जसले व्यवसाय हुर्काए
पफको बजारमा 'खजुरीको' ले ठूलो हिस्सा ओगटेको छ। चार दशकदेखि खजुरीको हामी नेपालीको चियाको साथी बनिरहेको छ।
आज बजारमा पफ, बिस्कुट, कुकिज, नुडल्स, स्न्याक्स लगायत उत्पादन पठाइरहेको खजुरीकोको यात्रा एउटा सानो बेकरीबाट सुरू भएको हो।
यो व्यवसायले उत्पादन, बजार विस्तार, आगलागी, लगानीको अभाव र प्रतिस्पर्धाजस्ता चुनौती पार गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।
खजुरीको नेपालका प्रबन्ध निर्देशक जगन्नाथ महर्जनका अनुसार यसको अनौपचारिक सुरूआत २०४१ सालमा भएको थियो। बुबाले सुरू गरेको घरेलु व्यवसाय पारिवारिक प्रकृतिको थियो।
'घरमै ब्रेड, केक र कुकीज जस्ता बेकरी उत्पादन बनाउँथ्यौं,' जगन्नाथले भने, 'हाम्रो काम ती सामान चिया पसलमा पुर्याउने हुन्थ्यो।'
२०५२/५३ सालतिर खजुरीको ब्रान्डका रूपमा उत्पादनलाई औपचारिक रूपमा विस्तार गरियो।
खजुरीकोको बजारमा पहिलो बलियो पहिचान पफले नै बनायो।
२०६५ सालसम्म खजुरीको पाउरोटीको बजार पनि राम्रो थियो। तर कारखानामा ठूलो आगलागी भयो। पुनः स्थापना गर्न समय लाग्यो। त्यही बेला कम्पनी पफ तथा कुकिजतर्फ अघि बढ्यो।
खजुरीकोलाई उद्योगका रूपमा विस्तार गर्ने क्रममा लगानी जुटाउनु चुनौती थियो। त्यस बेला अहिलेको जस्तो सहज बैंकिङ सुविधा थिएन।
जगन्नाथ व्यवसाय विस्तारका लागि १७ लाख रूपैयाँको परियोजना बनाएर विभिन्न बैंक धाए। कुनै पनि बैंकबाट लगानीका लागि सकारात्मक प्रतिक्रिया पाएनन्।
'अन्ततः इन्डोस्वेज बैंकले लगानी गर्ने प्रतिबद्धता दियो। हामीले १७ लाख प्रस्ताव गरेको, बैंकको नीति २५ लाखभन्दा कम लगानी नगर्ने रहेछ। बढी कर्जा पाउँदा हामी झनै खुसी भयौं,' उनले सुनाए।
बैंकबाट कर्जा लिने बित्तिक्कै उनीहरूले भारतबाट आवश्यक मेसिन मगाए। लगानीबाट पफ, कुकिज लगायत उत्पादनलाई उद्योगको रूपमा विस्तार गर्ने आधार तयार भयो।
खजुरीकोको विस्तारमा प्याकेजिङले पनि भूमिका खेलेको जगन्नाथ बताउँछन्।
त्यस बेला पाउरोटी सामान्यतः एक प्रकारको कागजमा प्याक गरिन्थ्यो। तर नयाँ मेसिनबाट उत्पादित पाउरोटीको गुणस्तर र फिनिसिङ उपभोक्ताले प्रत्यक्ष देख्न सकून् भनेर उनीहरूले पारदर्शी प्याकेजिङ प्रयोग गरे।
'नयाँ प्याकेजिङ ग्राहकले एकदमै रूचाए। त्यसले बजारमा राम्रो प्रतिक्रिया पायो। उत्पादनको माग बढेपछि कारखाना २४ घन्टा सञ्चालन गर्यौं,' उनले भने।
सुरूआतमा ललितपुरका चापागाउँ, ठेचो, सुनाकोठी लगायत क्षेत्रमा साइकलमा हालेर उनीहरू सामान पुर्याउन जान्थे। बिस्तारै काठमाडौं र भक्तपुर हुँदै बजार विस्तार भयो।
