सन् २०२१ डिसेम्बर १, बुधबार।
अमेरिकी अनलाइन मोर्गेज कम्पनी (घरजग्गा किन्न ऋण दिने कम्पनी) बेटर डटकमका कर्मचारी क्रिश्चियन च्यापम्यानले एउटा जूम मिटिङको निम्तो पाए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विशाल गर्गले बेला बेला कर्मचारीसँग यस्ता 'टाउन हल' मिटिङ गर्थे।
क्रिश्चियनलाई लाग्यो— यो पनि त्यस्तै सामान्य बैठक होला।
उनलाई के थाहा, सो कम्पनीमा त्यो उनको अन्तिम बैठक थियो!
क्रिश्चियन जुम खोलेर बैठकमा बसे। स्क्रिनमा सिइओ विशाल देखा परे।
विशालले भूमिका बाँध्न धेरै समय लगाएनन्।
केही क्षणमै मुख्य कुरा भने— यदि तपाईं यो मिटिङमा हुनुहुन्छ भने, तपाईं जागिर गुमाउने 'अभागी समूह' मा पर्नुभएको छ। आजदेखि तपाईंको जागिर सकियो!
बैठक एकतर्फी थियो। कर्मचारीले प्रश्न गर्ने ठाउँ थिएन। जम्माजम्मी तीन मिनेटमै जुम बैठक सकियो। त्यो तीन मिनेटमा, एकै पटक करिब ९ सय जना कर्मचारीको जागिर गयो।
जागिर जानेहरूको संख्या, बेटर डटकममा काम गर्ने कुल कर्मचारीको करिब ९ प्रतिशत थियो। त्यसमा खासगरी अमेरिका र भारतमा काम गर्ने कर्मचारी परेका थिए।
कम्पनीले बजार, कार्यसम्पादन र उत्पादकत्वको अवस्थाका कारण कर्मचारी कटौती गर्नुपरेको बताएको थियो।
त्यो जुम बैठकमा बसेका क्रिश्चियन च्यापम्यान सुरूमा सिइओ विशालका कुरा सुनेर अलमल परे। के भयो भन्ने केहीबेरसम्म बुझ्नै सकेनन्।
त्यसपछि उनले अरू कर्मचारीलाई कम्पनीको आन्तरिक सन्देश प्रणालीमा 'के भइरहेको हो' भनेर सोध्न थाले। तर त्यत्तिकैमा कम्प्युटरको पहुँच बन्द भयो। कम्पनीको फोन चलेन। इमेल पनि बन्द भयो।
उनले सहकर्मीसँग व्यक्तिगत फेसबुक मेसेन्जरबाट सम्पर्क गरे। अन्योलकै बीच केही घन्टापछि उनको व्यक्तिगत इमेलमा कम्पनीले पठाएको औपचारिक बर्खास्ती गरेको सूचना आयो।
कम्पनीको आन्तरिक जुम बैठकमा यसरी ९ सय जनालाई जागिरबाट हटाउँदा सिइओ विशालले एउटा कुरा भने अनुमान गरेका थिएनन्— त्यो मिटिङ कसैले रेकर्ड गरेको थियो!
केही समयमै विशालको त्यो भिडिओ बाहिरियो। सामाजिक सञ्जालमा भाइरल भयो। तीन मिनेटमा ९ सय जना कर्मचारी हटाउने सिइओ विशाल गर्ग संसारभर चर्चित भए। उनका बारेमा मानिसहरूले मिश्रित टिप्पणीहरू गर्न थाले।
विशाल गर्ग भारतमा जन्मिएका हुन्। तर सानैमा परिवारसँग अमेरिका पुगे। न्यूयोर्कमा हुर्किए। प्रतिष्ठित स्टाइभेसन्ट हाई स्कुल पढे। त्यसपछि उनी न्यूयोर्क विश्वविद्यालयको स्टर्न स्कुल अफ बिजनेस पुगे।
