केही दिनअघि सामाजिक सञ्जालमा मैले एउटा छोटो भिडिओ क्लिप देखेँ।
त्यसमा कांग्रेसका नेता गगन थापा भन्दै थिए — राजाको पालामा नेपालले चामल निर्यात गर्थ्यो, अहिले आयात गर्छ। देश बर्बाद भयो भन्ने भाष्य बनाएर केही मानिस नेपालका युवा पुस्तालाई भड्काउँदैछन्।
पहिले चामल निर्यात हुने अनि अहिले आयात हुने तथ्य उनी नकार्दै थिएनन्। तर किन यस्तो भयो भन्नेबारे उनका केही तर्क थिए। उनी लोकतन्त्रको बचाउ गर्दै थिए।
गगन थापाको त्यो वक्तव्यमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको अनेक किसिमका टिप्पणी थिए। केही टिप्पणी उनले अध्ययन नगरी, केही नबुझी बोलेका भन्ने थिए।
सामाजिक सञ्जालमा देखिने सबैखाले टीका–टिप्पणीमा ध्यान दिनु त उचित होइन, तर अलि 'समझदार' नै लाग्ने केही व्यक्ति समेत थापाका ती भनाइसँग असहमत देखेपछि मलाई यो विषयमा केही खोजबिन गर्न मन लाग्यो।
यो विषयमा मेरो उत्सुकताको कारण त्यही एउटा पोस्ट र त्यसमा गरिएका टीका–टिप्पणी मात्र होइनन्। नेपाल चामलको निर्यातकर्ताबाट आयातकर्ता बनेको दुखेसो मैले पहिलेदेखि नै सुन्दै आएको छु। र, केही मानिसहरू त साँच्चै नै यसको दोष नेपालबाट राजतन्त्र फ्याँक्नु र लोकतन्त्र ल्याउनुलाई दिन्छन्!
हो, नेपालले पहिले चामल निर्यात गर्थ्यो, अहिले आयात गर्छ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको तथ्यांक अनुसार नेपालले सबभन्दा धेरै धान–चामल निर्यात सन् १९६४ मा साढे सात करोड अमेरिकी डलर बराबरको गरेको थियो।
त्यसपछि पनि नेपालबाट धान–चामलको निर्यात निरन्तर भइरहे पनि निर्यातको परिमाण कहिल्यै त्यति पुगेन। त्यो घट्दै गयो।
अलि पछिका वर्षहरूमा निर्यात ज्यादै नै कम हुँदै सन् १९८३ मा साढे सात लाख अमेरिकी डलर र सन् १९८७ मा तीन लाख सत्तरी हजार अमेरिकी डलर बराबरको निर्यात भयो। सन् १९८८ देखि त धेरै वर्षसम्म निर्यात नै भएन।
त्यसैले शासन व्यवस्थाकै आधारमा हेर्ने हो भने नेपालबाट हुने धान–चामल निर्यात नेपालमा पञ्चायती व्यवस्था रहेकै बेलामा सबभन्दा धेरै निर्यात भएको साँचो हो। तर पञ्चायती व्यवस्था रहेकै बेलादेखि नै निर्यात खस्किँदै गएको र शून्यमा झरेको पनि त्यति नै साँचो हो।
नेपालमा धान–चामल आयात पनि सन् १९८१, अर्थात् पञ्चायती व्यवस्था हुँदादेखि नै सुरू भएर बढ्दै गएको हो। पछिल्ला वर्षहरूमा यस्तो आयात ह्वात्तै बढेर सन् २०१२ यता त प्रत्येक वर्ष दस करोड अमेरिकी डलर नाघ्दै गएको छ।
बितेका दस वर्षमा प्रत्येक वर्ष बीस करोड अमेरिकी डलरभन्दा धेरैको धान–चामल आयात भएको छ। यसमा एउटा अचम्म लाग्ने कुरा चाहिँ के छ भने, नेपालबाट युवाहरू ह्वारह्वार्ती बिदेसिएर देश नै रित्तिन लाग्यो भन्दै गर्दा, धान–चामल आयात भने प्रत्येक वर्ष अचाक्ली बढेको बढ्यै छ। जबकि धेरै खाना खाने साना केटाकेटी र वृद्धवृद्धा भन्दा युवा वर्गले हो।
धान–चामलको आयात र निर्यातको मात्र तथ्यांक हेरेर नेपाल पहिले गजबको थियो, अहिले बर्बाद भयो भन्नु चाहिँ अपूरो निष्कर्ष हुन्छ। अझ नेपालबाट धान–चामलको निर्यात घट्दै जानु र आयात बढ्दै जानुको दोष लोकतन्त्रलाई लगाउनु भनेको कि त नबुझेर हो, वा बुझेर पनि भीडको वाहवाही बटुल्न गरिएको बुझपचाई हो।
धान–चामलको निर्यात घट्नु र आयात बढ्नुका कारण के हुन सक्छन्?
