नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बजार र सेयर कारोबारमा लाग्दै आइरहेको सर्किट ब्रेकरमा गरेको नयाँ व्यवस्था सोमबारबाट लागु गर्ने भएको छ।
तर, यो नयाँ व्यवस्थामा लगानीकर्ताहरूले विरोध गर्न थालेका छन्।
पहिले बुझौं नेप्सेले सोमबारबाट कार्यान्वयनमा ल्याउन लागेको सर्किट ब्रेकर बारे।
बजार तीव्र उतारचढाव हुँदा नेप्सेले हाल बजारमा तीन पटकसम्म सर्किट ब्रेक लगाउँदै आएको छ। हालको व्यवस्था अनुसार बजार खुलेको पहिलो एक घण्टामा ४ प्रतिशतले बजार घटबढ भए सर्किट ब्रेक लागेर २० मिनेट कारोबार रोकिन्थ्यो।
बजार खुलेको दुई घण्टाभित्र ५ प्रतिशत बढेमा त्यसपछिको ४० मिनेट लागि कारोबार रोकिन्थ्यो। र, जुनसुकै समयमा बजार ६ प्रतिशतले बढे दिनभरका लागि बन्द हुन्थ्यो।
अब भने कारोबार सुरू भएको दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा १५ मिनेटका लागि कारोबार रोकिनेछ।
त्यस्तै, कारोबार अवधिको कुनै पनि समयमा परिसूचक ८ प्रतिशतले घटबढ भएमा सो दिनका लागि सम्पूर्ण कारोबार बन्द हुने व्यवस्था गरिएको छ।
'उच्चले घटबढ हुँदा पनि बजार अहिलेभन्दा धेरै समय खुला भइरहोस् भन्ने आशय साथ नयाँ व्यवस्था आएको देखिन्छ,' नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, 'यस्तो अस्वाभाविक उतारचढावमा पनि बजार बन्द नहुँदा बढ्ने कारोबारले ब्रोकर र सरकारको आम्दानी बढ्ने हो, लगानीकर्तालाई फाइदा हुने छैन।'
उनी सेयर लगानीकर्ताहरूले बजार सुधारका लागि मागेको काम नियामकहरूले नगर्ने तर नमागेको काम कुनै पक्षलाई फाइदा पुग्ने गरी ल्याइएको बताउँछन्।
यसमा भने नेप्सेको अलग्गै तर्क छ।
नेप्सेका एक अधिकारी भन्छन्,'बजारमा भोलिका दिनमा 'इन्ट्रा डे' कारोबार प्रणाली सुरू भएपछि बजार चलिरहँदा बन्द हुने अवस्था आउन दिन हुँदैन।'
इन्ट्रा डे कारोबार कारोबार भन्नाले सामान्य अर्थमा एकैदिन किनेको सेयर सोही दिन बेच्ने सकिने खालको कारोबार प्रणाली हो।
'इन्ट्रा डे कारोबारमा कारोबार अवधिभर किनबेचका लागि लगानीकर्ताहरू एउटा पोजिसन लिएर बसेका हुन्छन्,' ती अधिकारीले अगाडि भने, 'अहिले जसरी ४,५ प्रतिशतले बजार सूचक घटबढ भएकै आधारमा बजार बन्द हुने अवस्था आउँदा लगानीकर्ताले गर्ने यस्तो कारोबारको दायित्व मिलाउनै सक्दैनन्।'
इन्ट्रा डे कारोबार बिना अवरोध सञ्चालन हुनुपर्ने भएकोले पनि सर्किट अवधि बढाइएको उनको भनाइ छ।
सोमबारबाट कम्पनीको सेयर मूल्य पनि दिनभरमा १५ प्रतिशतसम्म घटबढ हुने गरी कारोबार गर्न पाइने व्यवस्था गरिएको छ। यसअघि कम्पनीहरूको दैनिक मूल्य उतारचढावको सीमा १० प्रतिशत थियो।
लगानीकर्ताहरूले यो व्यवस्थाको पनि विरोध गरेका छन्।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुलेल भन्छन्,'अहिले पनि कुनै एउटा कम्पनीको मूल्यमा चलखेल गरेर बजार बढेको वा घटेको देखाउन सकिने अवस्था छ, यस्तोमा त्यस्ता कम्पनीको मूल्य एकैदिन ३० प्रतिशतसम्म घटबढ हुने यो अवस्थाले बजारलाई फाइदा गर्दैन।'
पछिल्लो समय बजारमा सबैभन्दा ठूलो बनेको विशाल बजार कम्पनीको सेयरको सेयर मूल्य ४७८ रूपैयाँले बढ्दा ११ प्रतिशतभन्दा धेरैले नेप्से बढ्न सहयोग पुगेको देखिएको थियो।
पछिल्लो समय बजारमा कम्पनीको सेयरको आपूर्ति उच्च भइरहेकोले पनि यो व्यवस्थाले समग्र बजारलाई लाभ नपुग्ने सेयरधनी संघका अध्यक्ष पाण्डेलाई पनि लागेको छ।
नेप्सेले पनि समग्र बजारमा लाग्ने सर्किट ब्रेक नेप्से परिसूचकको लागि भन्दा पनि नेप्सेको फ्लोट परिसूचकको लागि प्रस्ताव गरेर धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ को मस्यौदा धितोपत्र बोर्डमा पठाएको थियो।
तर, बोर्डले नेप्सेको फ्लोट परिसूचकमा नभई नेप्से परिसूचकमै लगाउनुपर्ने हालको व्यवस्था अनुसार नै नयाँ नियम लाग्ने व्यवस्था गरिदिएको हो।
सेयर बजारमा सूचीकृत भएका सबै सेयरको भारित औसत निकालेर नेप्से परिसूचक तयार परिएको छ।
त्यसैले कुनै कम्पनीको कारोबार नहुने (धितोमा राखिएको, संस्थापकमा रहेको) सेयरको भार समेत नेप्से परिसूचकमा परिरहेको हुन्छ।
तर, बजारमा सजिलै किनबेच गर्न सकिने भनेर मानिएका सेयरहरूको कारोबारको मात्रै भारित औसत गरेर फ्लोट परिसूचक तयार गरिएको हुन्छ।
उदाहरणकै रूपमा हेर्दा विशाल बजार कम्पनीको कुल चार करोड सेयर बजारमा सूचीकृत छ।
तर, चार लाख १८ हजार कित्ता सेयर मात्रै सर्वसाधारणमा छ।
यो सेयरको मूल्य बढेमा सबै चार करोड सेयरको मूल्य बढेको हुन्छ र कम्पनीको सबै सेयरमा पर्ने यस्तो वृद्धिको भारले नेप्से गणनामा प्रभाव पार्छ।
तर, नेप्से फ्लोट परिसूचकमा भने मात्रै मूल्य परिवर्तनको कारण सर्वसाधारणमा रहेको चार लाख १८ हजार कित्ता सेयरमा हुने परिवर्तनको मात्रै भार परिरहेको हुन्छ।
नेपाल स्टक एक्सचेन्जले विगत लामो समयदेखि नेप्से फ्लोट परिसूचकलाई नै मुख्य सूचक बनाउन चाहेको छ।
लगानीकर्ताहरूले पनि यही सूचकलाई मुख्य सूचक मान्नु पर्ने बताउँदै आएका छन्।