सन् २०१६ मा अस्ट्रेलिया गएका चितवनका पूर्णचन्द्र पौडेल अहिले अल्जाइमर्सबारे अनुसन्धान गरिरहेका छन्।
उनी अल्जाइमर्स्स रिसर्च अस्ट्रेलिया र युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका रिसर्च फेलो हुन्।
पूर्णचन्द्र नेपालमा माध्यमिक तहका स्थायी शिक्षक र कलेजमा लेक्चरर थिए। भक्तपुरको आदर्श उच्च माविमा विज्ञान र गणित पढाउँथे भने भक्तपुरको सानोठिमी क्याम्पसमा विज्ञान विषय पढाउँथे।
उनले त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातकोत्तर गरेका हुन्। यसबाहके मानविकीतर्फ गणित र तथ्यांकशास्त्रमा त्रिचन्द्र कलेजबाट स्नातक गरेका छन्। शिक्षा संकायबाट विज्ञानमा पनि स्नातक सकेका छन्।
'त्रिभुवन विश्वविद्यालयको ल्याबमा स्थायी तर्फ नामसमेत निकालेको थिएँ। जागिर भने गरिनँ,' उनले भने।
स्थायी जागिर छाडेर पूर्णचन्द्र सन् २०१६ मा डेटा साइन्समा स्नातकोत्तर गर्न अस्ट्रेलिया गएका थिए। मेलबर्नको डेकिन युनिभर्सिटीमा पढाइ सकेर उनी सन् २०२१ मा पर्थ गए।
एडिथ काउन युनिभर्सिटीबाट पिएचडी (विद्यावारिधि) गरेका उनले आँखाको रेटिनाबाट अल्जाइमर्स रोग पत्ता लगाउने विधिबारे अनुसन्धान गरेका छन्। अहिले यही विषयमा पोस्टडक्टरल फेलोसिप गर्दैछन्।
उनीसहितको टोलीले आँखाको रेटिनाबाट अल्जाइमर्स पत्ता लगाउनेबारे सफल अनुसन्धान गरिसकेको छ। यसबारे उनीहरूको अनुसन्धानपत्र प्रकाशन पनि भइसकेको छ।
उनीहरूले पत्ता लगाएको विधि अनुसार क्यामराले आँखाको स्क्यान गर्छ र रेटिनामा आएको परिवर्तन पत्ता लगाउँछ।


यो प्रविधिले मान्यता पाएमा अल्जाइमर्स पत्ता लगाउन लाग्ने खर्च पनि धेरै कम हुने डा. पूर्णचन्द्र बताउँछन्।
अहिले अस्ट्रेलियामा अल्जाइमर्स पत्ता लगाउन ३ देखि ४ लाख रूपैयाँ (नेरू) खर्च हुन्छ। नयाँ प्रविधि आएमा ५० हजार रूपैयाँभन्दा कममा परीक्षण गर्न सकिने उनको भनाइ छ।
'हाम्रो अनुसन्धानको नतिजा अमेरिकाको एनआइएच (नेसनल इन्स्टिच्युट अफ हेल्थ) मा पठाइसकेका छौं। उनीहरूले स्वास्थ्य सम्बन्धी अनुसन्धानपत्रहरू आफ्नो अभिलेखमा राख्छन्। हाम्रो अनुसन्धान पनि राखिसकेका छन्,' उनले भने, 'अब रेटिना स्क्यान गर्ने क्यामरा बनाउने कम्पनीले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) मा आवेदन दिँदैछ। एफडिएले मान्यता दिएपछि यसलाई प्रयोग गर्न सकिन्छ।'
अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले मान्यता दिए पनि कतिपय देशले तत्काल मान्यता नदिन सक्ने भएकाले त्यस्तो अवस्थामा अन्य देशमा पनि दर्ता गर्नुपर्ने पूर्णचन्द्रले बताए।
