ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले रसुवा भोटेकोशी बाढीबाट क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन समय लाग्ने बताएका छन्।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसदहरूका जिज्ञासाको जबाफ दिँदै उनले यस्तो बताएका हुन्।
यो आयोजनाको हेडबक्समा पूर्ण रूपमा क्षति भएकाले केही समय अझै लाग्ने बताए।
उनले बाढीका कारण त्रिशूली नदी करिडोरमा सञ्चालन रहेका केही महत्वपूर्ण जलविद्युत आयोजनाहरू तथा प्रशारण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गरे।
६० मेगावाट क्षमता रहेको त्रिशूली ए जलविद्युत आयोजना केही दिनमै सञ्चालन हुने बताए।
बाढीका कारण करिब २६० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा विच्छेद भएको जानकारी गराए।
मन्त्री खड्काले भने, ‘बाढीका कारण त्रिशूली नदी करिडोरमा सञ्चालन रहेका केही महत्वपूर्ण जलविद्युत आयोजनाहरू तथा प्रसारण संरचनामा गम्भीर क्षति पुगेको छ। जसका कारण करिब २६० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा विच्छेद भएको थियो भने सम्भावित आयोजनाहरूमा क्षति पुगेको थियो। ट्रान्समिसन लाइनका २२० केभी, १३२, १३३ केभी क्षमताको त्रिशूली ३ बी सवस्टेसन समेत प्रभावित भएको छ। क्षतिमा उल्लेख्य आयोजनाहरूमध्ये चिलिमे त्रिशुली, देवीघाट, सूर्यकुण्ड, बुद्ध भूमि, अप्पर मैलुङ लगायतका कुल ९० मेगावाट क्षमता बराबरका जलविद्युत आयोजनाहरू सञ्चालनमा ल्याइएको छ।’
उनले अगाडि भने, ‘६० मेगावाट क्षमता रहेको त्रिशुली ए जलविद्युत आयोजना केही दिनमै सञ्चालन हुने कुरा जानकारी गराउँछु। सबभन्दा बढी क्षति भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना संरचनालाई सञ्चलनमा ल्याउन केही समय लाग्नेछ। हेडबक्समा यसको पूर्ण रूपमा असर भएको छ। पूर्ण रूपले यो क्षति भएको पाइन्छ।’
मन्त्री खड्काले ट्रान्समिसन लाइनका २२० केभी, १३२, १३३ केभी क्षमताको त्रिशूली ३ बी सवस्टेसन समेत प्रभावित भएको बताए। —न्युज एजेन्सी नेपाल