बिजुली खपत गरेबापत नेपाल विद्युत प्राधिकरणलाई अनलाइन माध्यमबाट भुक्तानी गर्दा शुल्क लाग्ने भएको छ।
नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले अनलाइन भुक्तानी प्रणालीको सेवा शुल्कको सिलिङ निर्धारण गरेको हो।
प्राधिकरणले ५०१ रुपैयाँभन्दा धेरै शुल्क भुक्तानी गर्ने ग्राहकलाई अधिकतम पाँच रुपैयाँ भुक्तानी शुल्क लाग्ने व्यवस्था गरेको छ। महिनामा पाँच सयसम्म शुल्क तिर्नेलाई भने नि:शुल्क हुने छ।
भुक्तानी सेवा दिन योग्य भएका भुक्तानी सेवा प्रदायकहरुले प्राधिकरणको यही निर्णयको आधारमा शुल्क लगाउनुपर्ने छ।
प्राधिकरणका प्रवक्ता मदन तिम्सिना भने नेपाल राष्ट्र बैंककै व्यवस्थामा भुक्तानी सेवाप्रदायकले सेवा शुल्क लिने व्यवस्था भएको र आफूहरुले त्यसलाई निश्चित सिलिङ तोक्ने काम मात्र गरेको बताउँछन्।
प्राधिकरणले शुल्क भुक्तानीका लागि सेवा दिन इच्छुक सेवा प्रदायकलाई आवेदन दिन आव्हान गरिसकेको छ। अब नयाँ आउने सेवाप्रदायक तथा पुरानाका लागि पनि यही व्यवस्था लागू हुने छ।
प्राधिकरणको नियमअनुसार कुनै पनि सेवाप्रदायकले एक महिनाभित्र पटक–पटक भुक्तानी गरेमा एकपटक मात्र शुल्क लगाउनसक्ने छ। महिनामा एकपटकभन्दा बढी शुल्क लगाउन पाइने छैन।
सेवाप्रदायकहरुले भुक्तानीको गुनासो सुन्ने व्यवस्था गर्नुपर्ने लगायतका शर्तहरु निर्धारण गरेको छ। 'हामीले तोकेका यी शर्तहरु पूरा गर्नेले मात्र यस्तो सेवा दिन पाउने छन्' प्रवक्ता तिम्सिनाले सेतोपाटीसँग भने।