जेनजी आन्दोलनको प्रभाव धेरै क्षेत्रमा पर्यो। सबभन्दा धेरै प्रभाव निर्जीवन बीमा कम्पनीहरूलाई पर्यो।
त्यसमध्ये धेरै प्रभाव आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा परेको देख्न सकिन्छ।
अर्कातिर यो क्षेत्रका सबै कम्पनीको नाफा घट्दा एकको भने बढेको छ। त्यो हो प्रभु इन्स्योरेन्स कम्पनी।
पहिले प्रभु इन्स्योरेन्सकै कुरा गरौं।
यसको नाफा २० प्रतिशत बढेको छ। आर्थिक वर्ष २०८१–८२ मा २० करोड ५८ लाख रूपैयाँ नाफा भएको थियो। अहिले यो रकम बढेर २४ करोड ६४ लाख रूपैयाँ पुगेको छ।
यसको कुल बीमा शुल्क आर्जन भने १४ प्रतिशत घटेको छ। यसअघि दुई अर्ब ३ करोड रूपैयाँ आम्दानी भएकामा अहिले एक अर्ब ७४ करोड रूपैयाँ भएको हो।
प्रभुको कमिसन आम्दानी यसअघि १७ करोड ७९ लाख रूपैयाँ थियो। अहिले बढेर २० करोड ६५ लाख रूपैयाँ पुगेको छ। यसले पनि नाफा बढ्न सहयोग पुगेको हो।
त्यस्तै भुक्तानी गरेको बीमा दाबी रकम ५५ करोड ७१ लाख रूपैयाँबाट घटेर ५० करोड १२ लाख रूपैयाँ भएको छ।
यसको कुल जारी बीमालेख एक लाख २३ हजारबाट घटेर एक लाख १४ हजार भएको छ। नवीकरण भएका बीमालेखको संख्या भने ३९ हजारबाट बढेर ४६ हजार पुगेको छ।
यसअघि १६६२ बीमा दाबी भुक्तानी बाँकी थियो। हाल १९७० वटा भुक्तानी बाँकी छ।
दाबी भइसकेको र अनुमानितभन्दा बढी दाबी लाग्ने खुद बाँकी दायित्व रकम १९ करोड ९७ लाख रूपैयाँबाट घटेर यस पटक १९ करोड ८९ लाख रूपैयाँ भएको छ।
यसको सल्भेन्सी मार्जिन ५.४८ गुणा छ। यस्तो अनुपात १.३ प्रतिशतभन्दा धेरै हुनुपर्छ। यसले कुनै पनि बीमा कम्पनीले आपतकालीन वा अनपेक्षित नोक्सानीमा बीमितहरूको भविष्यका सम्पूर्ण दाबी रकम सुरक्षित रूपमा भुक्तानी गर्न सकोस् भन्ने उद्देश्यले यस्तो न्यूनतम अनुपात तोकिएको हो।
प्रभुको प्रतिसेयर आम्दानी ११.१३ रूपैयाँबाट बढेर १३.३३ रूपैयाँ पुगेको छ। यसको प्रतिसेयर नेटवर्थ १९३ रूपैयाँ छ। एक अर्ब ८४ करोड रूपैयाँ चुक्ता पुँजी रहेको यसको सञ्चित कोषमा १० करोड रूपैयाँ छ।
२०६४ सालबाट सेयर कारोबारमा आएको प्रभु इन्स्योरेन्सले विगत पाँच वर्षमा औसत १०.३४ प्रतिशत लाभांश दिएको छ। यसको सेयर मंगलबार ६६० रूपैयाँमा कारोबार भएको छ।
एक वर्षयता यसको सेयरको उच्च मूल्य ७९६ रूपैयाँ र न्यून मूल्य ६३० रूपैयाँ छ।
अर्कातिर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नाफा ९८ प्रतिशत घटेको छ। आर्थिक वर्ष २०८१–८२ मा यसको नाफा ३६ करोड ४९ लाख रूपैयाँ थियो। अहिले ४० लाख रूपैयाँ मात्र छ।
यसले आफ्नो वित्तीय विवरणमा जेनजी आन्दोलनको क्रममा भएको दाबी उच्च रहेको उल्लेख गरेको छ।
यसको कुल बीमा शुल्क आर्जन ११ प्रतिशत बढेको छ। यसअघि यस्तो आम्दानी तीन अर्ब ९४ करोड रूपैयाँ थियो। अहिले चार अर्ब ३८ करोड रूपैयाँ पुगेको छ।
त्यस्तै भुक्तानी गरेको कुल बीमा दाबी रकम दुई अर्ब ४६ करोड रूपैयाँबाट अलिकति घटेर दुई अर्ब २४ करोड रूपैयाँ भएको छ।
आइजीआईको खुद दाबी खर्च र कुल खर्च बढेकाले नाफामा प्रभाव परेको हो। यसको कुल खर्च एक अर्ब ६४ करोड रूपैयाँबाट बढेर दुई अर्ब २३ करोड रूपैयाँ पुगेको छ।
आइजीआईको कुल जारी बीमालेख संख्या दुई लाख २२ हजारबाट बढेर दुई लाख ३७ हजार पुगेको छ। नवीकरण भएका बीमालेखको संख्या ६२ हजारबाट बढेर ६६ हजार पुगेको छ।
यसअघि ७६६१ बीमा दाबी भुक्तानी बाँकी थियो। हाल ७८९७ वटा भुक्तानी बाँकी छ।
दाबी भइसकेको र अनुमानितभन्दा बढी दाबी लाग्ने खुद बाँकी दायित्व रकम ५२ करोड ५९ लाखबाट बढेर ८३ करोड १५ लाख रूपैयाँ पुगेको छ। यस्तो दाबी भइसकेको र अनुमानितभन्दा बढी दाबी लाग्ने कल रकम भने दुई अर्ब २७ करोडबाट बढेर पाँच अर्ब ६२ करोड रूपैयाँ छ।
यसको सल्भेन्सी मार्जिन ५.०६ गुणा छ। प्रतिसेयर आम्दानी १२.०५ रूपैयाँबाट बढेर ०.१३ रूपैयाँ भएको छ। यसको प्रतिसेयर नेटवर्थ १७९ रूपैयाँ छ।
चुक्ता पुँजी एक अर्ब ८६ करोड रूपैयाँ रहेको यसको सञ्चित कोषमा एक करोड ८४ लाख रूपैयाँ छ।
यो कम्पनीको २०६१ सालबाट सेयर कारोबार भएको हो।
आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल दुई कम्पनीबीचको मर्जरपछि बनेको कम्पनी हो यो। २०८० वैशाखबाट एकीकृत कारोबार गरेको यसले पछिल्ला दुई वर्ष क्रमशः ९.७३ प्रतिशत र ५ प्रतिशत लाभांश दिएको छ।
मंगलबार यसको सेयर ४२८ रूपैयाँमा कारोबार भएको छ। एक वर्षयता यसको सेयरको उच्च मूल्य ५४३ रूपैयाँ र न्यून मूल्य ३९२ रूपैयाँ छ।