लगातार चार दिनमा ८१.४९ अंक गुमाएको नेप्सेले मंगलबार र बुधबार २०.११ अंक जोडेको छ।
परिसूचक अझै २६०० विन्दु माथि नै अडिने प्रयासमा रहे पनि लगानीकर्ताको आत्मविश्वास पूर्ण रूपमा फर्किएको छैन।
असार ३ गते २७०० विन्दुबाट ओरालो लागेको नेप्से असार २६ गतेसम्म २६०० विन्दुभन्दा माथि टिकेको थियो। त्यसपछि भने यो २६०० मुनि झरेको हो।
त्यहाँबाट नेप्से २६०० विन्दु माथि उक्लिने प्रयासमा देखिएको छ।
मंगलबार र बुधबार दुई दिनको वृद्धिमा लगानीकर्ता आश्वस्त भइहालिसकेका छैनन्।
बजारको कारोबार रकमले पनि यही संकेत गरिरहेको छ। मंगलबार बजारमा तीन अर्ब ५५ करोड र बुधबार दुई अर्ब ७८ करोड रूपैयाँको मात्रै सेयर (ऋणपत्र, सामूहिक लगानी कोषका एकाइ बाहेक) कारोबार भयो।
सेयर कारोबारले मात्रै बजार परिसूचक नेप्सेको उतारचढाव निर्धारण गर्छ।
ब्रोकरहरू पनि यति छोटो अवधिमै बजारको आगामी प्रवृत्ति निर्धारण हुन नसक्ने बताउँछन्।
ब्रोकर भरत रानाभाटले भने, 'पछिल्ला दिनमा लगानीकर्ताहरूबाट भइरहेको आन्दोलन वा धितोपत्र बोर्डले बजार सुधार गर्न गरिरहेको वाचाको प्रभाव अहिलेको एक दुई दिनकै कारोबारमा नदेखिन सक्छ।'
अहिले धेरै संस्थागत लगानीकर्ताले चालु आर्थिक वर्षको वित्तीय विवरण तयार गर्ने अन्तिम समय (क्लोजिङ) हो। यो समय यस्ता संस्थाबाट सेयर खरिद नभएर बिक्री नै हुने भएकाले प्रभाव नदेखिन सक्ने रानाभाट बताउँछन्।
बजारको आगामी प्रवृत्तिको स्पष्ट संकेत भने आगामी साता हुने कारोबारबाट देखिन सक्ने उनी बताउँछन्।
'आगामी साता बजारसँगै कारोबार रकम पनि बढ्दै गयो भने बल्ल बजार सकारात्मक हुँदै गएको मान्न सकिन्छ,' रानाभाटले थपे।
अहिले बजार महत्वपूर्ण चरणमा आएकले प्राविधिक विश्लेषणलाई आधार मानेर कारोबार गर्नेहरू पनि 'पर्ख र हेर' अवस्थामा देखिएका छन्।
कारण हो, ५० दिने मुभिङ एभरेज र २०० दिने मुभिङ एभरेज रेखाको चाल।
प्राविधिक विश्लेषणका दृष्टिले महत्वपूर्ण मानिने ५० दिने र २०० दिने मुभिङ एभरेज रेखा अहिले ठ्याक्कै जोडिएका छन्। यदि ५० दिने रेखा ओर्लिने क्रममा २०० दिने रेखालाई काटेर तल झरेमा त्यसलाई 'डेथ–क्रस’ भनिन्छ।
यसले बजारको बुलिस प्रवृत्ति सकिँदै गएको र प्रवृत्ति परिवर्तन हुन थाल्ने संकेत गर्छ।
तर बजारको प्रवृत्ति परिवर्तन सुरू भइसकेपछि यस्तो संकेत देखिने भएकाले यसलाई प्रवृत्ति परिवर्तनको पुष्टि गर्ने माध्यमको रूपमा प्रयोग गर्नुपर्ने मानिन्छ।
सेयर बजार विश्लेषणमा एउटै आधार मात्र लिएर लगानी रणनीति बनाउन भने हुँदैन। नेपालको जस्तो उच्च उतारचढाव हुने बजारमा यस्ता क्रसओभर छोटो अवधिमै दोहोरिन पनि सक्छन्।
त्यसैले डेथ–क्रसलाई मात्र आधार बनाएर लगानी निर्णय गर्नु उपयुक्त मानिँदैन।
त्यसबाहेक धेरैजसो प्राविधिक विश्लेषणका उपकरणहरूले लगानीकर्ताले विगतमा भोगेका मनोविज्ञान देखाउने हुन्।
बजार सुधारका काम वा बजारलाई सकारात्मक प्रभाव पार्न सक्ने अन्य कारणहरू भावी दिनमा आएमा, बजारले प्राविधिक संकेत अनुसार प्रतिक्रिया नजनाउन पनि सक्छ।
त्यसैले यस्ता पक्षमा समेत याद गरेर लगानीकर्ताले रणनीति बनाउनुपर्छ।
बजारलाई सकारात्मक बनाउन सक्ने केही आधार भने अझै बाँकी छन्। आर्थिक वर्ष अन्त्य हुन दुई दिन मात्रै बाँकी छ। केही दिनपछि सूचीकृत संस्थाहरूको वित्तीय विवरण प्रकाशित हुन थाल्छ।
नाफा तथा वित्तीय अवस्था अपेक्षा अनुसार सुधारिएको देखिए बजारले सकारात्मक प्रतिक्रिया दिन सक्छ।