'हाई...! म तपाईंको साथी बन्न सक्छु ?'
स्त्री लिंगी नाम राखेको आइडीबाट मेसेज आएको थियो।
एसेप्ट नगरेको आइडीबाट। आइडी जस्मिना पौडेल नामको थियो। विमल एकछिन टोलाउँछ। को रहेछ ? कन्फ्युजमा पर्छ। एसेप्ट गरूँ या नगरूँ ? एकछिन वास्ता गर्दैन। उसले भुल्ने प्रयास पनि गर्छ। ऊ ड्युटीमा थियो। केही समयपछि फेरि मोबाइल खोल्छ। उसलाई खुल्दुली लाग्छ। को रहेछ साथी बन्न चाहने ? अनि उसले जवाफ पठाउन टाइप गर्छ। लेख्छ, मेट्छ। फेरि लेख्छ। फेरि मेट्छ। ह्या.. के लेखौं ? मन खेलाउँछ। लास्टमा लेख्छ।
'हेल्लो, स्योर ! किन नसक्नु ? बरू तपाईंलाई पो मैले चिनिनँ। तपाईं कहाँबाट ? अनि को पर्नुभयो होला?' लभको प्रतीक चिन्हसहितको मेसेज पठाउँछ।
'म, जस्मिना। मकवानपुरबाट। मलाई एसेप्ट गर्नुस् न ल। मैले पनि हजुरलाई चिनेको त हैन है। फेसबुकमा देखेँ। अनि मित्रता जोडुँ भनेर मात्र। हजुर कहाँबाट हो नि ?'
'म काठमाडौंमा छु। घर चाहिँ चितवन। तपाईं चाहनुहुन्छ भने म एसेप्ट गर्छु नि। हामी मित्र भयौं आजदेखि।' केटी भनेपछि हुरूक्कै हुने विमलले जवाफ पठाउँछ।
'हजुरको फेसबुक आइडीमा नाम के छ होला ? म रिक्वेस्ट सेन्ड गर्न सक्छु ?' हाँसेको इमोजीसहित सोध्छे।
'हुन्छ नि। विमल क्षेत्री सर्च गर्नु। त्यहाँ चस्मा लगाएको र दुई औंला ठाडो उठाएर हाँसिरहेको फोटो छ। भरतपुर चितवन छ एड्रेसमा। रिक्वेस्ट सेन्ड गर्नु त।'
दुबैको सहमतिले फेसबुकमा जोडिएका थिए- जस्मिना र विमल।
जस्मिना पौडेल-
मुसुक्क हाँसिरहेको सुन्दर फोटो। लिभ्स् इन- मकवानपुर डिस्ट्रिक्ट। स्टडी- प्लस टु। जब- जब लेस्। रिलेसनसीप - सिङ्गल। अनम्यारिज। इन्ट्रेस्- लुकिङ फर ट्रयू लभ.....।
विमल क्षेत्री-
चस्मा लगाएको। दुई औंला ठाडो उठाएर हाँसिरहेको फोटो। लिभ्स इन- भरतपुर चितवन। नाउ- युएई दुबई। स्टडी- विएड। बालकुमारी कलेज। जब- सेक्युरिटी अफिसर्स। मिडलइस्ट सेक्युरिटी एलएलसी दुबई।
विमल दुबईको मिडलइस्ट सेक्युरिटीमा गार्डको काम गर्थ्यो।
जस्मिनालाई काठमाडौंमा छु भनेर ढाँटेको थियो। उनलाई नजिक पार्ने बहानामा। ऊ जस्मिनाको फेसबुक प्रोफाइल र फोटो देखेर लोभिरहेको थियो।
प्रविधिको नयाँ विकास र इन्टरनेटको सुविधाले ल्याएको फाइदालाई प्रयोग गर्दा विमल र जस्मिनाबीच मित्रताको दूरी नजिकिएको थियो।
सोसल मिडिया फेसबुक, मेसेन्जर, इमो, ह्वाट्स एप र भाइबर सबैमा उनीहरू जोडिसकेका थिए। दूरीले टाढा भए पनि इन्टरनेटले सम्बन्धलाई नजिक गराएको थियो। हरेक दिन कुनै न कुनै माध्यमबाट सम्पर्कमा हुन्थे। कहिले च्याटिङ। कहिले भ्वाइस् मेसेज। धेरै जसो भिडिओ कल।
'सुनिसिओस् न, हजुर नेपाल कहिले आउनु हुने नि ?'
