राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धनुषा जिल्ला अधिवेशन स्थगित भएको छ।
जेठ २६ गते जनकपुरस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा अधिवेशन आयोजना गरिएको थियो। तर अधिवेशन सुरु भएलगत्तै धेरै नेता–कार्यकर्ता मञ्चमा उक्लिएपछि कार्यक्रम बिथोलिएको थियो।
रास्वपाले धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई निलम्बन गरेको छ। जिल्ला सभापति नै निलम्बनमा परेपछि पार्टीभित्रको आन्तरिक विवाद थप चर्किएको हो। लक्ष्मेश्वर पुनः जिल्ला सभापतिमा दोहोरिने दौडमा थिए।
पार्टी अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले २६ जेठमा जारी गरेको पत्रमा यादवले पार्टीको विधान, आचारसंहिता, निर्वाचन कार्यविधि तथा पदीय जिम्मेवारीअनुसार कार्यसम्पादन गर्न नसकेको उल्लेख छ। साथै, उनीमाथि थप अनुसन्धानका लागि प्रमाण संकलन गर्नुपर्ने देखिएको पनि भनिएको छ।
धनुषा जिल्ला सभापतिका लागि अम्बुप्रसाद साह र सरोजकुमार पूर्वेले पनि दाबी गर्दै आएका छन्। आन्तरिक विवादकै कारण २२ जेठमा एक समूहले धनुषा पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेको थियो।
धनुषा पार्टीका केन्द्रीय प्रवक्ता एवं सांसद मनीष झाको गृह जिल्ला पनि हो।
रास्वपा मधेश प्रदेश नीति तथा विचार विभाग प्रमुख सुन्देश्वर यादव धनुषामा पनि केन्द्र हाबी हुँदा विवाद सिर्जना भएको बताउँछन्। केन्द्रले नेतृत्वमा अम्बुप्रसादलाई चाहेको छ।
'विवादको सिर्जना माथिबाटै भएको हो। चुनाव गरेर जो जित्छ उसैलाई सभापति बनाउने हो। कसैले गुटबन्दी गर्नुभएन,' उनले भने।
बारामा पनि उस्तै विवाद
बारामा पनि विवादका कारण जिल्ला अधिवेशन स्थगित गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगले जेठ २५ गते सूचना जारी गर्दै अधिवेशन स्थगित गरेको हो। जेठ २६ गते निजगढस्थित शुभकार्य बैंक्वेटमा बिहान ९ बजेका लागि अधिवेशन बोलाइएको थियो।
जिल्ला समितिका पूर्व संयोजक चन्दन स्वर्णकारलाई निलम्बन गरी सदस्यता समेत खारेज गरिएपछि बारामा विवाद भएको थियो। जेठ ९ गतेको विस्तारित बैठकमा चन्दन पक्षधर नेता–कार्यकर्ताले विरोध जनाएका थिए। त्यतिबेला जिल्लाका चारजना प्रतिनिधि सभा सदस्यलाई सुरक्षाकर्मीले बाहिर निकालेको थियो।
सात जिल्लामा अधिवेशन स्थगित
धनुषा र बारा मात्रै होइन, मधेश प्रदेशका सात जिल्लामा रास्वपाले जिल्ला नेतृत्व चयन गर्न सकेको छैन। पर्सा बाहेक सबै जिल्लाको अधिवेशन स्थगित भएको छ।
रास्वपा पर्साको सभापतिमा बुद्धिप्रसाद पन्त (हरि) पुनः निर्वाचित भएका छन्। उनी पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत हुन्।
पर्सा जिल्ला सभापतिका लागि पर्सा–२ का सांसद सुशील साह कानुले उम्मेदवारी दिएका थिए। हरिले १६६ मत प्राप्त गर्दा सुशीलले ११८ मत पाएका थिए। तीन सय ३६ प्रतिनिधिमध्ये २८५ जनाले मतदान गरेका थिए।
सुशीललाई पर्सा–३ का सांसद रामाकान्त चौरसिया र पर्सा–४ का सांसद टेकबहादुर शाक्यको समर्थन थियो। चुनावको पूर्वसन्ध्यामा प्रतिनिधि छनोटको विषयलाई लिएर वीरगञ्जमा नेता–कार्यकर्ताबीच कुटाकुटसमेत भएको थियो।