मुख्य रूपमा, कि नेपालमा धानको उत्पादन घटेको हुनुपर्यो, कि जनसंख्या बढेको हुनुपर्यो वा भात खाने मान्छेको संख्या बढेको हुनुपर्यो। यीमध्ये कुनै एक, दुई वा सबै कारण हुनुपर्यो।
सबभन्दा पहिला धानको उत्पादन र उत्पादकत्वको अवस्था हेरौं।
तलको तालिकामा देखाए अनुसार गएको ६० वर्षमा नेपालमा धानको उत्पादन साढे दुई गुणाभन्दा ज्यादाले बढेको छ। सन् १९६१ मा २१ लाख टन धान उत्पादन भएकामा सन् २०२३ मा ५७ लाख टन उत्पादन भएको थियो। र, धानको उत्पादन सन् १९९० को दशकदेखि राम्रैसँग बढेको देखिन्छ।
यसको मुख्य कारण धानको उत्पादकत्वमा भएको वृद्धि हो। सन् १९९० दशकको सुरूसम्म धानको उत्पादकत्व दुई हजार किलो प्रति हेक्टरभन्दा कम थियो। सो दशकको मध्यदेखि बढ्दै गएर सन् २०२३ मा झन्डै ४ हजार किलो प्रति हेक्टर पुग्यो।
विगत ६० वर्षमा उत्पादकत्व उल्लेख्य रूपमा बढेकै कारण धानको उत्पादन पनि साढे दुई गुणाभन्दा बढीले बढेको हो। धान खेती हुने क्षेत्रफल पनि बढेको त छ तर उत्पादकत्व बढे भन्दा कम दरले। र, गएका केही वर्षमा धान खेती हुने क्षेत्रफल घटेको पनि छ।

भनेपछि नेपालबाट हुने धान–चामलको निर्यात घट्नु र नेपालमा हुने आयात बढ्नुको कारण नेपालमा धानको उत्पादन र उत्पादकत्व घटेर होइन रहेछ। बरू धानको उत्पादन र उत्पादकत्व बढेर पनि निर्यात घट्ने र आयात बढ्ने भएको रहेछ।
उसो भए कारण नेपालको जनसंख्या वृद्धि वा भात खाने मानिसको संख्यामा वृद्धि वा दुवै हो त? यो पनि हेरौं।
नेपालको जनगणना अनुसार सन् १९६१ मा नेपालको कुल जनसंख्या ९४ लाख थियो। यो संख्या त्यसको बीस वर्षपछि सन् १९८१ मा डेढ करोड पुग्यो। त्यसको चालीस वर्षपछि सन् २०२१ मा दुई करोड ९१ लाख पुग्यो।
अहिले नेपालको जनसंख्या झन्डै ३ करोड छ। अर्थात् विगत ६० वर्षमा नेपालको जनसंख्या तीन गुणाभन्दा धेरैले बढेको छ। नेपालीको मुख्य खाद्यान्न चामल भएको सन्दर्भमा जनसंख्या वृद्धिसँगै चामलको माग बढ्नु स्वाभाविक हो। देशभित्र उत्पादनको वृद्धिदरभन्दा जनसंख्याको वृद्धिदर धेरै हुँदा बढेको माग धान्न धान–चामलको निर्यात घट्नु र आयात बढ्नु पनि स्वाभाविक हो।
