वर्षौंसम्म पनि
ऊ मेरो यादमा जीवितै थियो
मैले वर्षौंसम्म ऊ आउने बाटोभरि
आँखाको बिस्कुन फिजाएँ
मन्दिरहरूमा भाकल चढाएँ
र, खोजी मागे हराएको मेरो मुटुको टुक्रा
आफ्नासँग
देउतासँग
गाउँ छोडेर परदेश जानेसँग
परदेशबाट गाउँ फर्कंनेसँग
जंगल जानेसँग
जंगलबाट फर्कंनेसँग
मैले हातमा शक्ति हुनेसँग पनि अनुनय गरें
हातमा शक्ति लिनेहरूसँग पनि विनय गरें
मलाई झल्झल्ती सम्झना छ
ऊ मेरो गाला नचाउरिँदै
मजस्ताको ओठमा मुस्कान भर्न भनेर निस्केको थियो
खै कसरी ठान्यो उसले?
नालबाट निस्कने आवाजले
तरबारको बोलीले
ठीक गर्ने छ सबैथोक
मानौं त्यो नालसँग छ
भोकको ओखती
बिरामको ओखती
गरिबीको, अशिक्षाको ओखती
असमानताको, आत्मसम्मानको ओखती
रोटी र रोजगारीको ओखती
मैले सुने
भोक निमिट्यान्न पार्न गएका उनीहरू
भोकसँगै लड्दै कैयौं रात सुते रे
रगतमा लट्पतिएको उनीहरूको शरीरले
थोत्रे कपडाको पट्टी बाहेक कुनै ओखती भेटेन रे
कोही ऐया! भन्न नपाइ गए रे
कोही पानी माग्दै माग्दै गए रे
कोही साथ-साथै गए रे
कोही साथ नपाएरै गए रे
नालको युद्ध लडेका ऊजस्ता धेरैले
अक्षरको युद्ध लड्न कहिल्यै आवश्यक ठानेनन्
तरबारको युद्धमा जीत ठान्ने उनीहरू
तर्कको युद्धमा प्राय: हारेका छन्
उनीहरू अरु सामान भए कि भएनन् कुन्नि?
तर, आत्मसम्मानको लागि भिडेका उनीहरू
आत्मग्लानीमा अवश्य पिसोल्टिएका छन्
आफ्नै देशमा सुन फलाउछु भन्ने उनीहरू
अहिले सीमापारी मोती बगाउँदै छन् रे
मुटुको टुक्रा खोज्दै मन्दिरमा भाकल गर्ने
आमाका ती गाला अहिले चाउरिएका छन्
उनले हरेक रात सिरानी भिजाएर
आँखाबाट उसको तस्वीर पखालिन्
उनका यादहरूले उसलाई 'यादै' गर्न छोडे
र, ऊ विस्मृतिमै हरायो
यादहरूले ‘यादै' गर्न छोडेको ऊ
धेरैपछि टुप्लुक्क आयो
आँगन टेक्यो र माया जतायो
र, जगायो मरेका यादहरू
आज फेरि ऊ मुग्लान जाँदैछ
अब फर्कंदा ऊ खुसी लिएर फर्कंन्छ कि
बन्द बाकसमा दुः ख लुकाएर फर्केला कुन्नी?
@tdahal1