आन्तरिक उडानमा विदेशी नागरिकसँग लिँदै आएको 'डलर फेयर' (महँगो हवाई भाडा) हटाउने चर्चाबीच हवाई सेवा प्रदायक कम्पनीहरूले यसको विरोध गरिरहेका छन्।
आन्तरिक उडानमा विदेशी नागरिकका लागि डलरमा तोकिएको छुट्टै र महँगो भाडा दरलाई 'डलर फेयर' भनिन्छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज (गनेश) पौडेलले सुदूरपश्चिम जस्ता दुर्गम क्षेत्रमा डलर फेयर महँगो हुँदा पर्यटक आगमनमा असर परेको भन्दै यसलाई हटाउनेबारे वायुसेवा सञ्चालकहरूसँग जिज्ञासा राखेपछि यो विषय चर्चामा आएको हो।
हामीले यसबारे बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसँग कुरा गरेका छौं।
उनले आन्तरिक वायुसेवा सञ्चालकहरूले तत्काल डलर फेयर हटाउन नसकिने स्पष्ट पारे। डलर फेयर हटाए त्यसको प्रत्यक्ष भार नेपाली यात्रुको थाप्लोमा पर्ने र आन्तरिक हवाई भाडा कम्तिमा २५ प्रतिशत बढ्ने उनको भनाइ छ।
'डलर फेयर हटाउनेबित्तिक्कै हवाई भाडा धेरै बढ्छ,' उनले भने।
उनका अनुसार डलर फेयर हटाउने विषयमा कुनै निर्णय भइसकेको छैन र मन्त्री पौडेलले पनि सरोकारवालासँग छलफल नगरी निर्णयमा नपुग्ने बताएका छन्।
'मन्त्रीज्यूको पदभार ग्रहण गरेपछि वायुसेवा सञ्चालक संघले उहाँलाई भेटेको थियो। त्यही भेटमा उहाँले सुदूरपश्चिम जस्ता दुर्गम क्षेत्रमा डलर फेयर महँगो हुँदा पर्यटक आगमनमा असर परेको भन्दै यो व्यवस्था हटाउनेबारे जिज्ञासा राख्नुभएको हो,' बस्नेतले भने, 'तर महँगी र इन्धनको मूल्य वृद्धिका कारण तत्काल कुनै निर्णय नगर्ने उहाँले बताउनुभएको छ।'
बस्नेतका अनुसार डलर फेयर नाफाका लागि मात्र नभई नेपाली यात्रूलाई सस्तोमा उडाउन गरिएको एक प्रकारको सहुलियत (सब्सिडी) व्यवस्था हो।
२०७२ सालमा सरकारसँग भएको हवाई भाडा समायोजन सहमति अनुसार डलर फेयरमार्फत २५ प्रतिशत 'क्रस–सब्सिडी' गर्ने व्यवस्था गरिएको उनले बताए।
डलर फेयर हटाउने हो भने २०७२ सालयताका खर्च पनि समायोजन गर्नुपर्ने उनले बताएका छन्।
बस्नेतले तथ्यांक प्रस्तुत गर्दै २०७२ सालमा डलरको विनिमय दर करिब ७४ रूपैयाँ हुँदा लागू गरिएको उक्त व्यवस्था अहिले डलरको मूल्य १५१ रूपैयाँ पुग्दासम्म उस्तै राख्नु चुनौतीपूर्ण रहेको बताए।
'कोभिडअघि ४ लाख डलरमा हुने इन्जिन मर्मत अहिले २० लाख डलर पुगेको छ। तालिम खर्च, मुद्रास्फीति र पेट्रोलियम पदार्थको मूल्य पनि बढेकाले यी सबै खर्च समायोजन हुनुपर्छ,' उनले भने।
डलर फेयर हटाउँदा आन्तरिक हवाई भाडा बढ्नुका साथै कम्पनीको नाफा घट्ने र समग्र वायुसेवा उद्योग नै धरासायी हुन सक्ने जोखिम रहेको उनले औंल्याए।
नेपालको पर्यटन आम्दानी छिमेकी मुलुकको तुलनामा कमजोर रहेको उल्लेख गर्दै बस्नेतले श्रीलंकासँग तुलना गरेका छन्। श्रीलंकामा २३ लाख पर्यटकबाट वार्षिक साढे तीन अर्ब डलर आम्दानी हुँदा नेपालमा ११ लाख पर्यटकबाट करिब ४० करोड डलर मात्रै आम्दानी भइरहेको छ।
उनले पर्यटकलाई सेवा दिनु मात्र होइन, उनीहरूबाट हुने आम्दानी बढाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।
'बुद्ध एयर एक्लैले वार्षिक ४ करोड डलर राजस्व आर्जन गरेको छ। अरू देशको देखासिकीभन्दा आफ्नै आवश्यकता अनुसार नीति बनाउनुपर्छ,' उनले भने।
डलर फेयर हटाउँदैमा पर्यटक संख्या नबढ्ने दाबी पनि उनले गरे। हवाई भाडा मात्र होइन, होटल, ट्रेकिङ र प्रवेश शुल्कमा पनि फरक मूल्य प्रणाली रहेको उल्लेख गर्दै उनले सबैतिर एउटै व्यवस्था लागू गर्नुपर्ने बताए।
'अन्य क्षेत्रमा पनि पर्यटकका लागि फरक शुल्क छ। हवाई भाडा मात्र किन एउटै बनाउने? हवाई क्षेत्रको डलर फेयरकै कारण पर्यटक नआएका हुन् र?' बस्नेतले प्रश्न गरे, 'नेपाल घुम्न आउने पर्यटक त आइहाल्छन्। यहाँ आएपछि कहाँ जाने, कसरी जाने भन्ने उनीहरूको रोजाइ हो। हवाई माध्यमबाटै जानुपर्ने बाध्यता छैन।'
उनका अनुसार नेपालमा पर्यटक नबढ्नुको मुख्य कारण आन्तरिक भाडा नभई अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुनु हो। अहिले नेपाल आउने अन्तर्राष्ट्रिय भाडा अन्य गन्तव्यको तुलनामा तीन–चार गुणासम्म महँगो रहेको उनले बताए।
'नेपाल आउने अन्तर्राष्ट्रिय हवाई भाडा निकै महँगो छ,' उनले भने, 'पहिले नेपाल आउन लाग्ने खर्च घटाउनुपर्छ, तब मात्रै पर्यटक बढ्छन्।'
***