त्यसमाथि नेपालमा गरिबीको अवस्था र नेपालीहरूको जीवनस्तर पहिला जस्तो छैन।
सन् १९९५–९६ मा गरिएको पहिलो नेपाल जीवनस्तर सर्वेक्षणले नेपालमा गरिबी ४० प्रतिशतभन्दा माथि रहेको देखाएको थियो। सन् २०२२–२३ को पछिल्लो सर्वेक्षणले गरिबी २० प्रतिशतमा झरेको देखाएको छ।
घट्दो गरिबी र बढ्दो जीवनस्तरले पनि भात खाने र पहिलाभन्दा धेरै भात खाने मानिसको संख्या वृद्धि भएको छ। नेपालीको जीवनस्तर उकासिएर भात खाने संख्या बढ्नु र त्यसका लागि चामलको माग बढ्नु त अधोगति नभई अग्रगति नै होला नि!
नेपालीको जीवनस्तर उकास्न लोकतन्त्रको योगदान छ कि छैन भन्ने छुट्टै बहसको विषय होला। मेरो विचारमा पक्कै छ, भलै जति हुन सक्थ्यो त्यति नभएको होला।
कतिपयलाई लोकतन्त्रले के नै गरेको छ र, नेपालीको गरिबी घटेको र जीवनस्तर बढेका कारण त वैदेशिक रोजगार र रेमिटेन्स न हो भन्ने मात्र लाग्ला। यो विषय वृहत ढंगले हेरिनुपर्छ, यो अर्कै पाटो भयो। तर के चाहिँ पक्का हो भने, नेपालबाट पहिला धान–चामल निर्यात हुने यथार्थको जस राजतन्त्रलाई र पछि गएर धेरै आयात हुन थालेको अपजस चाहिँ लोकतन्त्रलाई लगाउनु बौद्धिक बेइमानी हो।
भात खाने नेपालीको संख्या बढेसँगै चामलको माग बढेको विषय नेपालमा गरिबहरूको संख्या घटेको र नेपालीको जीवनस्तरमा उल्लेख्य सुधार भएको यथार्थसँग मात्र पनि सम्बन्धित छैन। यसमा देशभित्र भएको बसाइँसराइ र पहाड तथा दुर्गम ठाउँहरूसम्म भएको बाटोघाटोको विकास पनि हेर्नु पर्छ।
किनभने, नेपालमा धान–चामल उत्पादन हुने मुख्य क्षेत्र तराई हो। तराईको जनसंख्या र तराईबाट पहाडतिर धान–चामल पुर्याउन सक्ने वा नसक्ने अवस्थाले पनि चामल खपत कति हुन्थ्यो र हुन्छ भन्ने निर्धारण गरेको छ।
नेपालमा सन् १९८० को दशकसम्म जनसंख्याको सबभन्दा ठूलो हिस्सा पहाडमा बसोबास गर्थ्यो। सन् १९८१ अर्थात् २०३८ सालको जनगणना अनुसार कुल जनसंख्याको ८.७ प्रतिशत हिमाली क्षेत्रमा, ४३.६ प्रतिशत तराईमा र ४७.७ प्रतिशत पहाडमा बस्थ्यो। २०४८ सालसम्म आइपुग्दा तराईको जनसंख्या कुल जनसंख्याको ४६.७ प्रतिशत, पहाडको ४५.५ प्रतिशत र हिमालको ७.८ प्रतिशत पुग्यो। त्यसपछिका वर्षहरूमा यही क्रम जारी रहँदै पछिल्लो २०७८ सालको जनगणना अनुसार तराईको जनसंख्या ५३.६ प्रतिशत पुगेको छ।