तर अहिलेसम्म एफडिएले मान्यता दिएका उपकरण र औषधि विश्वका अधिकांश देशले मान्यता दिँदै आएका छन्।
उनका अनुसार अल्जाइमर्सको निदानसँगै औषधिबारे पनि अनुसन्धान भइरहेको छ। यसमा भने खासै प्रगति भएको छैन।
हाल अल्जाइमर्स रोग निदानका लागि एमआरआईजस्तै देखिने पोजिट्रोन इमिसन टोमोग्राफी (पेट) मेसिन प्रयोग गरिन्छ, जसमा रेडियोट्रेसरयुक्त रेडियोधर्मी औषधि शरीरमा प्रविष्ट गराई मस्तिष्कको परीक्षण हुन्छ।
यसमा मस्तिष्कमा सम्बन्धित प्रोटिन (जस्तै एमाइलोइड वा टाउ प्रोटिन) छ कि छैन भन्ने मूल्यांकन गरिन्छ। पेट स्क्यानले मुख्य रूपमा शरीरका साना कोष तथा तिनको मेटाबोलिक सक्रियता हेरेर आवश्यक जानकारी दिन्छ।
आफूहरूले गरेको अनुसन्धानले मान्यता पाएमा टेबलमा क्यामरा राखेर त्यसबाट बिरामीको रेटिना परीक्षण गर्न सकिने उनले बताए।
'अल्जाइमर्स, डिमेन्सिया रोग अस्ट्रेलियामा मृत्युको प्रमुख कारणमध्ये शीर्ष स्थानमा छ, जबकि विश्वव्यापी रूपमा यो मृत्युको सातौं प्रमुख कारण हो,' उनले भने।
अस्ट्रेलियामा यो अनुसन्धानलाई महत्त्व दिनुको मुख्य कारण कम खर्चमा परीक्षण हुन सक्नु नै हो।
पेट स्क्यान गर्दा ३ देखि ४ हजार डलर खर्च हुने तर रेटिनाबाट परीक्षण गर्दा ४ देखि ५ सय डलरमै हुने भएकाले यसलाई बीमा कार्यक्रममा समेत समावेश गर्न सकिने उनको तर्क छ।

'अल्जाइमर्स हुनेहरूको रेटिनामा आउने फरक भनेको त्यसबाट निस्किने विकिरणमा हो। रेटिनाका कोषहरूमा अल्जाइमर्स गराउने प्रोटिनहरू जम्मा हुने रहेछन्, जस कारण रेटिनामा परिवर्तन आउँछ,' पूर्णचन्द्रले भने, 'हामीले पत्ता लगाएको प्रविधिबाट परीक्षण गर्दा र पेट स्क्यानबाट परीक्षण गर्दा ९० प्रतिशत उस्तै नतिजा आएको छ। त्यसैले पनि यसले बिरामीलाई रोग निदानका लागि सहज बनाउन सक्छ।'
कोही व्यक्तिलाई अल्जाइमर्स हुँदैछ भन्ने कुरा १५–२० वर्षअघि नै थाहा पाउन सकिने र बिरामीले सुरूआतदेखि नै सतर्कता अपनाउन सक्ने उनको भनाइ छ।
अल्जाइमर्स एउटा कारण वंशानुगत समस्या हो। अर्को कारण पर्याप्त निद्रा अभाव, सन्तुलित आहार नहुनु, व्यायाम नगर्नु, मोटोपन र स्वच्छ वातावरण नहुनु हो।
'अल्जाइमर्स झट्टै हुने कुरा होइन, क्रमशः बढ्दै जाने रोग हो। स्मरणशक्ति घट्ने, छिनछिनमा मान्छे रिसाउने, परिवारका सदस्यलाई चिन्न छोड्ने, खान र शौच गर्न समस्या हुन्छ,' उनले भने, 'वंशानुगत कारण सुधार्न नसकिए पनि अन्य कारण सुधार्न सकिन्छ। त्यसले अल्जाइमर्सको समस्या १०–१५ वर्षसम्म पछाडि धकेल्न सकिन्छ।'