कृषि प्रविधिमा विश्वमै अब्बलमध्ये मानिने इसराइलमा खेतीपाती सम्बन्धी पढाइ। अनि पढाइसँगै इसराइली भूमिमै खेतीमा काम गरेबापत राम्रो कमाइ।
इसराइल सरकारको 'लर्न एन्ड अर्न' कार्यक्रमले नेपाली विद्यार्थीलाई कृषि सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक ज्ञान मात्रै दिँदैनथ्यो; नेपाल फर्केपछि कृषि उद्यम गर्न त्यहाँ काम गरेर कमाएको पैसाले बीउ पुँजीको काम पनि गर्थ्यो।
उज्ज्वल भविष्यको सपना देख्दै यस्तो आकर्षक कार्यक्रममा इसराइल गएका १७ जना नेपाली विद्यार्थी गाजासँगको सीमा नजिकै रहेको अलुमिम किबुत्ज (कम्युन जस्तो समुदाय) मा बसेका थिए। नजिकै रहेको कलेजमा पढ्ने ती विद्यार्थी दक्षिणी इसराइलको नेगेभ मरूभूमिमा रहेको सो किबुत्जमा काम गरेर सुन्दर भविष्यका लागि पैसा पनि जोहो गरिरहेका थिए।
सन् २०२३ अक्टोबर ७ मा हमासले आतंककारी हमला गरेपछि उनीहरूमध्ये ११ जनाको सपनाको यात्रा एक्कासि रोकियो। हमासका आतंककारीले १० जना निहत्था नेपाली विद्यार्थीको उनीहरू बस्ने क्वार्टरमै विभत्स हत्या गरे। अपहरण गरेर गाजा लगेका विपिन जोशीको पनि पहिल्यै मृत्यु भइसकेको भनेर गत अक्टोबरमा हमासले खुलासा गर्यो।
इसराइल सरकारको निमन्त्रणामा सेतोपाटी सहितको नेपाली मिडिया टोली गत साता १० जना नेपालीको हत्या भएको सो किबुत्ज पुग्दा त्यहाँको स्थिति सामान्यजस्तै देखिन्थ्यो।
इसराइली बालबालिका त्यहाँ खेलिरहेका थिए भने नजिकैको एउटा संरचनामा 'डान्स नम्बर' बजिरहेको थियो।
बेलायतबाट बसाइँ सरेर लगभग ६ दशकअघि इसराइल गएका एरिक आइज्याकसनले नेपाली टोलीलाई अक्टोबर ७ का दिन त्यहाँ भएको घटनाबारे ब्रिफिङ गरे। नेपाली विद्यार्थी बस्ने निवासभन्दा उनको निवास केही दुरीमा रहेको र उमेरजन्य कारणले होला, सायद उनले नेपालीको हत्याबारे स्पष्ट विवरण दिन सकेनन्।
उनको लामो ब्रिफिङबाट एउटा कुरा भने छर्लंग भयो।
सो दिन त्यो किबुत्जमा बस्ने कुनै पनि इसराइलीको मृत्यु भएन। सो किबुत्जभित्रको सुरक्षा हेर्ने आकस्मिक टोली र छुट्टीमा घर आएका दुई जना सैनिकले बहादुरीपूर्वक आतंककारीसँग लडेको उनले जानकारी दिए।
गोली हानाहानमा घाइते भए पनि त्यहाँ बसोबास गर्ने कुनै पनि इसराइलीको मृत्यु भएन। तर पनि त्यहाँ बस्ने विपिनसहित ११ नेपाली विद्यार्थी र १२ थाई कामदारको क्रूरतापूर्वक हत्या भएकोमा उनी दुःखी देखिन्थे। लगातार खबर गर्दा पनि सहयोगका लागि घन्टौंसम्म इसराइली सेना नआएकामा उनलाई त्योभन्दा पनि बढी रिस रहेको अझ प्रस्ट देखिन्थ्यो।
सो क्षेत्रमा रहेका सबै किबुत्जमध्ये त्यो किबुत्जमा सबैभन्दा कम क्षति भएको उनले जानकारी दिए। नजिकैका अरू किबुत्जमा बस्ने दर्जनौँ इसराइलीको त्यो दिन हत्या भए पनि त्यहाँ बस्ने कोही पनि इसराइली मारिएनन्।
अरू किबुत्जमा अझै पनि मान्छे बस्न नफर्किएको र पुनर्निर्माण चलिरहेको उनले बताए। तर अलुमिम किबुत्जमा भने प्रायः सबै फर्किसकेका थिए। र, पुनर्निर्माण पनि लगभग सकिनै लागेको थियो।