पहिला पहाडमा बाटोघाटोको सुविधा नभएकाले तराईको धान–चामल पहाड पुर्याउन कठिन थियो। मुस्किलले अलिअलि चामल पुर्याउन सके पनि त्यो ज्यादै महँगो पर्थ्यो। पहाडका केही हुनेखाने वर्गले चामलको भात खाने गरे पनि आम रूपमा चामलको भात पहाडका लागि एक किसिमको विलासिता नै थियो भन्दा फरक पर्दैन।
यसरी देशको जनसंख्याको ठूलो हिस्सा बसोबास गर्ने क्षेत्रमा चामलको आपूर्ति र उपभोग नहुने भएपछि तराईको अतिरिक्त धान–चामल भारत निकासी हुनु सामान्य थियो। हिमाल र पहाडबाट तराईमा बसाइँसराइले व्यापकता पाएसँगै धान–चामलको खपत देशभित्रै बढ्दै जान थाल्यो। बाटोघाटोको विकास सँगै पहाडी क्षेत्रमा भएको आवागमनको सहजताले पहाडमा समेत धान–चामलको आपूर्ति सहज र नियमित हुन थाल्यो। पहाडमै बस्नेका लागि पनि नियमित चामलको भात विलासिताको कुरा रहेन।
त्यसैले धान–चामलको आयात–निर्यातबारे कुरा गर्दा तथ्यांक मात्र नहेरी विविध पक्ष हेर्नुपर्छ। अझ राजाको पालामा ठीक थियो, लोकतन्त्रले बर्बाद गर्यो भन्नु त बेतुकको कुरा हो। बरू लोकतान्त्रिक व्यवस्थाकै समयमा उल्लेखनीय रूपमा घटेको नेपालीको गरिबी, बढेको जीवनस्तर र बाटोघाटोको विकाससँगै पहाडसम्म सजिलो गरी पुग्न सकेको धान–चामलको कारण देशभित्र नै धान–चामलको खपत बढेर निर्यात घट्नु र आयात बढ्नु त लोकतन्त्रको उपलब्धि पो हो।
विचार र बहस गर्नुपर्ने महत्त्वपूर्ण कुरा वास्तवमा अर्कै छ।
माथि तालिकाले देखाएको छ — विगत ६० वर्षमा धानको उत्पादन उल्लेख्य बढेको छ।
यसको कारण धान खेती हुने क्षेत्रफलसँगै उत्पादकत्व बढेर हो। योभन्दा बढी योगदान उत्पादकत्व वृद्धिको छ। अघिल्लो पचास वर्षमा धान खेती हुने क्षेत्रफल बढेको छ। गएको दशकमा फेरि केही घटेको देखिन्छ। उत्पादकत्व निरन्तर बढेको नै छ। धानको उत्पादन व्यापक बढेको भए पनि यसले चामलको आन्तरिक माग धान्न सकेको छैन।
अब आउने दिन कस्तो होला? नेपालले के गर्नुपर्ला?
