भोटेकोशी–त्रिशूलीमा आएको बाढीपछि रसुवागढी नाका हुँदै मानसरोवर यात्रामा रहेका केही नेपाली नागरिकका परिवारले आफन्तहरू सम्पर्कविहीन भएको बताएका छन्।
विशेषगरी भदौ १० गते मानसरोवरतर्फ जाने क्रममा रहेका केही आफन्तसँग सम्पर्क हुन नसकेको भन्दै परिवारका सदस्यहरू खोजीमा छन्।
रसुवागढीको यो नाका हुँदै चीन तथा मानसरोवर गएका सबै यात्रु सम्पर्कविहीन भएका वा जोखिममा परेका भने होइनन्।
अध्यागमन कार्यालयको तथ्यांक अनुसार भदौ ५ देखि १० गतेसम्म रसुवागढी नाकाबाट २८३५ जना चीनतर्फ गएका थिए। त्यसमध्ये ९९६ नेपाली र १८३९ विदेशी थिए। त्यस्तै १५३७ जना नेपाल आए जसमा ३२४ नेपाली र १ हजार २१३ विदेशी थिए।
♦ भदौ ५ गते ५४१ जना चीनतर्फ गएका थिए। तीमध्ये ९७ नेपाली र ४४४ विदेशी थिए। सो दिन १८७ जना नेपाल फर्किएका थिए। फर्किनेमा २७ नेपाली र १६० विदेशी थिए।
♦ भदौ ६ गते ४९१ जना चीनतर्फ प्रस्थान गरे। तीमध्ये १४० नेपाली र ३५१ विदेशी थिए। सो दिन २४० जना नेपाल फर्किए। फर्किनेमा ८० नेपाली र १६० विदेशी थिए।
♦ भदौ ७ गते चीनतर्फ जानेको संख्या ३३५ थियो। तीमध्ये १०९ नेपाली र २२६ विदेशी थिए। सो दिन ४२२ जना नेपाल फर्किए। फर्किनेमा ८० नेपाली र ३४२ विदेशी थिए।
♦ भदौ ८ गते संख्या ह्वात्तै बढेको थियो। सो दिन ८६९ जना चीनतर्फ गएका थिए। तीमध्ये ४५३ नेपाली र ४१६ विदेशी थिए। त्यस्तै, ४३३ जना नेपाल फर्किएका थिए। फर्किनेमा ७१ नेपाली र ३६२ विदेशी थिए।
♦ भदौ ९ गते ५१० जना चीनतर्फ गए। तीमध्ये १६५ नेपाली र ३४५ विदेशी थिए। सो दिन २५१ जना नेपाल फर्किए। फर्किनेमा ६३ नेपाली र १८८ विदेशी थिए।
♦ बिहानै बाढी आएको दिन, भदौ १० गते आवतजावत निकै घटेको देखिन्छ। सो दिन ८९ जना चीनतर्फ गएका थिए। तीमध्ये ३२ नेपाली र ५७ विदेशी थिए। नेपाल फर्किनेको संख्या भने चार मात्रै थियो। तीमध्ये तीन नेपाली र एक विदेशी थिए।
चीन जाने यात्रुले पछिल्ला वर्षमा रसुवागढी नाका बढी प्रयोग गर्न थालेका छन्। अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार यो नाकाबाट नेपाल प्रवेश गर्नेको संख्या पनि उल्लेख्य रूपमा बढेको छ।
सन् २०२४ मा रसुवागढी नाकाबाट १८ हजार १९१ जना नेपाल आएका थिए। तीमध्ये ५ हजार ८१४ जना नेपाली थिए।
सन् २०२५ मा १० हजार ५१६ जना आएका थिए। तीमध्ये २ हजार ९०५ जना नेपाली थिए।
सन् २०२६ को उपलब्ध अवधिसम्म ३६ हजार १०१ जना नेपाल आएका छन्। तीमध्ये ८ हजार ४४५ जना नेपाली छन्।
रसुवागढी नाकाबाट हुने सबै आवतजावत मानसरोवर यात्राका लागि मात्रै होइन। व्यापारिक प्रयोजनले, चीनका विभिन्न स्थान घुम्न जाने नेपाली र विदेशीले पनि यो नाका प्रयोग गर्छन्। चीनबाट पनि धेरै यात्रु यहाँबाट आउँछन्।
मानसरोवर यात्राका लागि रसुवागढी मुख्य नाकामध्ये एक हो। गाडीबाट यात्रा गर्न सहज र तुलनात्मक रूपमा कम खर्चिलो हुने भएकाले ट्रेकिङ तथा भ्रमण व्यवसायीले यात्रुलाई यहाँबाट लैजान्छन्।
कोरोनापछि भारतीय पर्यटकका लागि कैलाश–मानसरोवर यात्रा लामो समय बन्द रह्यो। यसअघि भारतीयसहित केही नेपाली यात्रुले हिल्सा नाका पनि प्रयोग गर्दै आएका थिए। अहिले हिल्सा नाकाबाट नेपालीको आवतजावत फाट्टफुट्ट मात्रै हुन्छ।
रसुवागढी हुँदै मानसरोवर जाने यात्राको सुरूवात काठमाडौं वा अन्य स्थानबाट हुन्छ। पहिलो दिन गाडीमार्फत रसुवाको स्याफ्रुबेँसी पुगिन्छ। दोस्रो दिन अध्यागमनको प्रक्रिया पूरा गरेर रसुवागढी नाका हुँदै केरूङ बजार पुगिन्छ।
तेस्रो दिन केरूङबाट सागा पुगिन्छ। चौथो दिन कैलाश–मानसरोवर क्षेत्रतर्फ यात्रा हुन्छ। पाँचौं दिन दार्चेन पुगिन्छ। छैटौं दिन दार्चेनबाट देरापुकतर्फ यात्रा हुन्छ। सातौं दिन जुजुलपुक हुँदै यात्रा गरिन्छ। आठौं दिन फेरि दार्चेन पुगेर त्यही दिन सागासम्म आइपुग्ने तालिका हुन्छ।
नवौं दिन सागाबाट केरूङ पुगिन्छ। त्यसपछि केरूङ हुँदै नेपाल फर्किने क्रममा करिब दस दिनमा यात्रा पूरा गर्न सकिने ट्रेकिङ व्यवसायीहरू बताउँछन्।
यसरी हेर्दा भदौ ५ देखि १० गतेसम्म रसुवागढी नाकाबाट ठूलो संख्यामा यात्रु चीनतर्फ गएका थिए। यही अवधिमा रसुवा क्षेत्रमा बाढीको असरसमेत देखिएको थियो। त्यस कारण केही यात्रुसँग परिवारको सम्पर्क टुटेको गुनासो आएको अनुमान छ।
त्यसैले सो अवधिमा नाकाबाट आवतजावत गरेका सबै यात्रु हराएका वा जोखिममा परेका भन्ने अर्थ लाग्दैन। मानसरोवर यात्रा अवधि लामो भएकाले भदौ ५ देखि १० गतेबीच गएका सबै यात्रु सोही अवधिमा नेपाल फर्किसक्ने अवस्था पनि हुँदैन।