केन्द्रीय प्रतिनिधि शंकर श्रेष्ठ, निर्वाचन समिति संयोजक नन्दन यादव र चारवटै क्षेत्रका सांसद बसेर विवाद समाधान गरेपछि मात्रै अधिवेशन सञ्चालनको बाटो खुलेको थियो।
सभापति हरिका अनुसार असन्तुष्ट पक्षसँग संवादमार्फत समस्या समाधान गरेपछि अधिवेशन सम्भव भएको हो।
'पार्टीमा असन्तुष्टि हुन्छन्, समस्याहरू आउँछन्। तर वार्ता र संवादमार्फत समाधान गर्नुपर्छ,' उनले भने, 'उहाँहरूले जे माग राख्नुभयो, हामीले त्यही मानिदियौं।'
रास्वपा पर्सा स्रोतका अनुसार असन्तुष्ट पक्षले आफ्नो तर्फबाट २८ जनाको नाम जिल्ला प्रतिनिधिमा थप गर्न लगाएका थिए।
केन्द्रीय अधिवेशनपछि प्रदेश अधिवेशन
रास्वपाले जेठ २८ गतेका लागि तय गरेको मधेश प्रदेश अधिवेशन पनि स्थगित गरेको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जेठ २६ गते जारी गरेको सूचनामा मधेश प्रदेश अधिवेशन निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत रूपमा सञ्चालन सुनिश्चित गर्न स्थगन गरिएको उल्लेख छ।
सूचनामा प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि स्थगित गर्न भनिएको छ। अधिवेशन पुनः सञ्चालन हुने मिति, समय र संशोधित कार्यतालिकाबारे पछि जानकारी गराइने जनाइएको छ।
रास्वपा मधेश प्रदेश तदर्थ समिति सभापति तपेश्वर यादव असार ९ गते हुने केन्द्रीय अधिवेशनपछि विवाद समाधान गरेर प्रदेश अधिवेशन गर्ने तयारी भइरहेको बताउँछन्।
'अधिवेशन गर्ने समय निकै कम पायौँ। नेतृत्वका आकांक्षीहरूबीच सहमति जुट्न सकेन, निर्वाचन गराउन समय लाग्छ,' उनले भने, 'सबै जिल्ला समिति र प्रदेश समितिमा पार्टीलाई राम्रो बनाउन सक्षम नेतृत्व आउनुपर्छ भन्ने हाम्रो चाहना हो।'
केन्द्रीय अधिवेशनपछि विवादरहित ढंगले बाँकी जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने दाबी उनको छ।
एमाले, कांग्रेस प्यानल देखियो
वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका राजनीतिशास्त्र उपप्राध्यापक विनय मिश्र मधेशमा रास्वपा पार्टीहरूको महासंघ जस्तै बनेको बताउँछन्।
'पहिलाका कांग्रेसी, एमाले, माओवादी र मधेसवादी नेताहरू चुनावको मुखमा रास्वपा गएका छन्। उनीहरू आफ्नो वर्चस्व कायम गर्न खोजिरहेका छन्,' उनले भने, 'त्यसैले रास्वपाको अधिवेशनमा कतै कांग्रेस प्यानल, कतै एमाले प्यानल, कतै मधेशवादी दलको प्यानल देखिन्छ। कतिपय ठाउँमा पुराना दुई वा तीन दलका नेता–कार्यकर्ता मिलेर पनि प्यानल बनाएको देखिन्छ।'
राजनीतिक विश्लेषक नित्यानन्द मण्डल पनि रास्वपाको अधिवेशनमा देखिएको कलहले प्रदेश र पालिका निर्वाचनमा असर पार्ने बताउँछन्।
'आपसमै लड्ने, संघर्ष गर्ने प्रवृत्तिका बीच मधेशमा रास्वपाको संगठन निर्माण भइरहेको छ। नयाँ राजनीतिक पार्टी भएकाले राजनीतिक दर्शन पढेर–बुझेर आएका, सबैले मान्ने ‘आइडल’ व्यक्तित्व नेतृत्वमा देखिँदैन,' उनले भने, 'पार्टी र राज्य सञ्चालनमा देखिएको बेथिति, सहज रूपमा सेवा प्रवाह हुन नसक्नुजस्ता कारणले जनता पुराना दलबाट निराश भई रास्वपातर्फ आएका हुन्। तर पुराना दलमा देखिएको रोग यसमा पनि सरेको छ।'
उनका अनुसार अहिलेको कलह आगामी प्रदेश र पालिका निर्वाचनमा उम्मेदवारको टिकट वितरणसँग समेत जोडिन सक्छ। चुनावका बेला जस्तोसुकै व्यक्तिलाई पार्टीमा भित्र्याएको परिणाम अहिले रास्वपाले भोगिरहेको उनको तर्क छ।