नेपालीको खाद्य संस्कृति यस्तै नै रहिरहने हो भने, अर्थात चामलको भात नै नेपालीको मुख्य खाद्यवस्तु रहिरहने हो भने, आउने दिनमा चामलको आन्तरिक माग अझ बढेर जाने निश्चित छ।
धान खेतीको क्षेत्रफल घट्दै गएको छ, पछिल्लो अवस्था अस्थायी हो वा स्थायी भन्ने निश्चित छैन। क्षेत्रफल बढे पनि त्यसको एउटा निश्चित सीमा छ। त्यसैले धानको उत्पादन बढाउन उत्पादकत्व व्यापक बढाउनुपर्ने हुन्छ।
दक्षिण एसियाका अन्य मुलुकको धानको उत्पादकत्व हेर्दा नेपालले पनि वृद्धि गर्न सक्ने सम्भावना छ। त्यसका लागि सिँचाइ सुविधा विस्तार, गुणस्तरीय बीउ, मल र अन्य कृषि सामग्रीको उपलब्धता जस्ता धेरै कुराको उचित व्यवस्थापन आवश्यक पर्छ। यो नयाँ कुरा अवश्य होइन र नेपालले यो दिशामा केही न केही गरिरहेकै छ।
यसपालि बजेटमा त रासायनिक मलको कारखाना नै खोल्ने योजना पनि राखिएको छ। मैले यो विषय उठाउनुको कारण चाहिँ अर्कै छ।
नेपाल लगायत देशहरूमा धानको उत्पादकत्वमा जुन वृद्धि भएको छ, त्यसको मुख्य कारण रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोग र धेरै उत्पादन हुने तर अत्यधिक पानी चाहिने धानका जातको प्रयोग हो भनिन्छ। यस किसिमको कृषि अध्यास हरित क्रान्तिको नामले प्रसिद्ध छ।
यो अभ्यासले उत्पादन व्यापक बढाए पनि वातावरणमा नकारात्मक असर पारेको छ। यसबारे पहिल्यैदेखि हुँदै आएको चर्चाले अहिले व्यापकता पाएको छ। र, यो धान–चामलको मात्र नभएर समग्र कृषि क्षेत्रको विषय हो।
यस किसिमको कृषि विकास दिगो नहुँदा यसमा आमूल परिवर्तन गर्नुपर्ने आवाज उठ्न थालेका छन्। अझ जलवायु परिवर्तनले पार्दै गएको प्रभावको सन्दर्भमा त यो विषय झन् महत्त्वपूर्ण भएको छ। त्यसैले के के विकल्प छन् र रोज्नुपर्ने उचित विकल्प के हो भन्ने विषयमा बढी ध्यान दिनु आजको आवश्यकता हो।
वातावरण, दिगोपन र जलवायु परिवर्तनलाई ध्यानमा राखे रासायनिक मल, विषादी, अत्यधिक पानीको प्रयोग हुने किसिमको नै कृषि अभ्यासलाई नै निरन्तरता दिने हो वा यस्तो कृषि अभ्यास परिवर्तन गर्ने? परिवर्तन गर्ने भए विकल्प के छ? धानको सन्दर्भमा, यसको उत्पादकत्व बढाउँदै समग्र उत्पादन बढाउन सकिने दिगो किसिमको कृषि अभ्यास उपलब्ध छ?
छ भने, नेपालले अहिलेसम्म किन त्यो विकल्पमा जाने तयारी गरेको छैन? कि धानको उत्पादकत्व र उत्पादन वृद्धिको लक्ष्य नै त्यागेर चामल आयात गरेरै माग धान्ने हो? वा हाम्रो खाद्य संस्कृतिमै परिवर्तन ल्याउने हो?
त्यसैले नेपालमा आज हुनुपर्ने चिन्तन, बहस र नीति निर्माणको विषय नेपालको पहिलेको र अहिलेको धान–चामलको आयात–निर्यातको साँघुरो दायरा होइन। जे हल्ला चलाइएको छ, त्यो गलत छ।
यस्ता हल्लाको पछि लाग्नुभन्दा यो लेखमा माथि उल्लेख गरेजस्तो आजका जटिल मुद्दाहरूमा सबैको ध्यान जानु अहिलेको प्रमुख आवश्यकता हो। र, त्यसतर्फको बहस अगाडि बढाएर उचित समाधान खोज्नु आजको प्रमुख आवश्यकता हो।

(लेखक पुष्प शर्मा इन्स्टिच्युट अफ साउथ एसियन स्टडिज, नेसनल युनिभर्सिटी अफ सिंगापुरमा भिजिटिङ सिनियर रिसर्च फेलोको रूपमा कार्यरत छन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्सः @puspasharma