अहिले सेयर बजारमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरण प्रकाशित हुन थालेको छ।
सूचीकृत कम्पनीहरूले तीन–तीन महिनामा यसरी वित्तीय विवरण सार्वजनिक गर्छन्। यस्ता वित्तीय विवरणबाट नै सेयर लगानीकर्ताले आफ्नो लगानी भएका कम्पनीहरूको जानकारी प्राप्त गर्छन्।
यसैको आधारमा पनि लगानीकर्ताहरूले कुन कम्पनीको कार्यसम्पादन कस्तो रह्यो भनेर जानकारी प्राप्त गर्छन्।
कम्पनीको वित्तीय विवरणबाट पत्ता लाग्ने आधारभूत पक्षले नै सही लगानी निर्णय सहयोग पुग्छ।
त्यसैले साधारण सेयर लगानीकर्ताले पनि जानी राख्नुपर्ने केही वित्तीय सूचकहरूको चर्चा हामी गर्दैछौं।
विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय विवरणका महत्वपूर्ण सूचकहरूको यहाँ चर्चा गरेका छौं।
खुद ब्याज आम्दानी
बैंक तथा वित्तीय संस्थाहरूको मुख्य आम्दानीको स्रोत भनेकै कर्जा दिएर लिने ब्याज आम्दानी हो।
बैंकहरूले कर्जामा लिने ब्याजबाट भएको आम्दानीबाट निक्षेपमा दिने ब्याजदर घटाउँदा खुद ब्याज आम्दानी आउँछ।
मुख्य व्यवसायबाट हुने यस्तो आम्दानीमा हुने फरबदल, एउटै खाले कम्पनीहरूबीचको यस्तो आम्दानीको अवस्था तुलना गर्न सकिन्छ।
किनभने, यस्तो आम्दानी घटेको छ, तर अन्य आम्दानीहरूमा भएको वृद्धि भएको छ भने त्यो दरिलो आम्दानीको स्रोत नहुन सक्छ।
यसले नाफा बढेको त देखिन्छ, तर यस्ता स्रोतहरू स्थायी स्रोत नहुन सक्छन्।
इम्पियरमेन्ट (प्रावधान वा फिर्ता)
बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय विवरणमा पहिले कर्जाका लागि राखिने प्रावधान र कर्जाको किस्ता नियमित हुन थालेपछि यसरी राखिएको प्रावधान फिर्ता (राइट ब्याक) लाई अलग अलग देखाइन्थ्यो।
अहिले भने यसरी राखिएको प्रावधान रकम र फिर्तालाई संयुक्त रूपमा इम्पियरमेन्ट शीर्षकमा देखाइन्छ।
खुद सञ्चालन आम्दानी
वासलातमा इम्पियरमेन्टपछि खुद सञ्चालन नाफामा यो रकम जोडिएको देखिन्छ भने पुरानो प्रावधान रकम फिर्ता भएको बुझिन्छ। इम्पियरमेन्ट घटाएर खुद सञ्चालन नाफा देखाइएको छ भने प्रावधान रकम बढेको यसले बुझाउँछ।
प्रावधान रकम फिर्ताकै कारणले मात्र पनि कहिलेकाहीँ नाफा बढ्छ। यो पनि नाफा वृद्धिको दिगो आधार होइन। तर यो रकमको कारण नाफा बढेको छ भने कर्जाको गुणस्तरमा सुधार भइरहेको मान्न सकिन्छ।
निष्क्रिय कर्जा
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा असुलीमा निकै लामो समयदेखि समस्या आइरहेको कारण निष्क्रिय कर्जा बढेको छ।
यसलाई कुल निष्क्रिय कर्जा र खुद निष्क्रिय कर्जा भनेर अलग अलग देखाइएको हुन्छ। यो दुवै सूचक घट्दो प्रवृत्तिमा गएमा यसले यस्ता निष्क्रिय कर्जामा सुधार हुँदै गएको कर्जा निममित हुन थालेको समेत देखाउँछ।
