भने मात्र यस्ता समस्या समाधान गर्न सहज हुन्छ।
(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सह–प्राध्यापक डाक्टर श्रेयषी अर्याल काठमाडौं मेडिकल कलेज र फ्रन्टलाइन अस्पतालमा कार्यरत छिन्।)