कलेजपछि केही समय उनले बहुराष्ट्रिय वित्तीय सेवा कम्पनी तथा लगानी बैंक मोर्गन स्ट्यान्लीमा काम गरे। तर उनको रूचि जागिरभन्दा व्यवसायमा थियो।
त्यसैले २१ वर्षकै उमेरमा विशाल उद्यममा लागे।
उनले विद्यार्थीलाई अनलाइन ऋण उपलब्ध गराउने 'माई रिच अंकल' नामक कम्पनी खोले। त्यो कम्पनी सेयर बजारसम्म पुग्यो। तर सन् २००८ को आर्थिक संकटपछि टिक्न सकेन।
विशाल पछि हटेनन्, फेरि अर्को व्यवसायमा लागे।
त्यही क्रममा उनले अमेरिकी घर कर्जाको झन्झटिलो प्रक्रियामा अवसर देखे। घर किन्न खोज्ने मानिस बैंक धाउने, कागजपत्र बुझाउने र लामो समय कुर्नुपर्ने प्रक्रिया प्रविधिमार्फत सरल बनाउने सोचबाट 'बेटर डटकम' जन्मियो।
उनले सोचेझैं व्यवसाय तीव्र गतिमा बढ्यो। सफ्टबैंक र गोल्डम्यान स्याक्सजस्ता ठूला लगानीकर्ता विशालको कम्पनीमा जोडिए।
सन् २०२० मा कोरोना महामारीले बेटरलाई झन् माथि पुर्यायो।
त्यो बेला अमेरिकामा बैंकको ऋण ब्याजदर निकै तल झर्यो। सस्तो ब्याजमा घर कर्जा लिने र पुरानो ऋण पुनः वित्तीयकरण गर्न चाहने मानिसको संख्या ह्वात्तै बढ्यो।
बेटरलाई भ्याइनभ्याइ भयो। सेवाग्राही धान्न उसले ठूलो संख्यामा कर्मचारी भर्ती गर्यो।
सन् २०२१ मा कम्पनीलाई अमेरिकी सेयर बजारमा लैजाने सम्झौता हुँदा बेटरको मूल्यांकन ७ अर्ब ७० करोड डलरसम्म गरिएको थियो।
तर त्यही सम्झौताको २४ घन्टाभित्र विशालले ९ सय कर्मचारी हटाउने निर्णय गरेका थिए।
अनि सबैतिर स्वाभाविक प्रश्न उठ्यो— यति धेरै मूल्यांकन भएको कम्पनीले भोलिपल्टै किन यति ठूलो संख्यामा कर्मचारी निकाल्यो?
मुख्य समस्या घट्दो बजारको थियो।
कोरोना महामारीका बेला अमेरिकी मोर्गेज बजार अस्वाभाविक रूपमा फस्टाएको थियो। बेटरले पनि त्यो वृद्धि लामो समय टिक्छ भन्ने हिसाबले कर्मचारी संख्या तीव्र रूपमा बढाएको थियो। तर बैंकको कर्जा ब्याजदर बढ्न थालेपछि अवस्था बदलियो। घर कर्जा पुनः वित्तीयकरण गर्ने बजार खुम्चिन थाल्यो।
बिस्तारै कम्पनीको आम्दानी घट्यो। खर्च भने ठूलो थियो।
सन् २०२२ को एउटा आन्तरिक बैठकमा विशालले पनि आफूले धेरै नै मानिस भर्ती गरेको स्वीकार गरेका थिए। आफूले हटाएकामध्ये कतिपय राम्रो काम गर्ने कर्मचारी पनि रहेको तर ती पद अब कम्पनीका लागि आवश्यक नभएको उनले बताएका थिए। त्यसैले ती ९ सय कर्मचारी 'काम नगरेर' निकालिएका थिएनन्। कम्पनीले 'धान्न नसक्ने' भएर निकालिएका थिए।
तर उनले कर्मचारी निकालेको खबर बाहिरिएसँगै संसारभर बहस भयो— कर्मचारी हटाउनैपर्ने थियो भने पनि के ९ सय मानिसलाई तीन मिनेटको सामूहिक जुम मिटिङमा यसरी निकाल्न आवश्यक थियो?
