आफू सेयरधनी रहेको ग्रामीण विकास लघुवित्त संस्था लिमिटेडको दसौं साधारण सभा हुँदै छ भनेर सूचना पाएकी बुटवलकी कल्पना शाक्य शनिबार दिउँसोको प्रचण्ड गर्मीमा कालिकानगरको एसियन होटेलमा पुगिन्। होटेल पुग्दा त्यहाँ सुनसान थियो।
सूचना पाएजस्तो कुनै कार्यक्रम त्यहाँ नपाएपछि उनले त्यहीबाट संस्थामा आफूजस्तै सेयर धनी रहेकी बुटवल १२ तामनगरकी मिना ढकाललाई फोन गरेर कार्यक्रमका बारेमा थाहा छ की भनेर सोधिन्।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष समेत रहेकी मिनाले आफू पनि साधारण सभामा सहभागी हुनको लागि संस्थाको कार्यालयमा पुगेको जानकारी दिइन्।
मिनाले कल्पना शाक्यलाई भनिन् –‘यहाँ पनि कार्यक्रम छैन कार्यालयमा मिलन चोकको पाम होटेलमा सरेको भनेर सूचना टाँसिएको रहेछ आउनुस् उतै जाऊँ,। मिनाले कल्पनालाई राजमार्ग चौराहामा पर्खेर बसिन्। केही बेरमा दुवै जना भेट भएपछि कार्यक्रम स्थलतर्फ गए।
त्यहाँ पुग्दा अन्य केही सदस्यहरू कार्यक्रम स्थलमा जान होटेलको लिफ्ट चढ्न खोजिरहेका थिए। उनीहरूलाई भने हतियारधारी प्रहरीले माथि जान दिएनन्। साधारण सभामा उपस्थितीका लागि अलग्गै पासको व्यवस्था भएको र त्यो पास नल्याउँदा सम्म जान नपाइने भन्यो।
मिना र कल्पना त्यहाँ पुगेको केही बेरमा संस्थाका कर्मचारीहरू विरोध कार्यक्रम लेखिएको ब्यानर लिएर होटेलमा पुगे। उनीहरूलाई पनि प्रहरीले कार्यक्रम स्थलमा जान दिएनन्। प्रहरीले कार्यक्रम स्थलमा जान नदिएपछि नेपाल राष्ट्रिय कर्मचारी संगठन ग्रामीण विकास लघुवित्त संस्था लिमिटेडको अगुवाइमा कर्मचारीहरूले होटेलको प्रवेशद्वारमा विरोध कार्यक्रम लेखिएको ब्यानर टाँगेर बसे।
ग्रामीण विकास लघुवित्त संस्था लिमिटेडको दसौं साधारण सभाका लागि तीनवटा सूचना प्रकाशन गरेको थियो। २०८२/०३/०५ गतेको सञ्चालक समितिको बैठकले गरेको निर्णय भन्दै २०८२/०३/१३ गते प्रकाशित गरेको सूचनामा संस्थाको केन्द्रीय कार्यालय राजमार्ग चौराहामा साधारण सभा हुने उल्लेख गरिएको थियो।
संस्थाले असार १९ गते अर्को सूचना प्रकाशित गरेर साधारण सभा बुटवल १२ कालिकानगर एसियन होटेलमा आयोजना गरिएको जानकारी दिएको थियो। कार्यालयमा टाँस गरिएको तेस्रो सूचनामा भने साधारण सभा पाम होटेल मिलनचोकमा सरेको भन्ने उल्लेख छ।
दश वर्षअघि बुटवलमा केन्द्रीय कार्यालय रहेको तत्कालीन पश्चिमाञ्चल ग्रामीण विकास बैंक लगायतका सरकारी स्वामित्वका बैंक, सर्वसाधारण र निजी बैंकहरू समेत सेयर धनी रहेका पाँच वटा क्षेत्रिय स्तरका ग्रामीण विकास बैंकहरू गाभिएर ग्रामीण विकास लघुवित्त संस्था लिमिटेड बनेको थियो। ग्रामीण विकास लघुवित्त संस्था लिमिटेड बनेपछि संस्थाको गतिविधि थाहै पाउन छोडेको सर्वसाधारण सेयर धनीहरू बताउँछन्।
शनिबार होटेलको पाँचौं तलामा कार्यक्रम भइरहँदा भुइँतलामा भने कर्मचारीहरूले धर्ना दिएका थिए। सेयर धनीहरूलाई पनि प्रहरीले माथि जाने अनुमति छैन भन्दै रोकिरहेका थिए। सीमित सेयर धनी र सञ्चालकहरूको उपस्थितिमा सम्पन्न साधारण सभाले संस्थालाई मर्जर प्रक्रियामा लैजाने निर्णय गरेको छ।
तीन जिल्ला कार्यक्षेत्र रहेको सर्लाहीको मलंगवाको समाज विकास लघुवित्त संस्थासँग समान अनुपातमा गाभ्ने निर्णय गर्ने निर्णय सञ्चालक समितिले गरेपछि केही सेयर धनी र केही कर्मचारीहरूले विरोध गर्दै आएका थिए।
नेपाल राष्ट्र बैंकको मर्जर पोलिसि अनुसार वि.सं २०७१ सालमा समान प्रकृति, समान उद्देश्य र समान सिद्धान्तका पाँच वटा क्षेत्रियस्तरका ग्रामीण विकास बैंकहरू गाभिएर बनेको ग्रामीण विकास लघुवित्त संस्था लिमिटेडका सञ्चालकहरूको निहित स्वार्थका कारण यो निर्णय गरिएको आरोप लागेको छ।
सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको निजी स्वार्थमा सानो र कमजोर संस्थासँग मर्जरको निर्णय गरिएको आरोप लगाएको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले साधारण सभा प्रवेशद्वार मा विरोध प्रदर्शन समेत गरेको छ। सङ्गठनका अध्यक्ष दीपेन्द्र लुइँटेलले समग्र संस्था, सेयर धनी र कर्मचारीको हित विपरीत निर्णय भएकोले विरोध प्रदर्शन गरिएको बताए।
संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालको पदावधि थप्न ३ करोड पुँजी पनि नभएको समाज विकास लघुवित्त संस्थासँग गाभ्ने निर्णय गरिएको सङ्गठनका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद पङ्गेनीको आरोप छ।
‘कार्यकारी अधिकृत कटुवालको पदावधि ९ महिना मात्रै बाँकी रहेको छ, उनको पदावधि थप्नकै लागी अहिले समग्र संस्था, सेयर धनी र कर्मचारीको हित विपरीत संस्था मर्जर गर्ने निर्णय गरिएको छ,' पङ्गेनीले भने। नेपाल राष्ट्र बैंकको नियम अनुसार नयाँ संस्था नगाभ्ने हो भने कटुवाल प्रमुख कार्यकारी अधिकृत हुन पाउँदैनन्।
प्रमुख कार्यकारी अधिकृत कटुवालको पदावधि थप्नकै लागि तीन अर्ब भन्दा बढी पुँजी रहेको ग्रामीण विकास लघुवित्त संस्था लिमिटेडलाई तिन करोड मात्र पुँजी रहेको समाज विकास लघुवित्त संस्थासँग गाभ्न लागिएको उनले दाबी गरे।
कम्पनीहरूको चालु आर्थिक वर्ष २०८१र/८२ को दोस्रो त्रैमासको वित्तीय विवरणले दुई संस्थाबिच ठूलो भिन्नता देखाएको छ। ग्रामीण विकास लघुवित्तले नाफा र वित्तीय सूचकहरूमा राम्रो प्रगति गरिरहेको देखिन्छ भने समाज लघुवित्त भने कमजोर अवस्थामा छ।
समाज लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ। ग्रामीण विकास लघुवित्तले भने यस अवधिमा १८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
आफ्नो वित्तीय संस्था भन्दा सबै सूचकहरू ऋणात्मक रहेको समाज लघुवित्त वित्तीय संस्था लिमिटेड बिचको मर्जर ग्रामीण विकास लघुवित्तलाई डुबाउने खेल भएको कर्मचारीको आरोप छ।
संस्थामा सबैभन्दा धेरै अर्थ मन्त्रालय, नेपाल बैंक लगायतको सेयर रहेको छ। ५ वटा ठूला बैंकहरूको मात्रै ५१ प्रतिशत सेयर पुग्ने भएकोले बहुमत सेयर सदस्यले निर्णय गरेको देखाउन आफूहरूलाई साधारण सभामा वञ्चित गरिएको सर्वसाधारण सेयर सदस्यहरूको आरोप छ।
संस्थामा एक सय कित्ता मात्रै सेयर रहेका भरत कोइराला अध्यक्ष छन्। संस्थाले सीमित सेयर सदस्य र व्यक्तिहरूको स्वार्थका लागि आफूहरूको भावना र संस्था हित विपरीत निर्णय गरेको सर्वसाधारण सेयर सदस्यहरूले बताए।
सेयर धनी डिलकुमारी पौडेल शर्माले सीमित व्यक्ति अनुकूल निर्णय गराउन आफूहरूलाई संस्थागत रूपमा खबरै नगरेको गुनासो गरिन्। अर्की सेयर धनी दुर्गा चापागाईंले संस्थासँग असम्बन्धित मानिसहरू परिचालन गरेर आफूहरूलाई साधारण सभामा प्रवेश गर्न नदिइएको बताइन्।
मर्जर भएको १० वर्षसम्म सेयर धनीहरूलाई कुनै नाफा दिन नसकेको सो वित्तीय संस्थाले आफूहरूमाथि ज्यादती नै गरेको आरोप लगाउँदै उनले पहिले केही नभन्ने यहाँ आएपछि सेयर धनी परिचय पत्र र सेयर धनी प्रमाणपत्र चाहिन्छ भनेर प्रवेशमा रोक लगाएको भन्दै विरोध गरिन्।
यस्तै देवदह खैरेनीका चन्द्रकान्त न्यौपानेले हातहतियार सहितका प्रहरी प्रशासन लगाएर सेयर सदस्यहरूलाई साधारण सभामा जान रोक लगाउनु निन्दनीय भएको बताए।
अधिकांश सेयर धनी र कर्मचारीहरूले सञ्चालक समिति र साधारण सभाले संस्थाको हित विपरीत गरेका निर्णयहरू खारेजीको माग गर्दै नेपाल राष्ट्र बैंकमा निवेदन दिने बताएका छन्। यद्यपि सञ्चालक समितिका अध्यक्ष भरतराज कोइराला र प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले आफूहरूले संस्थाको हितलाई ध्यानमा राखेर मर्जरमा जाने निर्णय गरेको बताएका थिए।
यसबारेमा थप बुझ्न खोज्दा भने अध्यक्ष भरत कोइराला र प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाल दुवैले फोन उठाएनन्।