लाभांशको सिजन नजिकिँदै गएको छ। सेयर बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०८२–८३ को वित्तीय विवरण प्रकाशित गरिसकेका छन्।
कम्पनीहरूले वित्तीय विवरणमा आ–आफ्नो लाभांश क्षमता देखाएका छन्।
आज हामी विकास बैंक समूहमा सबभन्दा धेरै लाभांश क्षमता देखाएका दुई बैंकको चर्चा गर्नेछौं।
यी हुन्, गरिमा विकास बैंक र साइन रेसुंगा डेभलपमेन्ट बैंक।
गरिमा विकास बैंक
गरिमाको करिब १० वर्ष (२०७३ कात्तिक) देखि बजारमा सेयर कारोबार भइरहेको छ।
केही वर्षयताको यसको उच्च मूल्य ७१५ रूपैयाँ र न्यून मूल्य ३३७ रूपैयाँ छ। केही समययता भने ३७० देखि ४२३ रूपैयाँ हाराहारीमा छ।
सोमबार बजारमा यसको सेयर प्रतिकित्ता ४२३ रूपैयाँमा कारोबार भयो।
गत आर्थिक वर्ष २०८२–८३ मा यसको नाफा ३३ प्रतिशत बढेर एक अर्ब ६५ करोड रूपैयाँ पुगेको छ। यसअघि नाफा एक अर्ब २४ करोड रूपैयाँ थियो।
नाफा रकमको आधारमा यो विकास बैंकहरूमध्ये पहिलो स्थानमा छ।
यसको खुद ब्याज आम्दानी भने ३.५३ प्रतिशत मात्रै बढेको छ। खुद ब्याज आम्दानी तीन अर्ब ६८ करोड रूपैयाँबाट बढेर तीन अर्ब ८१ करोड रूपैयाँ पुगेको छ।
ब्याज बाहेकका विभिन्न आम्दानी बढेको र प्रावधानमा राखेको रकम केही घटेकाले नाफामा सुधार भएको हो।
यसअघि ६४ करोड रूपैयाँ प्रावधान राखेकोमा यस पटक ४९ करोड रूपैयाँ राखेको छ। त्यस्तै, शुल्क, कमिसन, ट्रेडिङ र अन्य आम्दानी ३१ करोड रूपैयाँ बढेर चार अर्ब ५६ करोड रूपैयाँ पुगेको छ।
यसले एक अर्ब २१ करोड रूपैयाँ वितरण योग्य नाफा देखाएको छ। यस रकमबाट करिब २०.२३ प्रतिशत लाभांश दिन सक्ने क्षमता देखिन्छ।
यसले विगत पाँच वर्षमा वार्षिक औसत ११.२० प्रतिशत लाभांश दिएको छ। गरिमाको सेयर मूल्यले पछिल्ला दुई दिनमा दुवैतर्फ लामो धागो र सानो शरीर भएको दोजी आकृति बनाएको छ।
मूल्यलाई लिएर लगानीकर्तामा अन्योल भएको देखिन्छ।
साइन रेसुंगा डेभलपमेन्ट बैंक
२०७३ भदौबाट साइन रेसुंगाको सेयर कारोबारमा आएको हो। केही वर्षयताको यसको उच्च मूल्य ६५५ रूपैयाँ र न्यून मूल्य २६७ रूपैयाँ छ।
केही समययता ३८२ देखि ४९९ रूपैयाँ हाराहारीमा छ।
सोमबार बजारमा यसको सेयर प्रतिकित्ता ४१४ रूपैयाँमा कारोबार भएको छ।
गत आर्थिक वर्ष २०८२–८३ मा साइनको नाफा ८४ प्रतिशतले बढेर एक अर्ब १८ करोड रूपैयाँ पुगेको छ। यसअघि नाफा ६४ करोड रूपैयाँ थियो। नाफा रकमको आधारमा यो विकास बैंकहरूमध्ये तेस्रो स्थानमा छ।
यसको खुद ब्याज आम्दानी ७.९५ प्रतिशत मात्रै बढेको छ। खुद ब्याज आम्दानी दुई अर्ब ६४ करोड रूपैयाँबाट बढेर दुई अर्ब ८२ करोड रूपैयाँ पुगेको छ।
यसले प्रावधानमा राखेको रकम उलेख्य घटेकाले नाफामा सुधार भएको हो।
यसअघि ९५ करोड रूपैयाँ प्रावधान राखेकामा यस पटक २० करोड ७९ लाख रूपैयाँ राखेको छ।
यसले ८४ करोड रूपैयाँ वितरण योग्य नाफा देखाएको छ।
यो रकमबाट करिब १६.८६ प्रतिशत लाभांश दिनसक्ने क्षमता देखिन्छ। लाभांश क्षमताको आधारमा यो तेस्रो स्थानमा छ।
दोस्रो स्थानमा लुम्बिनी विकास बैंक छ। लुम्बिनीको बारेमा हामीले यसअघि नै लेखिसकेका छौं।
साइन रेसुंगाले विगत पाँच वर्षमा वार्षिक औसत ११.५१ प्रतिशत लाभांश दिएको छ।
साइनको सेयर मूल्यले पछिल्ला दुई दिनमा दुवैतर्फ लामो धागो र सानो शरीर भएको दोजी आकृति बनाएको छ।
मूल्यलाई लिएर लगानीकर्तामा अन्योल देखिन्छ। यसको सेयरले केही दिनअघिको ४१८ रूपैयाँको उचाइ पार गर्न सकिरहेको छैन।