सिइओ विशालको यो कदम विवादित हुनुको अर्को कारण पनि थियो— उनको व्यवस्थापन शैली जुन यसअघि पनि विवादमा परेको थियो।
सन् २०२० मा विशालले कर्मचारीहरूलाई एउटा इमेल पठाएका थिए। त्यसमा उनले आफ्ना कर्मचारीलाई अंग्रेजीमा 'DUMB DOLPHINS' (मूर्ख/वेबकुफ डल्फिनहरू) भनेका थिए।
उनको आक्रामक भाषा र नेतृत्व शैलीबारे त कम्पनीभित्र पहिल्यै प्रश्न उठेका थिए। त्यसैले धेरैले जुमबाट गरिएको बर्खास्तीलाई एउटा क्षणिक गल्तीका रूपमा मात्र हेरेनन्। त्यसलाई उनको नेतृत्व शैलीसँग जोडेर हेरे। त्यसपछि केही वरिष्ठ कर्मचारीले पनि राजीनामा दिए।
अन्ततः विशालले माफी मागे। उनले कर्मचारी हटाउने निर्णयभन्दा त्यो कार्यान्वयन गर्ने आफ्नो तरिका गलत भएको स्वीकार गरे। कर्मचारीलाई आवश्यक सम्मान र कदर देखाउन नसकेको भन्दै क्षमा मागे।
तर विशालको माफीले विवाद थामेन। त्यसैले सन् २०२१ डिसेम्बर १० मा बेटरको बोर्डले विशाललाई तत्कालका लागि सिइओको दैनिक कामबाट अलग गर्यो। र, कम्पनीको नेतृत्व र कार्यसंस्कृतिबारे बाह्य मूल्यांकन गराउने निर्णय भयो।
धेरैलाई लाग्यो— अब विशाल कम्पनीमा फर्किँदैनन्।
तर करिब एक महिनापछि नै उनी फेरि सिइओको कुर्सीमा बसे।
विशालले आफ्नो पद त जोगाए, तर कम्पनीको संकट जोगिएन। पहिलेभन्दा झनै धेरै कर्मचारी निकालिए।
अमेरिकामा कर्जाको ब्याजदर लगातार बढ्न थाल्यो। मोर्गेज बजार खुम्चियो। सन् २०२२ मार्चमा बेटरले फेरि अमेरिका र भारतमा काम गर्ने ३ हजारभन्दा बढी कर्मचारी हटायो। त्यसपछि पनि कर्मचारी कटौती गर्ने क्रम रोकिएन।
यसरी कम्पनी ढुलमुल भइरहँदा पनि विशालले कम्पनीलाई सेयर बजारमा लैजाने योजना छाडेनन्। धेरै ढिलाइपछि सन् २०२३ अगस्टमा बेटर नास्डाक (अमेरिकी सेयर बजार) मा सूचीकृत भयो।
त्यो दिन विशालका लागि उत्सव हुनुपर्ने थियो। भयो ठीक उल्टो!
पहिलो दिनमै बेटरको सेयर मूल्य ९३.४ प्रतिशत खस्यो। कुनै बेला अर्बौं डलर मूल्यांकन भएको कम्पनीको चमक बीचमा आएका विवादका कारण लगभग हराइसकेको थियो। बेटर डटकमको बजार खस्किसकेको थियो।
यसपछि पनि विशाल कम्पनीका सिइओ रहिरहे। उनले कम्पनीको खर्च घटाए। एआई र प्रविधिमा जोड दिँदै व्यवसाय फर्काउने प्रयास गरे।
सन् २०२६ सम्म आइपुग्दा त्यसको केही परिणाम पनि देखिन थालेको थियो।
यो वर्षको दोस्रो त्रैमासमा बेटरको ऋण कारोबार ३८ प्रतिशत बढेर १ अर्ब ६७ करोड डलर पुग्यो। आम्दानी २८ प्रतिशत बढेर ५ करोड ४७ लाख डलर पुग्यो। यद्यपि कम्पनी अझै घाटामै थियो। त्यही दोस्रो त्रैमासमा खुद घाटा ३ करोड ६ लाख डलर थियो।
तर सन् अगस्ट ३ मा बेटर डटकम र विशालको जीवनमा नयाँ मोड आयो।
बेटरले घोषणा गर्यो— विशाल गर्ग अब कम्पनीको सिइओ रहने छैनन्।
बोर्ड सदस्य ड्यानियल लुइस अन्तरिम सिइओ बने। अमेरिकी धितोपत्र नियामक एसइसी (SEC) मा बुझाइएको विवरणमा विशालले तत्काल लागू हुने गरी सिइओ पद 'छाडेको' उल्लेख थियो। उनी बोर्डमा भने रहने भनिएको थियो।
सुरूमा हेर्दा यो सामान्य नेतृत्व परिवर्तनजस्तो देखियो। तर ११ दिनपछि कथा फेरियो।
अगस्ट १४ मा बोर्डले सार्वजनिक रूपमा भन्यो— विशालले स्वेच्छाले पद छाडेका होइनन्। बोर्डले उनलाई बर्खास्त गरेको हो। विशालबाहेक बोर्डका सबै सदस्यले उनलाई हटाउन सर्वसम्मत मतदान गरेका हुन्।
