युएईले पाँच जना क्रिकेटरलाई अंगिकृत नागरिकता प्रदान गरेको छ।
खुजैमा तन्वीर, अजय कुमार, अक्षदीप नाथ, हरप्रीत भाटिया र अदीब उस्मानी अंगिकृत प्रक्रियामार्फत युएईको नागरिकता पाउने पहिलो क्रिकेटर बनेका छन्।
यी खेलाडीहरू हाल दुईवटा टी-२० आई र एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि १७ सदस्यीय टोलीसँगै नेपालमा रहेका छन्। नेपाल र युएईबीच सोमबार र मंगलबार टी-२० सिरिज हुँदैछ।
त्यसपछि नेपाल, ओमान र युएईबीचको आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय सिरिज हुनेछन्। एकदिवसीय सिरिजमा सबै टोलीले एकआपसमा दुई दुई पटक खेल्नेछन्।
खुजैमा पाकिस्तानका जन्मिएका हुन्। उनले पाकिस्तान सुपर लिग खेलिसकेका छन् भने पछिल्लो समय युएईको घरेलु क्रिकेट खेल्दै आएका थिए।
अजय कुमार भारतका हुन्। उनले आइपिएलमा अवसर पाउन सकेका थिएनन्। उनले राजस्थान रोयल्सका लागि नेट बलरको भूमिकामा अवसर पाएका थिए। त्यसपछि उनी युएई गएका थिए।
अक्षदीप पनि भारतकै हुन्। उनले भारतको यू-१९ टोलीबाट सन् २०१२ मा विश्वकप जितेका थिए। त्यतिबेला उनी उपकप्तान थिए। उनी सन् २०१६ मा गुजरात लायन्समा आबद्ध भएका थिए। तर उनी पनि अवसर खोज्दै युएई पुगेका थिए।
हरप्रीत भाटिया पनि भारतकै हुन्। उनी मध्य प्रदेशका हुन् भने उनले भारतको यू-१९ टोलीसहित पञ्जावसहित कोलकता र पुने वारियर्सबाट खेलेका छन्। पछिल्लो समय उनले करिअर बनाउन युएईमा छन्।
अदीब उस्मानी पनि भारतको महाराष्ट्रका क्रिकेटर हुन्। उनले मुम्बईको आजाद मैदानमा क्रिकेट सिकेका थिए। उनी पछिल्लो समय युएईमा गएर त्यहाँको क्रिकेट खेल्न थालेका थिए।
सन् २०१८ को राष्ट्रपतीय आदेशपछि फुटबल, रग्बी र जुडोका खेलाडीहरूले युएईको नागरिकता पाए पनि क्रिकेटमा भने अहिलेसम्म प्रायः आप्रवासी खेलाडीहरूले मात्र खेल्दै आएका थिए। उनीहरूले आईसीसीको नियमअनुसार तीन वर्ष युएईमा बसेपछि मात्र देशको प्रतिनिधित्व गर्न पाउँथे।
तर अब यी पाँच क्रिकेटरले देशको नागरिक र राहदानी (पासपोर्ट) बोकेर युएईका लागि खेल्न पाउनेछन्।
नागरिकता पाएपछि अजय कुमारले युएईको पत्रिका 'द नेशनल' सँग खुसी साट्दै भने, ‘म युएई ओर्लेको दिनदेखि नै अन्तर्राष्ट्रियस्तरमा यो देशको प्रतिनिधित्व गर्ने मेरो सपना थियो। अहिले मैले यो अवसर पाइरहेको छु। यसका लागि युएई सरकार, सहयोगी टोली र घरेलु क्रिकेटलाई धन्यवाद दिन चाहन्छु। व्यवस्थापनले हाम्रो पूरै यात्रामा निकै सहयोग गरेको छ। म बोर्ड र क्रिकेट जगतप्रति आभारी छु र आफ्नो देशका लागि राम्रो प्रदर्शन गर्न उत्साहित छु।’
त्यस्तै खुजैमाले पनि यो अवसरका लागि आभार प्रकट गरे। उनले भने, ‘आफ्नो देशको प्रतिनिधित्व गर्ने मौका पाउनु कुनै पनि खेलाडीका लागि संसारकै उत्कृष्ट अनुभूति हो। देशले ममाथि भरोसा गरेर यो मौका दिएको छ, त्यसैले म आफूलाई भाग्यमानी ठान्छु। मैले विगत तीन वर्षदेखि युएईको घरेलु क्रिकेट र दुई सिजन आइएल टी-२० तथा अबु धाबी टी१० खेलिसकेको छु। अन्तर्राष्ट्रिय खेलाडीहरूसँग खेल्नु मेरो लागि राम्रो अनुभव रह्यो। अब युएईका लागि खेल्ने अवसर पाएकोमा म इमिरेट्स क्रिकेट बोर्डप्रति आभारी छु।’