हिजोआज नेपालमा लहर नै चलेको छ, परम्परागत शैलीको फल्चा बनाउने।
काठमाडौं महानगरपालिकाको सिको गर्दै छिमेकी र दुरदराजका कैयन पालिकाले पनि सडक किनार वा पार्कमा नेपाली संस्कृति झल्काउने परम्परागत शैलीको फल्चा वा त्यस्तै देखिने कलात्मक पाटी बनाउन भ्याइसकेका छन्।
तर चैत २९ गते आइतबार साँझको हावाहुरीले अचम्मै गरिदियो — बौद्ध र आरूबारी उत्तर, गोकर्णेश्वरको सल्लाघारी डाँडामा रहेको राष्ट्रिय सहिद स्मृति स्मारक छेउ बनाइएका दुईमध्ये एक फल्चा गर्ल्यामगुर्लुम्म ढालिदियो।
फल्चाका इँटा टायल र काठ गर्ल्याम्म ढल्दा भाग्यले बाँच्न सफल भएकालाई लाग्यो — २०७२ वैशाख १२ गतेको जस्तै भुइँचालो फेरि आएको पो हो कि?
तीमध्ये एक हुन् कलैया, बारा घर भएका, हाल गोकर्णेश्वर क्षेत्रमा डुल्दै पान बेचेर गुजारा चलाउने सुरेन्द्र साह।
'फल्चा कट्याक कट्याक गर्दै हल्लिन थाल्यो। मुनि बसेकी एक बहिनी भागिन् र म पनि अलि पर गएँ,' ढलेको फल्चा मुनिको सग्लो फलैंचामा बसेर बिहीबार साँझ पान बनाउँदै उनले भने, 'हुरी ठूलो पनि थिएन तर फल्चा अचानक ढल्यो। एकैछिन ढिला भएको भए हामीलाई थिच्ने थियो। सम्झिँदा पनि अझै डर लाग्छ।'
स्थानीय अगुवाको चिन्ता
फल्चा ढल्ने बित्तिकै सहिद स्मारक व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले सहरी विकास तथा भवन विभागलाई सुरक्षा उपाय अपनाउन सजग गराएका थिए। तस्बिर: सुरेन्द्र फुयाल
एक फल्चा ढलेलगत्तै अर्को फल्चा वरिपरि पहेँलो टेप लगाइएको छ। आगन्तुकहरूलाई बचेको अर्को फल्चा मुनितिर जान वर्जित गरिएको छ। तस्बिर: सुरेन्द्र फुयाल
जगडोलका स्थानीय अगुवा तथा स्मारक व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल पनि छेवैमा उभिएका थिए।
उनले भने, 'धन्न फल्चामुनि बसेका केटाकेटी हुरी आएपछि भाग्न भ्याएछन्। नत्र मान्छेको ज्यानै जान सक्थ्यो। हुरी आउँदा त यो फल्चा यसरी ढल्यो। ७२ सालको जस्तै भुइँचालो आयो भने के होला?'
जगडोल पार्कको दक्षिणी डिलमा छेवैको सहिद स्मारककै हिस्साको रूपमा दुई वर्षअघि दुइटा फल्चा बनाइएको थियो।
एउटा गत आइतबार ढलेलगत्तै अर्को पनि हुरीले ढालिदेला र रमाउँदै बौद्ध क्षेत्रका दृश्य हेर्न धुइरिने मानिसलाई केही होला भनेर अर्को फल्चा वरिपरि पहेँलो टेप लगाइएको छ।
आगन्तुकहरूलाई बचेको अर्को फल्चा मुनितिर जान वर्जित गरिएको छ।
तर गोकर्णेश्वरका सुदर्शनको चिन्ता अब छिमेकी काठमाडौं महानगरपालिकातर्फ फैलिन थालेको रहेछ।
कारण खुलाउँदै उनले भने, 'हेर्नुस् न, यस्ता फल्चा त अहिले काठमाडौं सहरभरि बनेका छन्। तर यी गतिला रहेनछन्। जाबो हावाहुरीले पनि ढाल्ने संरचना पो रहेछन्। यिनको डिजाइन ठिक रहेनछ।'
ढलेको फल्चामुनि पाखामा छरिएका इँटा, टायल तथा काठका टुक्रा उठाउन व्यस्त एक मजदुर युवा भन्दै थिए, 'यति दुब्ला काठका खम्बामाथि त्यति ठूलो १४ इन्चको गारो रहेछ। अनि त्यसमा अर्को सानो तला र त्यसमाथि ठूला टायलको छाना रहेछ। यस्तो त मूर्खले मात्रै बनाउँछ।'
गोकर्णेश्वर क्षेत्रको गहनाका रूपमा रहेको ६५० रोपनी सल्लाघारीयुक्त पाखामा फैलिएको राष्ट्रिय सहिद स्मृति स्मारक निर्माण संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागले गरेको थियो।
स्मारकभित्र लखन थापादेखि केही वर्ष अघिसम्म देशको लागि ज्यान दिएका सहिदहरूको स्मारक छ।
जिम्मेदार निकाय के गर्दैछन्?