पफको म्याद दुईदेखि चार महिनासम्म बनाउन सफल भएपछि काठमाडौं उपत्यकाबाहिर पनि उत्पादन पठाउन सम्भव भएको जगन्नाथले जानकारी दिए।
'बजार विस्तार गर्न अहिले जस्तो सहज थिएन। म आफै विभिन्न सहर पुगेर पसल–पसलमा उत्पादनको नमूना बाँड्थेँ,' उनले भने।
बुटवल, चितवन, विराटनगर हुँदै धनकुटासम्म नमूना दिन पुगेको सम्झना उनलाई अहिले पनि छ।
खजुरीकोको उत्पादन अरूभन्दा अलि महँगो देखिए पनि गुणस्तर, स्वाद र प्याकेजिङका कारण उपभोक्ताले स्वीकार गरेको उनलाई लाग्छ।
यसरी अहिले खजुरीकोका उत्पादन ७७ वटै जिल्लामा पुगेका छन्। युरोप, अमेरिका र अस्ट्रेलिया लगायतका अन्तर्राष्ट्रिय बजारमा पनि पाइने उनले बताए।
पाउरोटी र पफसँगै कुकिजले पनि बजारमा राम्रो प्रतिक्रिया पायो।
'माग धान्न उत्पादन क्षमता नै नपुग्ने अवस्था आएपछि उद्योग अझै विस्तार गर्यौं,' जगन्नाथले भने।
खजुरीकोले यसबाहेक स्टिक नुडल्स, दालमोठ, पिनट्स, कोको, कफी ह्वाइटनर पनि उत्पादन गर्छ। तर सबभन्दा धेरै पफ र बिस्कुट नै उत्पादन हुन्छ।
उपभोक्ताको बदलिँदो स्वाद अनुसार केही नयाँ उत्पादन थपिए पनि गुणस्तर र स्वादमा एकरूपता कायम राख्नु खजुरीकोको प्राथमिकता रहेको उनले बताए।
उत्पादन बजारमा पुर्याउनेसँगै खजुरीकोले पछिल्लो समय आफ्नै पसल पनि विस्तार गरेको छ।
करिब चार वर्षअघि पहिलो पसल खोलेको खजुरीकोका अहिले काठमाडौं उपत्यकामा २१ वटा पसल छन्। यीमध्ये ललितपुरमा १३, भक्तपुरमा चार र काठमाडौंमा चार वटा छन्।
व्यवसाय विस्तारसँगै चुनौती पनि आउँछन्। खजुरीको पनि अलग छैन। व्यवसाय सुरू गर्न दर्ता प्रक्रिया, लगानी जुटाउने, बैंकिङ, प्रविधि र उत्पादनका लागि आवश्यक कच्चा पदार्थ व्यवस्थापनसम्म चुनौती भएको जगन्नाथ बताउँछन्।
'तर नेपालमा व्यवसायको अवसर पनि उत्तिकै छ। सानो बजार भएकाले नयाँ उत्पादन छिटो उपभोक्तासम्म पुर्याउन सकिन्छ। प्रविधि तथा सामाजिक सञ्जाल प्रयोगबाट विस्तार गर्न सकिन्छ,' उनले भने, 'पछिल्लो समय धेरै देशमा नेपाली पुगेका छन्। त्यसले गर्दा बाहिर पठाउन पनि सजिलो भएको छ।'
अब खजुरीकोको लक्ष्य उत्पादन क्षमता बढाउँदै विदेशको बढ्दो माग सम्बोधन गर्नु हो। सँगै पसल विस्तार गर्दै लैजानु हो।
'आगामी दिनमा उत्पादन क्षमता, नयाँ पुस्ताको ज्ञान र बदलिँदो बजारलाई जोडेर अघि बढ्ने योजना छ,' जगन्नाथले भने।
खजुरीको कसरी जन्मियो, कसरी हुर्कियो र कसरी यति ठूलो उद्योग बन्यो— सुन्नुहोस् झन्डै तीन दशक लामो यात्रा कथा सञ्चालक जगन्नाथ महर्जनबाट।