कारण उल्लेख गर्दा बोर्डले विशालका निर्णय र गतिविधिले उनको निर्णय क्षमता, स्वभाव र विश्वसनीयता माथि गम्भीर प्रश्न उठाएको बतायो।
बोर्डका अनुसार सन् २०२२ यता कम्पनीको सञ्चित खुद घाटा १ अर्ब ५० करोड डलरभन्दा बढी पुगेको थियो र विशालको नेतृत्वमा सेयर मूल्य ९० प्रतिशतभन्दा बढी घटेको थियो।
त्यसैले उनी अब कार्यकारी भूमिकामा बस्न उपयुक्त नभएको निष्कर्ष निकालेको बोर्डले बतायो।
यसले अर्को प्रश्न जन्मायो— अगस्ट ३ मा अमेरिकी धितोपत्र नियामक एसइसीको विवरणले विशालले पद छाडेको भनेको थियो। तर ११ दिनपछि बोर्डले उनलाई बर्खास्त गरेको भन्यो।
दुई विवरणबीचको यही विरोधाभास अहिले बेटरभित्र चलिरहेको शक्ति–संघर्षको एउटा हिस्सा बनेको छ।
यसपछि विशाल पनि चुप लागेनन्। उनले आफूलाई 'झुक्क्याइएको' बताउन थालेका छन्।
विशालका अनुसार ड्यानियल लुइस (अन्तरिम सिइओ) केही महिनादेखि कम्पनीसँग नजिक भएर काम गरिरहेका थिए।
यही साल जुलाई २७ मा उनी बेटरको बोर्डमा आए। त्यसको एक सातापछि नै विशाल सिइओबाट बाहिरिए र ड्यानियल अन्तरिम सिइओ बने।
सिएनएन अखबारसँग कुरा गर्दै विशालले ड्यानियलबारे भनेका छन् — उसले मलाई झुक्क्यायो! ड्यानियलले पहिले कम्पनीको रणनीतिको प्रशंसा गरेर विश्वास जित्यो र पछि मलाई हटाउने पक्षमा उभियो।
आफूले खडा गरेको कम्पनीबाट आफैलाई हटाएपछि विशाल चुप लागेर बसेका छैनन्। उनी बेटरमा फर्किन चाहन्छन् र अहिले प्रत्याक्रमणमै ओर्लिएका छन्। आफूलाई हटाउने बेटरको वर्तमान बोर्ड नै बदल्न लागेका छन्।
विशालले बेटरको बहुमत मतदान अधिकार प्रतिनिधित्व गर्ने सेयरधनीको समर्थन आफूसँग रहेको दाबी गरेका छन्। उनले चर्चित अमेरिकी वकिल एलेक्स स्पाइरोलाई आफ्नो पक्षमा ल्याएका छन्।
उनको प्रस्ताव छ— बोर्ड पुनर्गठन गर्ने, आफू फेरि कम्पनी चलाउन फर्किने र कम्पनी नाफामा नजाँदासम्म एक डलर तलबमा काम गर्ने।
उनले व्यक्तिगत रूपमा थप ५० लाख डलर लगानी गर्ने र पछि स्थायी सिइओ खोज्न स्वतन्त्र प्रक्रिया सुरू गर्ने प्रस्ताव पनि अघि सारेका छन्।
यी विशाल पक्षका दाबी र प्रस्ताव हुन्। कम्पनीको नियन्त्रण कसले लिन्छ भन्ने लडाइँ अझै टुंगिएको छैन। बोर्डले भने विशालको नेतृत्वमा कम्पनीले ठूलो मूल्य चुकाउनुपरको भन्दै उनलाई फेरि नियन्त्रण दिन नहुने अडान लिएको छ।
त्यसैले विशाल गर्गको कथा अझै सकिएको छैन।
आज विशाल लगभग त्यही ठाउँमा छन्, जहाँ पाँच वर्षअघि बेटरका कर्मचारी क्रिश्चियन च्यापम्यान सहित ९ सय कर्मचारी थिए।
त्यो बेला ती कर्मचारीलाई जागिरबाट निकाल्ने शक्ति विशालसँग थियो। अहिले शक्ति बेटरको बोर्डसँग छ र जागिर गुमाउने ठाउँमा विशाल छन्।
यसका बाबजुद विशाल हारेका छैनन्, पछि हटेका छैनन्।
किनभने विशाल त्यो दिनका ९ सय कर्मचारी जस्तो चुपचाप बाहिरिनुपर्ने बाध्यतामा छैनन्। कम्पनीका संस्थापक उनीसँग आफूलाई हटाउने बोर्ड नै हटाउने शक्ति हुन सक्छ।
त्यसैले उनी अहिले आफ्नो सिइओको कुर्सी मात्र होइन, आफूले बनाएको कम्पनीमाथिको नियन्त्रण नै फिर्ता लिन लडिरहेका छन्।