'नआत्तिऊ न बेबी। बल्ल त दुई महिना भको छ यहाँ आको। दुई वर्षपछि आइहाल्छु नि।'
'कहिले भेटुँ भैइरहछ आफूलाई। एक वर्षमा आउन मिल्दैन ?' अनुहार खुम्च्याउँदै उनले बोलेकी थिई।
'एक सालपछि आउँदा पनि हुन्छ के। तर टिकटको पैसा आफैं तिर्नुपर्छ। दुई वर्ष पछि आउँछु के ल। अनि बिहे पनि गर्नुपर्छ है।'
'हुन्छ.... अनि मलाई के गिफ्ट ल्याइदिसिन्छ नि ?' मुस्कुराउँदै सोधेकी थिई।
'भन न मात्र। तिम्रो लागि त ज्यानै दिन तयार छु। अझै अरू के चाहिन्छ बेबी ?'
'मलाई त....उम्.....भयो पछि नै भन्छु।'
'भन न। मुख मै आको कुरा पनि नभन्ने ?'
'यो मेरो मोबाइल घरिघरी बिग्रिराख्छ के। अस्ति हजुरले नै भनिसिएथ्यो नि, किन स्विच् अफ गरेकी भनेर।'
'बेबी मैले बुझेँ। तिमीलाई नयाँ मोबाइल चाहियो हैन त ?'
'आहा! कति बुझकारी मान्छे हजुर। मेरो मनकै कुरा गर्स्यो।'
'मेरी बेबीको मनको कुरा नबुझेर कसको बुझ्ने त मैले ? भन त कुन ब्राण्ड, कुन मोडेलको मोबाइल पठाई दिऊँ ?'
'सामसङको त चलाइसकेकी छु। त्यसबाहेक अरू।'
'ठिक छ। तिम्रो लागि आइफोन सेभेन पठाइदिन्छु हुन्न ?'
'हजुरको इच्छा। हजुर कै च्वाइस्।' ह्याप्पी मुडमा मुस्कराइकी थिई।
'यहाँबाट नेपाल आउने भरपर्दो मान्छे भेटाएमा पठाइदिन्छु ल। अहिले त्यसैले काम चलाउनू।'
'हवस्...लब्ली डियर !' उनी निकै रमाएकी थिई।
उनीहरू हरेक दिन त्यसरी नै सम्पर्कमा रहन्थे। एकले अर्कोलाई विश्वास गरेका थिए। सँगै जीवन जिउने कुरा गर्थे।
मनको हरेक कुराहरू सेयर गर्थे। विमलले साथीभाइसित पैसा सापटी लिएर गर्लफ्रेण्डलाई खुसी पार्न कै लागि नेपाल जाने मान्छेसित आइफोन पठाइदिएका थिए।
प्रत्यक्ष भेट नभए पनि अब छुट्न नसक्ने कुरा गर्थे।
भविष्यमा गर्ने सबै प्लानहरू पालो पालो सुनाउँथे। बिहे नगर्दासम्म केही साल विमलले दुबई मै काम गर्ने। पैसा बचाउने। बिहे गरेपछि चितवनमै केही व्यवसाय गरेर सँगै बस्ने योजना बनाउँछन्।
जस्मिनाको कुराहरू नाइँ भन्न नसक्ने भैसकेको हुन्छ विमल। उनीहरूकै भविष्यको लागि जस्मिनाले राम्रा राम्रा प्लान बनाएर सुनाएकी हुन्छे।
बिहे नभए पनि उनीहरू बुढा र बुढी भनेर बोल्न अप्ठ्यारो मान्दैनन्। मेसेन्जरमा च्याटिङ गर्दा लेखेका थिए -
'हाइ..बुढी! के छ तिम्रो हालखबर ? धेरै मिस गरेको छु।'
'हेल्लो...मेरो बुढो! म ठिक छु। हजुरको प्यारले जिएकी छु। बरू हजुरलाई कस्तो छ ? कतिको गर्मी छ ? हजुरलाई केही नहोस्। हजुरकै चिन्ता लाग्छ मलाई।
'बुढी...कति चिन्ता गर्छौ ? मलाई केही हुँदैन। म ठिक छु। मेरो चिन्ता नगर न। बरू आफ्नो पढाइको पनि ख्याल गर ल।'
'बुढो... हजुरसँग एउटा कुरा गर्न मन थियो।' सोच मग्न स्टिकरसहितको मेसेज पठाउँछे।'
'भन न बुढी! के होला ?'