ब्रिफिङपछि एरिकले नेपालीको हत्या भएको ठाउँतिर पैदल लाँदा मनमा एउटै कुरा खेलिरह्यो— किबुत्जका सबै इसराइलीको ज्यान जोगिँदा त्यहीँ रहेका १० नेपालीको भने कलिलो उमेरमै मृत्यु भयो। हमासले त्यस दिन बन्धक बनाएर गाजा लगेका विपिन जोशी पनि जीवित फर्किएनन्।
नेपाली विद्यार्थी र थाई कामदार बस्ने क्वार्टरतर्फ जाँदा एरिकले हमाससँगको भिडन्तका क्रममा त्यहाँका संरचनामा लागेका गोलीका डोबहरू देखाए।
तारले घेरिएको सो किबुत्जको अलिक बाहिरी भागमा कामदारको क्वार्टर रहेछ। किबुत्जका इसराइली बासिन्दा चाहिँ अलिक भित्रीतर्फका घरहरूमा बस्दा रहेछन्।
किबुत्जमा रहेका १७ जना नेपाली विद्यार्थीहरू बेग्लाबेग्लै काम गर्थे। चार जना कागती फार्ममा काम गर्थे भने तीन जना सिँचाइमा। सात जना उत्पादन प्याक गर्ने काम गर्थे भने दुई जना एभोकाडो फार्ममा। एक जना चाहिँ गाई फार्ममा काम गर्थे।
बेग्लाबेग्लै ठाउँमा काम गर्ने भए पनि नेपाली विद्यार्थी र थाई कामदारको क्वार्टर भने दूध दुहुने पार्लरकै छेउमा रहेछ। केही पर रहेको गोठबाट गाई त्यहाँ ल्याएर दुहिने रहेछ।
सबै घर र सार्वजनिक स्थलमा बम आक्रमणबाट जोगिन सेफ हाउस बनाउने इसराइल सरकारको नियम अनुसार सो क्वार्टरको पनि छेवैमा सेफ हाउस रहेछ।
हवाई आक्रमण भएको भनेर इसराइलभरि नै सबैको मोबाइलमा त्यो दिन बिहानै सन्देश आयो। त्यो सुनेपछि क्वार्टरमा रहेकाहरू अरू बेलाजस्तै नजिकैको सेफ हाउसमा लुक्न गए।
अक्टोबर ७ मा मोटरसाइकलमा आएका हमासका आतंककारी दूध दुहुने पार्लर नजिकै तारको बार काटेर भित्र पसेका थिए। त्यो किबुत्जमा सबैभन्दा पहिले दूध दुहुने पार्लरमा धावा बोलेर एक जना थाई कामदारलाई मारेका थिए।
त्यसपछि सेफ हाउसमा ग्रेनेड फालेछन्। विपिनले सो ग्रेनेड बाहिर फालेको भनेर त्यति बेलै नेपाली मिडियामा आएको थियो।
नेपालसहित दक्षिण–पूर्व एसिया हेर्ने इसराइली विदेश मन्त्रालयकी निर्देशक मिसेल वेलर–तालले मिडिया टोलीलाई जेरूसेलममा स्वागत गर्दा नै विपिनको बहादुरीको गाथा सुनाएकी थिइन्। सायद त्यही कारणले हमासले उनलाई बन्धक बनाएको उनले औंल्याएकी थिइन्।
एरिकले पनि विपिनको बहादुरीको कुरा फेरि सुनाए। हमासले फेरि ग्रेनेड फ्याँकेपछि दुई–तीन जनाको सेफ हाउसमै मृत्यु भएको उनले बताए।
त्यहाँबाट किबुत्जको भित्री भागतर्फ लागेका हमास आतंककारीको छुट्टीमा रहेका किबुत्जका दुई सैनिक र सुरक्षाको जिम्मा पाएको आकस्मिक टोलीसँग भिडन्त भयो। एक जना आतंककारीलाई गोली लागेपछि उनलाई मोटरसाइकलमा राखेर तिनीहरू भागे।
पछि आएको आतंककारीको अर्को समूहले बाँकी नेपाली र थाई नागरिकको हत्या गरेको एरिकले खुलासा गरे।
तर राम्रो स्मरण शक्ति नभएकाले एरिकले कति जना नेपाली र थाई कामदार कहाँ–कहाँ मारिए भनेर स्पष्ट विवरण दिन सकेनन्। आतंककारीले नेपाली र थाई कामदारलाई मारेपछि सो क्वार्टरमा आगो लगाए।
दिवंगतहरूका लागि स्मारक बनाउन अहिले सो क्वार्टरको एउटा भित्तो मात्रै बाँकी राखिएको रहेछ। सो भित्तामा विपिनको फोटो भएको एउटा फ्लेक्स र नेपालको झन्डा झुन्ड्याइएको थियो। बाँकी ठाउँ खाली छ।

