बुद्ध एयरले वेबसाइट तथा मोबाइल एपमार्फत टिकट खरिद गर्ने यात्रुलाई तीन सय रूपैयाँ छुट दिने भएको छ। भोटेकोशी क्षेत्रमा गएको बाढी–पहिरोका कारण उत्पन्न विषम परिस्थितिमा राहत सामग्रीको हवाई ढुवानीसमेत निःशुल्क गर्ने कम्पनीले जनाएको छ।
भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोबाट भएको जनधनको क्षतिप्रति गम्भीर रहेको जनाउँदै बुद्ध एयरले आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको स्पष्ट पारेको छ।
कम्पनीले यात्रुलाई टिकट खरिद गर्नुअघि आफ्नो वेबसाइट वा मोबाइल एपमार्फत हवाई भाडादर हेर्न आग्रह गरेको छ। वेबसाइट तथा मोबाइल एपमा पहिलेकै जस्तो सहज र सुलभ भाडादर उपलब्ध रहेको कम्पनीको भनाइ छ।
बुद्ध एयरले भैरहवा, पोखरा र भरतपुरका लागि नियमित अतिरिक्त उडानसमेत सञ्चालन गरिरहेको जनाएको छ।
त्यस्तै, राहत सामग्री संकलन तथा हवाई ढुवानीका लागि गृह मन्त्रालयको निर्णयअनुसार निःशुल्क व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
बाटोघाटो सहज नभएसम्म हाल कायम भाडादर नै लागू हुने बुद्ध एयरले जनाएको छ।
वर्तमान विषम परिस्थितिमा जस्तोसुकै व्यावसायिक चुनौती आए पनि यात्रुलाई सहज र सुलभ भाडादरमा सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।
बुद्ध एयरले कतैबाट अत्यधिक महँगोमा टिकट बिक्री भइरहेको जानकारी पाएमा कम्पनीलाई सूचित गर्न यात्रु तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
त्यस्ता गतिविधिविरुद्ध नियमानुसार आवश्यक तथा कडा कदम चाल्ने कम्पनीले जनाएको छ।