'हजुरले कति दु:ख गरेर काम गरिसिन्छ। तलब आएपछि घरमा पठाइसिन्छ। घरमा पठाएपछि बालुवामा पानी हालेजस्तै। बरू यसो गर्न मिल्दैन। घरतिर कहिलेकाहीँ पठाइसियो। अरू मेरो नाममा पठाइसियो न। मैले बैंकमा सेभ गरेर राख्छु। आखिर हामी बिहे गरेपछि व्यवसाय चलाउन त्यही पैसा काम लाग्छ।'
'हेर बुढी..... घर व्यवहारको लागि मैले घरमा पैसा नपठाइ हुँदैन। बहिनी स्कुल पढ्दैछे। उम्.... तिम्रो कुरा पनि ठिक छ। हाम्रै भविष्यको लागि भनेकी छौ। विचार गरेर म पछि भन्छु ल।'
'हजुरको विचार...! मेरो विश्वास लाग्छ भने... र फ्युचरको लागि सोच्नुहुन्छ भने, हुन्छ भन्ने आश गरेकी छु।' आशावादी स्टिकरसहितको मेसेज पठाउँछे।
'बुढी....म काममा छु। पछि च्याट गरुँम्ला ल। बाई बेबी। मिस् यु। किस् यु......।'
हात हल्लाइरहेको इमोजी। र केटा र केटी किस गर्दै गरेको इमोजीसँगै पठाउँछ।
'बाई...बुढो। अलवेज मिसिङ यु टू...!' लभ स्टिकरसहित मेसेज पठाउँछे। त्यसपछि मेसेजको ग्रिन सिग्नल अनसिन हुन्छ।
अर्को दिन भिडिओ कलमा जस्मिनाले उनले भनेको कुरा सोध्छे। पैसा कमाउनु मात्र ठूलो कुरो होइन। बचत ठूलो कुरा हो भनेर सम्झाउँछे। विमललाई उसको कुरा जायज लाग्छ। ऊ जस्मिनाकै नाममा पैसा पठाउन राजी हुन्छ। त्यसपछिका दिनहरूमा घरतिर बाआमासँग बहानाबाजी गर्न थाल्छ। कहिले राम्रोसित काम चलेको छैन। कहिले बिरामी भएर अस्पतालमा खर्च भयो। कहिले साथीहरूलाई सापटी दिएको उनीहरूले फिर्ता गरेका छैनन्। यस्तै यस्तै.......!
तर पैसा भने हरेक महिना तलब आएपछि जस्मिनाको नाममा ट्रान्सफर गरेको हुन्छ।
आफ्नो योजनानुसार विमलले पैसा पठाई राखेको जस्मिना मख्ख हुन्छिन्। जस्मिना जस्ती राम्री युवतीको साथ पाएकोमा विमल पनि मख्खै।
०००
विमल दुबईबाट नेपाल आउन एक महिना बाँकी थियो। उसले दुई वर्ष छ महिना दुबईमा बिताएको हुन्छ। यो छुट्टीमा आउँदा जस्मिनालाई बिहे गरेर लैजाने प्लान बनाएको हुन्छ। जस्मिना राजी हुन्छिन्। विमलले घरतिर पनि खबर गरेको हुन्छ। बाआमाले छोराको खुसीमा साथ नदिने कुरै भएन।
घरमा त्यही अनुसार आन्तरिक तयारी हुँदै गर्छ।
उसको फ्लाइट तीन दिनपछि हुँदै थियो। फ्लाई दुबईको जहाजबाट उडान। जस्मिनालाई काठमाडौं एयरपोर्टमा लिन आउन बोलाउँछ। केही दिन काठमाडौंमा सँगै बस्ने गरी। घरमा सल्लाह गरेर बिहे गर्ने प्लान गर्छन्।
'बेबी... मेरो फ्लाइट भोलि बिहानको हो। बिहान ११ बजे काठमाडौं एयरपोर्टमा आइपुग्छु। तिमी आजै घरबाट काठमाडौं आऊ ल।'
'हवस्... मेरो बुढो! आई एम सो ह्याप्पी। आइएम सो एक्साइटेड डियर। म खुसीले उडेकी छु। कहिले जान्छ यो दिन र रात भएको छ।'
'जस्मिना.....अनि तिमी कसकोमा बस्छौ म नआई पुग्दासम्म ?'