अहिले त्यहाँ कोही पनि नेपाली छैनन्। हाल त्यहाँ रहेका थाई कामदार बस्न नजिकै अस्थायी टहरो बनाइएको रहेछ। पहिलेको सेफ हाउसलाई अहिले भान्सा र खाने ठाउँका रूपमा प्रयोग गरिएको रहेछ।
हुन त इसराइल सरकारले हत्या भएका र घाइते नेपाली सबैलाई इसराइली नागरिकसरह क्षतिपूर्ति र सुविधा दिएको छ। तर एक जना पनि इसराइली नागरिक नमारिएको सो किबुत्जमा १० जना नेपाली मारिएको थाहा पाएपछि मन अलिक गह्रौं भयो।
एरिकले सो दिनको घटनाबारे यकिन विवरण दिन नसकेकाले इन्टरनेटमा खोज्नुपर्ने भयो। विभिन्न इसराइली मिडियाले सो किबुत्जमा भएको हत्याकाण्डबारे विस्तृतमा लेखेको भेटियो। गत अक्टोबरमा विपिनको हत्या भइसकेको खुलासा भएपछि इसराइलको उदारवादी पत्रिका 'हारेत्ज' ले सो किबुत्जबारे विस्तृतमा फेरि समाचार लेखेको रहेछ।
हारेत्जका अनुसार सेफ हाउसमा ग्रेनेड विस्फोट हुँदा दुई जना नेपाली मारिएका रहेछन्। केही घाइते भएका रहेछन्। घाइतेलाई त्यति बेलाको डाइनिङ हलमा प्राथमिक उपचार दिइएको रहेछ। विपिन पनि सोही हलमा रहेका फोटो–भिडिओ रहेछन्।
त्यो दिन सो किबुत्जमा पटक–पटक गरेर हमासका धेरै समूहले आक्रमण गरेका रहेछन्। तिनैमध्ये एक समूहले आठ नेपाली र केही थाई कामदारलाई मारेको रहेछ। विपिनसँगै एक थाई कामदारलाई पनि बन्धक बनाएको रहेछ। थाई सरकारले राम्ररी पहल गरेर होला, सायद ती थाई कामदार हमासले पहिलो पटक बन्धक छाडेको बेला एक महिनामै थुनामुक्त भएछन्।
विपिन भने जीवित फर्किएनन्।
हारेत्जका ती संवाददातालाई पनि किबुत्जमा त्यत्रो धेरैको हत्या हुँदा त्यहाँ बस्ने कोही पनि इसराइली नमारिएको कुरा असंगत लागेछ सायद।
अलुमिम किबुत्जका आकस्मिक सुरक्षा टोलीले बहादुरीका साथ लडेकाले किबुत्जका कोही पनि इसराइली बासिन्दा नमारिएको भनेर इसराइलभरि वाहवाही भएको रहेछ। हारेत्जसँग कुरा गर्दै सो आकस्मिक सुरक्षा टोलीका सदस्य अयाल योङले त्यो भाष्य गलत भएको औंल्याएका रहेछन्।
त्यस दिन त्यहाँ २२ जना नेपाली र थाई आप्रवासी, अनि नजिकैको नोभा म्युजिक फेस्टिभलबाट भागेका केही इसराइली युवा र पछि आइपुगेका इसराइली सुरक्षाकर्मी सहित ४३ जनाको ज्यान गएको कुरामा उनले जोड दिए।
हारेत्जसँग कुरा गर्दै सो किबुत्जका बाली व्यवस्थापक गिलाड होनवाल्डले बिहान करिब ९:०० बजे कामदारको डाइनिङ हलमा पुगेको जानकारी दिएका छन्। आकस्मिक सुरक्षा टोलीमा नभए पनि एक जना कामदारसँग नियमित सम्पर्कमा रहेकाले मद्दत गर्न आएको उनले खुलाएका छन्।
सुरूमा आएको आतंककारी दस्ता भागेकाले त्यति बेला भिडन्त रोकिएको थियो। तर पनि नेपाली र थाई कामदार त्यहीँ बसिरहे। इसराइली सदस्यहरू बस्ने किबुत्जको भित्री भागतर्फ कोही पनि गएनन्।
त्यसैले पछि आएको आतंककारीको दस्ताले आठ नेपाली र केही थाई कामदारलाई मारे।
उनीहरूलाई किबुत्जको अझ भित्रतिर भाग्न नभनेकामा हारेत्जसँग होनवाल्डले गहिरो पछुतो मानेका छन्।
त्यो समाचार पढेपछि मनमा झन् धेरै कुरा खेले। होनवाल्ड वा अरू कोही इसराइलीले उनीहरूलाई भित्र बस्तीतर्फ भाग्न किन भनेनन्?
कसैले त्यसो भनेको भए वा उनीहरू आफै पनि सुरक्षाका लागि अलिक भित्रतर्फ गएका भए आठ जना नेपालीको ज्यान त जोगिने थियो कि!