वितरणयोग्य नाफा
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले वितरण योग्य नाफा रकम समेत वित्तीय विवरणमा देखाउँछन्।
वितरण योग्य नाफाले बैंकहरूले प्रतिसेयर कतिसम्म प्रतिफल बाँड्न सक्छन् भनेर देखाउँछ।
कतिपय बैंकहरूको नाफामा उच्चले वृद्धि भएको देखिए पनि वितरण योग्य नाफा भने ऋणात्मक हुन सक्छ।
बैंकहरूले पछिल्लो लेखामान विधि अनुसार उठ्न बाँकी ब्याजलाई पनि आम्दानीमा देखाउँन पाउँछन्, त्यसैले यही रकमको कारण समेत नाफा देखिएको हुन सक्छ।
तर वितरण योग्य नाफा निकालिएको तालिकामा यस्तो उठ्न बाँकी ब्याज घटाइएको हुन्छ। त्यसैले बैंकको नाफा बढे पनि वितरण योग्य नाफा भने ऋणात्मक नै समेत हुन सक्छ।
बैंकहरूका अनुसार वितरण योग्य नाफा निकालिएको तालिकामा हुने नियामकीय समायोजनमा यसलाई खुलाइएको हुन्छ।
सञ्चित आम्दानी
सञ्चित आम्दानी नाफा वा नोक्सान के छ भनेर पनि लगानीकर्ताहरूले हेर्नुपर्छ।
सञ्चित आम्दानी नोक्सानमा छ भने बैंकहरूले कमाएको नाफा रकमबाट यस्तो ऋणत्मक बनेको सञ्चित आम्दानी घट्दै जान्छ।
नाफा रकमसँग दाँजेर यसलाई हेर्न सकिन्छ।
बैंकले यतिकै दरमा नाफा कमाइ रहँदा कुन समयमा सञ्चित नाफा धनात्मक हुन सक्छ भनेर लगानीकर्ताहरूले अनुमान लगाउन सक्छन्।
सञ्चित आम्दानी र वितरण योग्य नाफा शीर्षकलाई अलग अलग देखाइए पनि यी दुवै रकम समान हुन्छ।
प्रतिसेयर आम्दानी (इपिएस)
धेरै प्रयोग हुने वित्तीय सूचक हो। तर इपिएस धेरै हुनुभन्दा यसको स्थायित्व बढी अर्थपूर्ण हुन्छ। कुनै वर्ष इपिएस अचानक बढ्नुको कारण एक पटकको आम्दानी, सम्पत्ति बिक्री वा अस्थायी लाभ हुन सक्छ।
यस्तो इपिएसले कम्पनीको दीर्घकालीन क्षमता प्रतिनिधित्व गर्दैन। इपिएस दर विगतदेखि सकारात्मक छ कि छैन, यसमा क्रमशः सुधार हुँदै गएको छ कि छैन हेर्नुपर्छ।
पिई रेसियो
कम्पनीको बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गर्दा यो अनुपात निस्किन्छ। यसले कम्पनीले कमाइरहेको एक रूपैयाँलाई लगानीकर्ताले कतिसम्म हालिरहेका छन् भनेर देखाउँछ।
सामान्यतया यो सूचक अनुपात २५ भए राम्रो मानिन्छ। सो भन्दा कम भए सेयर अवमूल्यन भइरहेको समेत मानिन्छ।
कहिलेकाहीँ भने कम्पनीको अन्य वित्तीय अवस्थाले समेत मूल्य अवमूल्यन भइरहेको हुन सक्छ। त्यसैले समकक्षी कम्पनीहरूको यस्तो अनुपात तुलना गरेर र अन्य वित्तीय सूचक हेरेर समेत लगानी नीति बनाउनुपर्छ।
बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय विवरणमा लगानीकर्तालाई काम लाग्ने अन्य सूचक पनि हुन्छन्। जसको माध्यमले लगानीकर्ताले आधारभूत पक्षको गहन जानकारी पाउन सक्छन्।
तर यी उल्लिखित सूचकमा मात्रै ध्यान दिँदा पनि लगानीकर्ताहरूले कम्पनीहरूको वास्तविक मूल्यांकन गर्न सक्छन्।