'गाउँकी दिदीको कोठामा! किन चिन्ता गरिसिन्छ ?' काठमाडौं त म आई जाई गरिरहन्छु नि। समस्या छैन।'
'ओके, बेबी! ढुक्क भएँ। अनि तिम्रो मोबाइलमा ब्याट्री फूल गरेर राख्नु नि। म आएपछि कल गर्छु।'
'डन्ट वरी.... डियर। म गेट मै आएर हेरिरहेकी हुन्छु हजुरलाई।'
जस्मिना साँझ काठमाडौं पुगेकी हुन्छे। उसले त्यहाँ पुगेर केही ठाउँमा उभिएर सेल्फी खिच्छे र 'आइएम फाइनल्ली एट माई क्यापिटल सिटी काठमाडौं' लेखेर पोष्ट गर्छे। विमललाई मेसेजमा पनि पठाउँछे। फोटो नियालेर सपनाको संसारमा हराउन थाल्छ विमल। भोलिमात्रै यी सुन्दरी युवतीलाई अङ्गालोमा बेर्न पाउँदैछु भनेर स्वप्निल प्रेम संसर्गमा हराउँछ।
आधा रातमा जस्मिनाको मोबाइलमा घण्टी बज्छ। सुतिरहेकी हुन्छे उनी। निदको सुरमा कल रिसिभ गर्छे। भिडिओ कलमा विमल देखिन्छ। एयरपोर्टको वटिङ रूममा फ्लाइटको लागि पर्खिरहेको खबर दिन्छ। 'ह्याप्पी एन्ड सेफ जर्नी मेरो बुढो' भनेर किस गर्छ। विमल मुसुक्क मुस्कुराउँछ। करिब साढे चार घण्टा जति सम्पर्क नहुन सक्छ भनेर खबर दिन्छ। आरामले सुत। भोलि निन्द्रा नपुग्न सक्छ भनेर बिदा हुन्छ विमल।
फ्लाई दुबईको फ्लाइटको लागि एनाउन्समेन्ट गर्छ। पर्खिरहेका सबै जना जहाजतिर बढ्छन्। विमल पनि जान्छ। जस्मिनासित पहिलोचोटि भेट्ने हुटहुटीमा मन आत्तिएको हुन्छ। साढे चार घण्टापछि नेपालको एक मात्र इन्टरनेसनल एयरपोर्टमा पाइला टेक्न आइपुग्छ।
लगेज आउने ठाउँतिर नजर हुत्याउँछ। उसको लगेजहरू एउटा ट्रोलीमा राखेर जस्मिनाको नम्बरमा डायल गर्छ।
जस्मिनाले कल रिसिभ गर्छे। ट्राफिक जाममा फसेर ढिला भएँ। एयरपोर्ट छिर्ने मेन गेटमा आइपुगेँ। एकैछिन कुर्नु भन्छे।
तबसम्म उसले ट्याक्सीलाई रोकेर सामान चढाइसकेको हुन्छ।
पन्ध्र मिनेटपछि कल गर्छ। तर नमस्ते नेटवर्कको नारी आवाजले खबर गर्छिन् – तपाईंले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ।
विमल नराम्री झस्किन्छ।
मनमा चिसो पस्छ। के हुँदैछ यहाँ भनेर आत्तिन्छ। पटक पटक डायल गरिरहन्छ। तर नेटवर्कले एउटै खबर दिइरहेको हुन्छ। मोबाइल स्विच अफको।
ट्याक्सी लिएर नयाँ बसपर्कतिर बढाउन इशारा गर्छ। होटलमा गएर कोठा बुक गर्छ। कोठामा पुगेपछि रिसेप्सनिष्टले दिएको वाईफाईको पासवर्ड मोबाइलमा टाइप गर्छ।
वाईफाईले कनेक्टेड देखाउँछ। तर बिडम्वना जस्मिनासित डिस्कनेक्टेड भैसकेको हुन्छ। मेसेज र नोटिफिकेसनको घण्टीहरू टटाङ्ग र टुटुङ्ग बज्न थाल्छ। सदिक्षा नामको आइडीबाट आएको मेसेजमा गएर नजर रोकिन्छ। मेसेजमा लेखिएको थियो।-
'हेल्लो, विमल...। म, सदिक्षा...।
तिमी नेपाल आइपुग्यौ हैन ? मलाई थाहा छ तिमी धेरै टेन्सनमा छौ। अरे म पनि कस्ति केटी। तँजस्तो मान्छेलाई किन हजुर! तपाई! तिमी भनिरहन्छु ? तँलाई त तँ भन्नुपर्छ।