राष्ट्रिय सहिद स्मारकभित्र लखन थापादेखि केही वर्षअघिसम्म देशका लागि ज्यान दिएका सहिदहरूको स्मारक राखिएको छ। तस्बिर: सुरेन्द्र फुयाल

बालेन्द्र शाह काठमाडौंका मेयर चुनिएपछि उनले महानगरका सबै बस स्ट्यान्डलाई नगरको परम्परागत शैलीकै फल्चा शैलीमा निर्माण गर्ने प्रस्ताव गरेका थिए। त्यसपछि राजधानी सहरबाट फल्चा बनाउने क्रम अन्यत्र पनि सुरू भयो।
त्यसपछि उपत्यकाभित्र अन्यत्र पनि परम्परागत शैलीका फल्चा बनेको देख्न सकिन्छ।
गोकर्णेश्वरको जगडोलको स्मारकमा एक फल्चा ढलेको खबर पाएपछि सहिद स्मारकको निर्माणकर्ता, संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयका जिम्मेवार अधिकारीले जगडोलको भ्रमण गरिसकेका छन्।
त्यो कार्यालयका प्रमुख रमेश थपलियाले फल्चाको ढाँचा बनाउने केही त्रुटि हुन गएको निष्कर्ष निकालेका छन्।
उनले भने, 'पुरानै ढाँचामा निर्माण गर्ने क्रममा केही गल्ती भएको पाइयो। अब हामी त्यसलाई सच्याउँदै नयाँ र बलियो फल्चा निर्माण गर्नेबारे छलफल गरिरहेका छौं।'
बाह्रवटा काठका दुब्ला थाममा उभिएको फल्चाको माथिल्लो तला र छानाको तौल क्षमताभन्दा बढी भएकाले दुर्घटना भएको हुनसक्ने स्थानीय अगुवाको आकलन छ।
फल्चा ढलेको बिन्दुहरू हेर्दा १२ वटा थामहरू ४ इन्चको किला ठोकेर अड्याइएको देख्न सकिन्छ।
चाखलाग्दो कुरा के छ भने, सहरी विकास तथा भवन निर्माण मन्त्रालयले देशमा हुने सबै निजी तथा सार्वजनिक निर्माणमा अनिवार्य रूपमा भवन निर्माण संहिता लागू गराउने काम गर्छ। त्यस्तो संहिताकै आधारमा स्थानीय पालिकाहरूले नयाँ निर्माणको लागि नक्सा पास गर्छन्।
तर भवन निर्माण कार्यालय आफैले जगडोलमा फल्चा बनाउदा त्यो संहिता पालना किन गरेन?
विभागका सिनियर डिभिजनल इन्जिनियर रूपक आचार्यले भने, 'परम्परागत शैलीमा यस्ता पाटी पौवा वा फल्चा बनाउँदा पुरानै शैली अपनाउने हो। प्रायः जसो त्यस्तो बेला इन्जिनियरिङ डिजाइन वा भवन निर्माण संहिता पालना गरिँदैन।'
फल्चाको महत्ता
चक्रपथको चाबहिलमा बनेको फल्चा शैलीको बस स्ट्यान्ड। तस्बिर: सुरेन्द्र फुयाल
तर महानगरको वडा नम्बर १७ (क्षेत्रपाटी) का अध्यक्ष समेत रहेका प्रवक्ता नविन मानन्धरको भनाइमा फल्चा भनेकै प्राकृतिक विपदका बेला समेत मानिस बस्न मिल्ने गरी बनाइएको परम्परागत संरचना हो जुन सानोतिनो भूकम्पका बेला पनि ढल्दैन र सुरक्षित नै रहन्छ।
फल्चा अभियान सुरू भएपछि काठमाडौं महानगरभित्र अहिलेसम्म ३४ वटा फल्चा बनिसकेको मानन्धरले बताए।
महानगरभित्र एउटा फल्चा बनाउन ३२ लाख ५० हजार रूपैयाँ खर्च भएको थियो। ती फल्चा उपत्यकाको संस्कृति झल्काउने प्राचीन शैलीका देखिन्छन्।
गोकर्णेश्वरको जगडोलमा हुरीले फल्चा ढालिदिएको घटनापछि प्रश्न उठेको छ — के काठमाडौं महानगरभित्र बनेका पुराना र नयाँ फल्चा हावाहुरी वा भुइँचालोका बेला पनि सुरक्षित होलान्?
मानन्धरले दाबाका साथ भने, 'फल्चाहरू सुरक्षित हुनैपर्छ। किनभने फल्चा बलिया काठका थाममा अडिएको हुन्छ। कुनै कुनैमा पर्खाल पनि हुन्छ। ती थाम मोटा हुन्छन् र तिनीहरू ठूला ठूला चट्टानको जगमाथि राखिएको हुन्छ।'
हिँडडुल गर्न जगडोलको पार्कमा पुगिरहने आरूबारीका रामप्रसाद दाहालले जीवनमा धेरै फल्चा देखेका छन्।
उनी ७६ वर्षका भइसके।
भत्किएको फल्चाको जगमाथि उभिएर उनले भने, 'मैले धेरै पाटी पौवा र फल्चा देखेको छु। राणाकालमा यी देशैभर हुन्थे। रानीपोखरी छेउमा प्रताप मल्लले बनाएको पाटी पनि देखेको छु। यस्तो फल्चा वा पाटी बनाउँदा एकापट्टि पर्खाल हुन्थ्यो छाना पनि यति धेरै भद्दा हुँदैन थियो। यसबाट पाठ सिकेर अब बनाउँदा बलियो बनाउनु पर्छ।'
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal