हालै एक कम्पनीले धितोपत्र बोर्डबाट प्राथमिक सेयर निष्कासन (आइपिओ जारी) गर्ने अनुमति पायो।
कम्पनीले आइपिओ जारी गरिसकेको छैन। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरमा सेयर बिक्री गर्न लागेको छ। तर, कम्पनीको सेयर भने अहिले नै महँगो मूल्यमा किनबेच भइरहेको छ।
आइपिओ जारी गर्ने अवधि जति नजिक छ, त्यस्तो कम्पनीको सेयरको भाउ त्यति बढ्दै जान्छ। यो क्रममा एकै व्यक्तिबाट दोस्रो, दोस्रोबाट तेस्रो हुँदै तह तहमा कारोबार हुने गरेको छ।
एक लगानीकर्ता भन्छन्, ‘मलाई पनि सो कम्पनीको संस्थापक सेयर किन्ने प्रस्ताव आएको छ। आइपिओ जारी गर्न लागिसकेको कम्पनी भएकोले पाँच गुणा बढी मूल्य हाल्नुपर्ने गरेर प्रस्ताव आएको हो।’
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबारमा आउँदा सो कम्पनीको सेयर महँगो मूल्यमा किनबेच हुनसक्छ भन्ने आशमा यस्तो कारोबार भइरहेको बुझिन्छ।
‘कम पुँजी भएका साना कम्पनीमा यसरी कारोबार भइरहेको पाइन्छ,’ सुवासचन्द्र ढुंगानाले भने, ‘भोलिका दिनमा हजार रुपैयाँ माथि नै मूल्य पुग्यो भने पनि फाइदा भइहाल्छ भन्ने आधारमा लगानीकर्ताहरूले जोखिम लिइरहेका देखिन्छन्।’
रोचक कुरा त के छ भने, यसरी किनिएको सेयर किन्नेको नाममा समेत आएको हुँदैन। र, बजारमा कारोबार आएपछि पनि कतिपयको सेयर तत्कालै किन्नेको नाममा दिन मिल्ने हुँदैन।
वास्तवमा अहिले यसरी कारोबार हुने गरेका कम्पनीहरू जलविद्युत् कम्पनी, उत्पादनमूलक कम्पनी नै हुन्। यस्ता कम्पनीहरूको संस्थापक, स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका लागि तीन वर्षको लकिङ पिरियड तोकिएको हुन्छ। आइपिओ जारी गरेपछिका तीन वर्षसम्म यिनीहरूले आफ्नो सेयर किनबेच गर्न वा नामसारी गर्न पाउँदैनन्।
त्यसैले अहिले आइपिओ अघि नै सेयर किनेकाले लकिङ पिरियड खुल्ने समयपछि मात्रै सेयर आफ्नो नाममा पाउँछन्। तीन वर्षपछि भने जलविद्युत, उत्पादनमूलक र होटेलजस्ता यी कम्पनीहरूको सबै सेयर सर्वसाधारण सेयरको रूपमा नै कारोबार हुन्छ। यसले पनि यस्तो कारोबार फस्टाइरहेको हो।
एक सेयर ब्रोकर भन्छन्, ‘अहिले मात्रै आइपिओ अघि यसरी कारोबार हुने गरेको होइन, यस्तो सेयर बेच्नेहरू ठूला र विश्वासिला लगानीकर्ता पनि हुन्छन्।’
चार वर्षपछि नै भए पनि खरिदकर्ताले सेयर पाउने गरिरहेको पनि ती ब्रोकर बताउँछन्। ‘मूल्य घटबढको जोखिम खरिदकर्ताले नै उठाउँछन् तर सेयर प्राप्त नहुने भन्ने हुँदैन,’ ती ब्रोकर स्पष्ट पार्छन्।
यस्तो कारोबार विगत धेरै वर्षदेखि भइरहे पनि अहिले किन धेरै हल्ला खल्ला हुन थालेको हो भन्ने अचम्म लागेको ती ब्रोकरले बताए।
अहिले धितोपत्र बोर्डबाट सेयर निष्कासनको प्रक्रिया पहिलेभन्दा केही ढिलो भइरहेको छ। अहिले पनि ७० वटा कम्पनी सेयर निष्कासनका लागि अनुमति प्रक्रियामा छन्।
त्यसैले आइपिओ अघिको सेयर कारोबार उच्च दरमा बढिरहेको देखिन्छ। यसले जोखिम निम्त्याइरहेकै छ। तर, लगानीकर्ताहरू पनि जोखिम मोल्न तयार नै देखिएका छन्।
‘जति जोखिम लिन सक्यो, त्यति नै फाइदा हुने लगानीकर्ताहरूलाई लाग्न थालेको देखिन्छ। कम पुँजीका कम्पनीको मूल्य बढ्नेमा प्रायः ढुक्क देखिन्छन्,’ ढुंगाना भन्छन्।
अहिले आइपिओमा एक व्यक्तिले बढीमा ११ कित्तासम्म सेयर पाउँछन्। सेयर हाल्ने सबैलाई कम्तिमा १० कित्ताको दरमा सेयर दिनैपर्ने व्यवस्था धितोपत्र बोर्डले गरेको छ।
यसले गर्दा नेप्सेमा कम्पनीहरूको सेयर सूचीकरण भएपछि १०/१० कित्ता सेयर बिक्रीबाट मूल्य आफूले चाहेजति पुर्याउन सम्भव हुने गरेको छ।
कम पुँजीका साना कम्पनीहरूको सेयर मूल्य पछिसम्म उच्च भइरहनसक्ने अनुमानमा पनि लगानीकर्ताहरूले जोखिम लिने गरेका छन्।
यस्तो कारोबारमा पुँजीगत लाभकर समेत छलिन सक्ने देखिन्छ। सामान्यतया आइपिओ अघि कारोबार भएको सेयर किन्नेको नाममा लैजान दोस्रो बजार (नेप्सेको प्रणाली) मा कारोबार हुनैपर्छ।
नेप्सेको प्रणालीमा कारोबार हुँदा प्रणालीले नै कर काट्छ। तर, यदि सुरुमा किनेको मूल्यभन्दा बजारमा मूल्य घटेको अवस्थामा भने पुँजीगत लाभकर छलिन सक्छ।
मानौं, यदि कसैले आइपिओ अघि कुनै कम्पनीको यस्तो सेयर पाँच सय रूपैयाँ मा कारोबार गर्यो भने बिक्रीकर्तालाई चार सय रुपैयाँ फाइदा भइरहेको हुन्छ।
तर, यदि सो कम्पनीको सेयर किन्नेलाई दिने समय नेप्सेमा त्यो कम्पनीको मूल्य चार सयभन्दा माथि पुगेन भने नेप्सेको प्रणालीले देख्ने फाइदा भनेको एक कित्तामा तीन सय रूपैयाँ मात्रै हो। तर, बेच्नेले त सुरुमा पाँच सयमै बेचेको हुन्छ।
यसरी फाइदा भएको थप एक सय रूपैयाँ को कर भने छलिँदै आएको हुनसक्छ। अहिले सेयर कारोबारमा पाँच प्रतिशतदेखि ७.५ प्रतिशतसम्म पुँजीगत लाभकर लाग्दै आएको छ।
ब्रोकरहरूले विगतदेखि नै आइपिओ अघि यस्तो कारोबार हुने गरेको बताए पनि यसमा धितोपत्र बोर्डको ध्यान जान सकेको छैन।
बोर्डका प्रवक्ता निरञ्जय घिमिरे भन्छन्, ‘कसैले पनि सार्वजनिक निष्कासन गर्दा धितोपत्र बोर्डको नियमअनुसार नै गर्नुपर्ने हुन्छ।’
यसअघि पनि यस्तो कारोबार हुँदा धितोपत्र बोर्डले भने आइपिओ निष्कासनमा आउनु अघिको कारोबार आफ्नो क्षेत्राधिकारमा नपर्ने बताउँदै आएको थियो।
केही वर्षअघि एक कम्पनीले विभिन्न स्थानमा सूचना नै टाँसेर सेयरमा लगानी गर्न आह्वान गर्दा धितोपत्र बोर्डले यसरी सूचना जारी गरेर सेयरमा लगानी गर्न आह्वान गर्न नपाइने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो। तर, यो क्रम रोकिन सकेको भने छैन।