दुई साल अगाडि तँ दुबईबाट फर्किंदा मलाई काठमाडौंमा भेट्न बोलाएर तैंले केसम्म गरिनस् याद छ ? बिहे गरेर लैजाने लोभ देखाएर बोलाइस्। मेरो शरीरलाई नङ्ग्याइस्। मेरो शरीरसित खेलिस्।
अनि, स्वार्थ लुटेर होटलबाट फरार भइस्। त्यो मेरो दुर्भाग्य थियो। मानौं त्यो पहिलो गेम थियो। मैले तेरो खेल्ने तरिका नबुझेर म हारें। त्यहाँदेखि फेरि मैले अर्को गेम सुरू गरेँ। जहाँ तँलाई हराएरै छोड्ने मेरो प्लान थियो।
तेरो शरीरको कपडालाई खोलेर तँलाई नङ्ग्याऊँ भने मैले फेरि पनि नाङ्गिनै पर्ने हुन्थ्यो। पुन: तैंले सगर्व जितको महसुस गर्थिस्। त्यसैले मैले रोजेँ, तेरो आर्थिक अवस्थालाई नङ्ग्याई दिऊँ। र हारको महसुस गरोस्।
त्यसपछि त्यही गेम सुरू गरेँ। तँ युवती लम्पट छस्। एक सुन्दरी युवती देखाएपछि तँ पनि गेममा प्रतियोगी बन्न तयार भइस्। यसपालि तँ नराम्ररी हारिस्। गेम मैले जितेँ। जस्मिना एउटी रोबर्ट मात्र थिई। रिमोट सारा मेरो हातमा थियो।
जस्मिना पौडेल नामको फेसबुक आइडी फेक आइडी थियो। गेम यहीसम्मको थियो, सकियो। अब तैंले न जस्मिनालाई भेट्न सक्ने छस्। न तेरो दुई सालको कमाइ नै पाउने छस्। चुकचुकचुक्.... दु:ख पाइस् विमल!
जिन्दगीमा सधैं जितमात्र हुँदैन। कहिले जितिन्छ, कहिले हारिन्छ। एउटा कुरा याद राख, नारीको जिन्दगीमाथि कहिल्यै खेलवाड नगर। नारीलाई खेलौनाको रूपमा कहिल्यै नसोच। नारीको पनि आफ्नै संसार हुन्छ। तेरो जस्तै..।
तेरो घरपरिवारको एक/एक कुरा थाहा छ मलाई। तेरो पनि पन्ध्र वर्षे बहिनी छे। पैतालिस वर्षे आमा छिन्। तैंले यो भन्दा बढी अरू हर्कत गर्ने हिम्मत गरिस् भने म पनि पछि हट्ने छैन। हाम्रो गेम यही खत्तम.......।'
केही समयपछि मेसेन्जरको ग्रिन सिग्नल अनसिन भयो। विमल झस्कियो। दुई वर्ष दुबईमा बस्दा घरमा दुई तीन पटक भन्दा पैसा पठाएन।
जस्मिनालाई आइफोन सेभेन पठाएको थियो। कमाएको पैसा जति हरेक महिना उसलाई पठाएको थियो।
केही दिन अगाडि उसले हिसाब गरेको कुरा सम्झ्यो। सात लाख पचास हजार रुपैयाँ बढी जस्मिनाको नाममा पठाएको थियो। र त्यो पनि सम्झियो-
'मैले खर्च गरेर बचेको पैसा बैंक एकाउन्टमा राखेको छु। त्यो हजुरकै पैसा हो।'
हत्तपत्त फेरि मोबाइलको स्क्रिन खोल्यो। स्क्रिनमा जस्मिना मुसुक्क हाँसिरहेकी देख्यो। एकपटक उनको अनुहारमा छाम्न खोज्यो। फोटो निस्वार्थ रुपमा मुस्कान छरिरहेको थियो।
विमलको आँखाबाट आँसु खस्दा पनि जस्मिनाको फोटो भने हाँसिरहेको थियो। बिहे गरेर सँगै जिन्दगी बिताउने प्लान फेल खाए पनि जस्मिनाले खर्च गरेर बचेको पैसासम्म फिर्ता पाए हुन्थ्यो भनेर सोच्यो।
झिनो आश लिएर फेरि मेसेन्जरमा हेर्यो। जस्मिना नाम अनसिन भेटियो। फेरि सदिक्षा नाम सर्च गर्यो, त्यो पनि अनसिन भेटियो। हतासिएर फेसबुकमा गएर सर्च ग-यो। दुइटै आइडीबाट उसलाई ब्लक गरिसकेको थियो।