बिहिबार थारू जातिले आफ्नो मुख्य पर्व माघी काठमाडौं लगायत देशभर विविध कार्यक्रम गरि मनाएका छन्।
हरेक वर्ष माघको पहिलो दिन थारू जातिले माघी पर्व मनाउने गर्छन्। यस वर्ष पनि काठमाडौंलगायत थारूहरूको बहुल्यता भएको विभिन्न ठाउँमा माघी पर्व मनाईएको छ। अघिल्ला वर्षमा काठमाडौंलगायत विभिन्न ठाउँमा औपचारिक कार्यक्रम गरी धुमधाम र हर्सोल्लासका साथ माघी मनाईने गरिएको थियो।
यसपाली भने कोभिड १९ संक्रमणका कारण देशभर सानो समूहमा अथवा परिवार भित्र मात्रै माघी पर्व मनाईएको छ।
माघीमा मिठो मिठो परिकारहरू बनाएर खाने प्रचलन छ। यस पर्वमा मौलिक परिकारहरू चिचर (भत्कुन), सितुवा, घुगी, हाँसको मासुलगायतका परिकारहरु बनाएर खाने गरिन्छ। साथै आफ्नो कला, संस्कृति झल्किने पोसाक लगाएर धुमधामसँग माघी मनाईने गरिन्छ।
माघीको दिन नुहाएर तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ। यस दिनमा नुहाएर दाल, चामल छोएर मान्यजनसँग आर्शिवाद लिने गरिन्छ।
माघीलाई एक आपसमा सम्बन्ध प्रगाढ बनाउने पर्वको रुपमा पनि लिने गरिन्छ। यस दिनमा आफ्ना चेलिवेटीहरुलाई उपचार दिने र चेलिबेटीसँगको सम्बन्धलाई सुदृढ बनाउने गरिन्छ। थारू जातिले माघी पर्वलाई नयाँ वर्षको दिनको रुपमा लिने गर्दछन् भने यस दिनदेखि नयाँ कामको शुरुवात गर्ने प्रचलन पनि रहेको छ। माघीको दिनमा गाउँ समाजको नयाँ अगुवा चुन्ने तथा घरसल्लाह गर्ने काम पनि गरिन्छ ।