चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ।
त्यस्तै अर्थतन्त्रको आकार ६६ खर्ब रूपैयाँ बराबरको पुग्ने आकलन राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ।
सरकारले चालु वर्षको लागि ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण गरेकोमा विभिन्न प्रतिकूल परिस्थिका बाबजुद २.२ प्रतिशत विन्दुले न्यून आर्थिक वृद्धिको प्रक्षेपण गरिएको हो।
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको ८ महिनाको यथार्थ तथ्यांक र आगामी चार महिनामा अनुमानित तथ्यांकको आधारमा यो आर्थिक वृद्धिदर हासिल हुने अनुमान निकालेको हो।
यद्यपि एसियाली विकास बैंकले २.३ र विश्व बैंकले २.७ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेका थिए।
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर गत वर्षको वृद्धिदरको तुलनामा ०.५८ प्रतिशतले कम हुने देखिन्छ।
विगत एक दशकको औसत वृद्धिदरको तुलनामा पनि कम हुने अनुमान गरिएको छ।
पछिल्लो एक दशकको उपभोक्ता मूल्यको आधारमा ४.१९ प्रतिशतको आर्थिक वृद्धिदर छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकअनुसार नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रूपैयाँ रहेकोमा यस वर्ष करिब चार खर्ब एक अर्ब रूपैयाँले वृद्धि भएको देखिएको हो।
आर्थिक परिसूचकहरूमा प्रतिव्यक्ति आयको अवस्थालाई महत्वका साथ हेरिन्छ।
तथ्यांकअनुसार यस वर्ष प्रतिव्यक्ति आय १ हजार ५१३ अमेरिकी डलर पुग्ने अनुमान छ।
अघिल्लो वर्ष यो १ हजार ५१६ डलर रहेको थियो। डलरको सटही दरमा भएको उच्च वृद्धिका कारण नेपाली मुद्रामा आय बढेको देखिए पनि अमेरिकी डलरमा मापन गर्दा प्रतिव्यक्ति आयमा झिनो गिरावट आएको हो।
यस्तै, प्रतिव्यक्ति कुल राष्ट्रिय आय (मुलुकभित्रको उत्पादनमा विदेशबाट प्राप्त हुने खुद आम्दानी समेत जोडेर निकालिने औसत आय) १ हजार ५३५ अमेरिकी डलर पुग्ने अनुमान छ।
नेपालीहरूको वास्तविक खर्च गर्ने क्षमतालाई दर्शाउने प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय (राष्ट्रिय आय रेमिटेन्स र विदेशबाट प्राप्त हुने अनुदान जस्ता रकमहरू समेत जोडेर प्राप्त हुने औसत खर्च गर्न योग्य रकम) भने अघिल्लो वर्षको तुलनामा बढेर २ हजार ४४ अमेरिकी डलर पुगेको छ।
डलरको मूल्य उच्च भए तापनि वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण (विदेशी श्रम बजारमा काम गर्ने नेपालीले स्वदेश पठाएको पैसा) मा भएको उल्लेख्य वृद्धिका कारण नेपालीहरूको खर्च गर्ने क्षमता बलियो देखिएको छ।
अर्थतन्त्रमा सेवा क्षेत्रको दबदबा कायम रहेको देखिन्छ।
यस वर्ष प्राथमिक क्षेत्र (कृषि, वन र खानी जस्ता प्राकृतिक स्रोतमा आधारित क्षेत्र) ले कुल गार्हस्थ्य उत्पादनमा २४.५ प्रतिशत योगदान पुऱ्याउने अनुमान छ।
अघिल्लो वर्ष यस क्षेत्रको योगदान २५ प्रतिशत रहेकोमा यस वर्ष केही खुम्चिएको देखिन्छ।
द्वितीय क्षेत्र (उद्योग, विद्युत र निर्माण जस्ता कच्चा पदार्थ प्रशोधन गरी नयाँ वस्तु बनाउने क्षेत्र) को योगदान १३.७ प्रतिशत रहने देखिएको छ।
अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा ओगट्ने सेवा क्षेत्र (व्यापार, बैंक, पर्यटन, शिक्षा र स्वास्थ्य जस्ता सेवामूलक कार्य) को योगदान ६१.८ प्रतिशत रहने प्रारम्भिक अनुमान छ।
यस वर्षको तथ्यांकमा सबैभन्दा उत्साहजनक वृद्धि विद्युत तथा ग्यास क्षेत्रमा देखिएको छ।
नयाँ जलविद्युत आयोजनाहरूबाट व्यावसायिक उत्पादन सुरू हुनु, प्रसारण लाइनको विस्तार हुनु र आन्तरिक खपतमा भएको वृद्धिका कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २०.९३ प्रतिशत पुग्ने अनुमान राष्ट्रिय तथयांक कार्यालयले गरेको छ।
त्यस्तै, वित्तीय तथा बीमा क्षेत्रमा पनि ९.१६ प्रतिशतको राम्रो वृद्धि हुने देखिएको छ।
अर्थतन्त्र मापन गर्ने १८ वटा सूचकहरू मध्ये १८ वटै सूचकमा नै धनात्मक देखिएको छ।
तर सबैभन्दा ठूलो चुनौती कृषि क्षेत्रमा देखिएको छ।
नेपालको ठूलो जनसंख्या आश्रित रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर मात्र १.५८ प्रतिशतमा सीमित हुने देखिएको छ।
मुख्य बाली धानको उत्पादनमा ४.१६ प्रतिशतले गिरावट आउनु र अन्य केही हिउँदे बालीको उत्पादनमा पनि न्यून वृद्धि हुनुले यो क्षेत्र समस्यामा परेको देखिन्छ।
यसले एकातिर खाद्य सुरक्षा र ग्रामीण क्षेत्रको आयमा समेत प्रत्यक्ष असर पार्ने जोखिम देखाएको छ।
निर्माण र औद्योगिक उत्पादनमा देखिएको सुस्तता हो। निर्माण क्षेत्रको वृद्धिदर मात्र २.२१ प्रतिशत रहने अनुमान गरिएको छ।
सरकारी क्षेत्रबाट हुने पुँजीगत खर्चमा उल्लेख्य वृद्धि हुन नसक्दा सिमेन्ट, फलाम र डण्डी जस्ता निर्माणजन्य उद्योगहरूले पूर्ण क्षमतामा काम गर्न नसकेको प्रभाव देखिएको छ।
यद्यपि, उद्योग क्षेत्रमा सिमेन्ट र केही खाद्य वस्तुको उत्पादनमा सुधार आउँदा वृद्धिदर २.८३ प्रतिशत पुग्ने अनुमान छ।
९० प्रतिशत उपभोग खर्च
हाम्रो उपभोगमुखी प्रवृत्ति बढेको देखाएको छ।
नेपालको अन्तिम उपभोग खर्च (व्यक्तिगत वा सरकारी स्तरमा वस्तु तथा सेवाको प्रयोगमा गरिने कुल खर्च) कुल गार्हस्थ्य उत्पादनको ९०.२९ प्रतिशत पुग्ने अनुमान छ।
हामीले कमाएको १०० रूपैयाँमा ९० रूपैयाँभन्दा बढी उपभोगमै सकिने लेखा तथ्यांकले देखाएको छ।
यस वर्ष अर्थतन्त्रमा आयातको हिस्सा ३४.५२ प्रतिशत पुग्ने अनुमान छ भने निर्यातको हिस्सा केवल ९.९७ प्रतिशतमा खुम्चिएको छ।
कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको हिस्सा ३३.०२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।