बजार घट्दा पनि नाफा बुक गर्न सकिने मानिएको 'सर्ट सेलिङ' को व्यवस्था तीन महिनाभित्र गर्ने नेपाल धितोपत्र बोर्डले उल्लेख गरेको छ।
बुधबार अर्थ समितिको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले भने, 'बजेटमा समेत आइसकेको 'सर्ट सेलिङ' भन्ने नयाँ उपकरण छिट्टै कायान्वयनमा ल्याउँदै छौं। बजार घट्छ भन्ने अनुमान गर्ने लगानीकर्ताले अरूसँग सेयर सापटी लिएर महँगोमा बेच्ने र पछि सस्तोमा किनेर फिर्ता गरी फाइदा कमाउन सक्नेछन्।'
उनले बजार घटे पनि नाफा निश्चित गर्ने यस्तो मेकानिजम तीन महिनाभित्र ल्याउने समेत घोषणा गरे।
सर्ट सेलिङले बजारलाई दुईतर्फी बनाउँछ। अहिले नेपालमा लगानीकर्ताले मूल्य बढ्दा मात्रै नाफा कमाउन सक्छन्।
सर्ट सेलिङ लागु भए मूल्य घट्ने अनुमानको आधारमा पनि कारोबार गर्न सकिने भएकाले बजारमा तरलता बढ्ने, मूल्य निर्धारण प्रक्रिया (प्राइस डिस्कभरी) प्रभावकारी हुने र व्यावसायिक कारोबार संस्कृतिको विकास हुने अपेक्षा गरिन्छ।
सर्ट सेलिङ भनेको आफूसँग नभएको सेयर पहिले बिक्री गर्ने र पछि बजारबाट खरिद गरेर फिर्ता गर्ने कारोबार हो।
सामान्य सेयर कारोबारमा लगानीकर्ताले पहिले किन्छन् र मूल्य बढेपछि बेच्छन्।
सर्ट सेलिङमा भने यसको उल्टो हुन्छ। मूल्य घट्ने अनुमानका आधारमा पहिले बिक्री गरिन्छ र पछि सस्तोमा किनेर हिसाब मिलाइन्छ।
उदाहरणका लागि, कुनै कम्पनीको सेयर प्रतिकित्ता एक हजार रूपैयाँ हुँदा एक लगानीकर्ताले १०० कित्ता सेयर सापटी लिएर बिक्री गर्यो। त्यसपछि मूल्य ८५० रूपैयाँमा झर्यो भने उसले त्यही सेयर बजारबाट किनेर सापटी दिने पक्षलाई फिर्ता गर्न सक्छ। यसरी प्रतिकित्ता १५० रूपैयाँका दरले नाफा हुन्छ।
तर, अध्यक्ष भट्टले भने जस्तो यसमा नाफा सुनिश्चित नै भने हुँदैन। घट्ने अपेक्षा विपरीत मूल्य अप्रत्याशित रूपमा बढेमा सर्ट सेलरले ठूलो घाटा बेहोर्नुपर्ने जोखिम रहन्छ।
अघिकै उदाहरण अनुसार मूल्य घट्नुको सट्टा बढेर १ हजार २ सय रूपैयाँ पुग्यो भने महँगो मूल्यमा सेयर किनेर फिर्ता गर्नुपर्ने भएकाले घाटा व्यहोर्नुपर्छ।
त्यसैले धेरै मुलुकले सापटी नलिई सेयर बिक्री गर्न नपाइने, पर्याप्त मार्जिन राख्नुपर्ने र जोखिम व्यवस्थापनका कडा मापदण्ड लागु गरेका छन्। सर्ट सेलिङलाई उच्च जोखिमयुक्त कारोबार मानिन्छ।
विश्वका विकसित पुँजी बजारमा प्रचलित भए पनि नेपालमा भने यसको कानुनी तथा प्राविधिक पूर्वाधार अझै तयार भएको छैन।
सर्ट सेलिङ सुरू गर्न नियम बनाएर मात्र पुग्दैन। यसको लागि अन्य पूर्वाधारको पनि आवश्यकता पर्छ। जसमध्ये एक हो, सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ सिस्टम।
यसमार्फत दीर्घकालिन लगानीकर्ता, म्युचुअल फन्ड, बीमा कम्पनी वा अन्य संस्थागत लगानीकर्ताले निश्चित अवधिका लागि आफ्ना सेयर सापटी दिन सक्छन्।
सर्ट सेलरले त्यही सेयर बिक्री गर्छ र पछि बजारबाट खरिद गरेर फिर्ता गर्छ। यसबाट लामो समयसम्म निष्क्रिय बसेका सेयरबाट पनि सापट दिने लगानीकर्ताले समेत अतिरिक्त आम्दानी गर्न सक्छन्।
यससँगै प्रभावकारी क्लियरिङ तथा सेटलमेन्ट प्रणाली, मार्जिन व्यवस्थापन, जोखिम नियन्त्रण र केन्द्रीय निक्षेप प्रणालीको क्षमता पनि अपरिहार्य हुन्छ। कारोबारपछि सेयर समयमै उपलब्ध गराउन नसक्ने अवस्था आएमा त्यसको व्यवस्थापन गर्ने संयन्त्र पनि आवश्यक पर्छ।
यही कारण सर्ट सेलिङसँगै अक्सन बजारको व्यवस्था पनि आवश्यक मानिन्छ। यदि सर्ट सेलरले तोकिएको समयमा सेयर खरिद गरेर दिन सकेन भने अक्सन बजारबाट आवश्यक सेयर खरिद गरी खरिदकर्तालाई उपलब्ध गराउँछ।
यसले सेयर राफसाफ (सेटलमेन्ट) असफल हुने जोखिम कम गर्छ र बजारप्रतिको विश्वास कायम राख्छ।
नेपालमा यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अन्तरदिवसीय (इन्ट्रा–डे) कारोबारको सम्भाव्यता अध्ययन गर्दा पनि सेयर सापटी प्रणाली र अक्सन बजार आवश्यक पूर्वाधारका रूपमा औंल्याएको थियो।
अध्ययनमा आफूसँग नभएको सेयर बिक्री गर्ने व्यवस्था सुरू गर्नुअघि धितोपत्र सापटी, जोखिम व्यवस्थापन र सेटलमेन्ट प्रणालीलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार विकास गर्नुपर्ने निष्कर्ष निकालिएको थियो।
नेपालमा पनि सर्ट सेलिङ लागु गर्ने हो भने धितोपत्र सापटी तथा सेयर सापटी लिने प्रणाली, अक्सन बजार, क्लियरिङ तथा सेटलमेन्ट प्रणालीको आधुनिकीकरण, पर्याप्त मार्जिन व्यवस्था र स्पष्ट नियामकीय मापदण्ड तयार गर्नुपर्ने हुन्छ।