कलेज पढ्दा कति प्यारो लाग्थ्यो यो सहर तर अहिले कति खेर फर्किऊँ जस्तै लाग्छ। अन्योलता, भिडभाड र अपरिचित काठमाडौँ।
शैक्षिक आन्दोलनमा भाग लिन विराटनगरबाट काठमाडौँ आएकी म, सातौँ दिनको कार्यक्रम सकेर बिस्तारै न्युरोडतर्फ फर्कँदै थिएँ। अहँ! मैले कल्पनै गरेकी थिइनँ— त्यो अनुहार फेरि देख्न पाइएला भनेर।
मेरो मन एकछिनको लागि शून्यजस्तै भयो। के यो संयोग मात्र थियो? कि बाँकी रहेको कथा? के मैले साँच्चै उनलाई बिर्सिसकेकी थिएँ? खै! त्यो क्षणले धेरै कुरा बोलिदियो, जुन शब्दहरूले सायद कहिल्यै भन्न सकिँदैन थ्यो।
‘आशा!’
पहिलो पटक सुन्दा त भ्रमजस्तै लाग्यो।
दोस्रो पटक सुन्दा हत्तपत्त फर्किएँ।
साँच्चिकै, उनी नै थिए।
यतिका वर्षमा पनि त्यो आवाज बिर्सेकी रहेनछु। उनी त्यसै गरी उभिएका थिए— हाम्रो अन्तिम भेटमा जसरी। केही परिवर्तन त पक्कै भएको थियो; अनुहार गम्भीर, दाह्री पलाएको र हल्का मोटाएको पनि। तर ती आँखा उस्तै। मनभित्र अचानक पुराना स्मृतिहरू सिनेमा बनी चल्न थाले। हाम्रो पहिलो भेट, त्यो हात समाउँदै हिँडेको साँझ, त्यो चुरोटको गन्ध, त्यो प्रेमिल समय, त्यो अन्तिम भेट...
जब उनी मुस्कुराए, म अलमलिएँ। मस्तिष्कले भन्दै थियो- ‘यो समय होइन, यो ठाउँ होइन। म विवाहित छु। मसँग घर छ, जिम्मेवारी छ।’
तर ती केही सेकेन्डका लागि, म फेरि उही आशा बनेँ— सबिनको आशा। शरीर यति बेला अघि बढ्न चाहन्थ्यो तर मन? त्यो त रोकिएको थियो; त्यही पुरानो गल्लीमा। उनले ख्याल गरे कि गरेनन् भन्न सक्दिनँ। तर म त आफ्नो वर्तमानको चिन्हहरूलाई कपालभित्र लुकाउँदै थिएँ किनभने त्यो आँखामा फेरि एक पटक देखिनु, मानौँ विगतको ऐनामा झल्किनु जस्तै लागिरहेको थियो।
उनले चिया पिउन प्रस्ताव गरे। मैले नाइँ भन्न सकिनँ। कसरी नाइँ भन्नु र? आखिर एक समयको नजिकको मान्छे। हामी पुग्यौँ फेरि उही पुरानो चिया पसल, जहाँ हामी बिचको सम्बन्ध कुनै परिभाषामा अटाउँदैन थ्यो।
मैले मगाएँ, उनले मलाई खान सिकाएको ‘हट लेमन’। उनी कुराहरू गरिरहे तर मेरो मनमा भने चैत्र–वैशाखको भन्दा ठुलो आँधिबेरी चलिरह्यो।
म विवाहित थिएँ अनि ऊ सिङ्गल। मलाई एक्कासि खै के पो भयो। माफी मागेँ, त्यो बेला जो मागेकी थिइनँ। बिना कारण सम्बन्धबाट भागेकी म उनले सजिलै भने- ‘छोडिदेऊ, बुझेँ।’
त्यही उनको सरलतामा त फिदा भएकी थिएँ, त्यो बेला पनि। मन हलुका भयो।
कुरा गर्दागर्दै समय बितेको पत्तै भएन। ‘हट लेमन’ सकियो तर कुरा सकिएन। मनमनै लागिरहेको थियो- अझै कुरा गरूँ। तर कसरी? मनले चाहेर पनि मौन रहनु पर्ने। परिस्थिति।
त्यत्तिकैमा मेरो फोन बज्यो, श्रीमान् हजुरको।
झसङ्ग भएँ। लाग्यो यो फोनले मलाई वास्तविकतामा ल्याइदियो। उनको अनुहारमा फोन पनि यति बेला आउन पर्ने, ‘केही बेर यहीँ बस न’ भन्ने भाव झल्किन्थ्यो। त्यो क्षणमा न शब्द थिए, न आवाज— केवल हामी थियौँ, भूतको गन्ध, वर्तमानको भार र भविष्यको धमिलो आकृतिबिच हराइरहेका। मौनता छायो।
‘बेस्ट विशेस अनि बाई’ भनेँ र हतारमा निस्किएँ। फर्किएर हेरिनँ। हेर्न मन नलागेर होइन, सकिनँ।
सायद यो नै भयो अन्तिम पूर्णविराम। सायद यसैका लागि हामी फेरि भेटेका थियौँ। बाटोमा हिँड्दै गर्दा अनेक कुरा मनमा आइरहे।
‘को हो उनी?’ आफैँलाई प्रश्न गरेँ।
उनी मेरो अतीत, त्यो अतीत जसले मेरो मनमा सात रेक्टर स्केलको भूकम्प ल्याउन सक्छ। जो प्रतिको भावना कहिल्यै मर्न सक्दैन। बस मौन भएर लुकेको मात्र। अतीतको त्यो पाना जुन मैले पल्टाएकी छु, च्यातेकी छैन।
‘पहिलो प्रेम’ यस्तो पो हुँदो रहेछ जुन न त समयले मेट्न सक्ने, न त जिम्मेवारीले।
आज म अर्कैकी भइसकेँ। तर यो सम्बबन्धमा पश्चात्ताप छैन। उनीतिर फर्किने इच्छा पनि छैन।
तर यदि कसैले सोध्छ भने— ‘माया गर्थ्यौ?’ मेरो उत्तर सधैँ यही हुनेछ— गर्थेँ र सधैँ गर्नेछु। त्यो सत्य हो तर अब म विवाहित छु। अनि केही सत्यहरू मौनतामै सुहाउँछन्।’
जीवनमा केही सम्बन्धहरू अधुरा नै रहन्छन्— तिनीहरू न त अन्त्य हुन्छन्, न फेरि सुरु। केही कुरा सम्झनामा रहन्छन्, केही मौनतामा हराउँछन्। अनि केही प्रेमहरू, जो पुराना भइसके—तिनीहरू बाँचिरहेका हुन्छन्, बोल्दैनन् तर कहिल्यै मर्दैनन्।