राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा शुक्रबार पनि विरोध जनायो। अवरोध गर्यो।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएको प्रश्नहरूको जबाफ दिने नियमित कार्यसूची थियो।
प्रतिनिधि सभाको बैठक आरम्भ हुनेबित्तिकै राप्रपा र रास्वपाका सांसदहरू उठे। विरोध जनाए।
रास्वपाका सांसदहरू आज कालो पोशाकमा निलो स्कार्फसहित पुगेका थिए। उनीहरूले विरोधको आज अर्को शैली अपनाएका थिए।
रास्वपाको अवरोधपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाए। त्यसलगत्तै बजेटमाथिको छलफल आरम्भ भयो।
राप्रपासँगै रास्वपा पनि संसद बैठक बहिष्कार गरेर निस्कियो। बाहिर आएर आफ्नो धारणा राख्यो।
रास्वपाकी सांसद सोबिता गौतमले प्रधानमन्त्री ओलीलाई सुनाउनकै लागि आज आफूहरू उभिएको बताइन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने अडान राख्दै प्रतिनिधि सभामा वेल घेराउ, नाराबाजी गर्दै आएको रास्वपाले विरोधका नयाँनयाँ तरिका पनि अपनाइरहेको छ।
‘संसदीय मूल्यमान्यता के हुन्छ भने कोही सांसदले केही कुरा राख्छु भन्दा, केही कुरामा मेरो असहमति छ भन्ने लाग्यो भने त्यो व्यक्तिले असहमति राख्दै गर्दा सदनले त्यसलाई सहजीकरण गरेर सदनले त्यसलाई सुन्ने वातावरण बनाइदिनुपर्छ,’ सांसद गौतमले भनिन्, ‘यहाँ देख्दा एक जना व्यक्ति देखिए पनि त्यो व्यक्तिको पछाडि धेरै जना मानिसहरू हुन्छन्। निर्वाचनमा धेरै मानिसहरूले मत हालेका हुन्छन्। सबै माननीयज्यू एक्लाएक्लै देखिए पनि सबैले मत लिएर आउनुभएको छ।’
सदनले उनीहरूको आवाज सुन्ने वातवारण बनाउनुपर्ने उनले बताइन्।
‘सदनले सुन्दै नसुन्ने हो भने त्यसको के औचित्य हुन्छ। त्यसकारण हामीले निरन्तर हाम्रो आवाज सुन्नुपर्यो। समस्या समाधान गर्नुपर्यो भन्दै आइरहेका हौं। प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नचलाउनुस् भनेको होइन, चलाउनुस्। तर हाम्रो पनि प्रश्न थियो, हाम्रो पनि कुरा थियो। सरकारको मूल पात्र प्रधानमन्त्री हो, उहाँलाई नसुनाए कसलाई सुनाउने? मन्त्रीले सुन्नुभएको होला। प्रधानमन्त्री सदनमा आउँदा उहाँले सुन्नुपर्छ। नसुन्नुपर्ने कारण छैन। उहाँलाई सुनाउनुपर्छ भनेर उठेका थियौं। तर हामीलाई समय विनियोजन भएन।’
रास्वापले सदनमा पटकपटक विरोध गर्दा, हाम्रो कुरा सुनियोस् भन्दा पनि सदनले नसुनेको उनले बताइन्।
‘सुन्दैन भने सदनमा हाम्रो स्थान छैन रहेछ भनेर हामीले बहिष्कार गरेका हौं। अब जनतामा जानुबाहेक अरू विकल्प छैन,’ उनले भनिन्।
प्रतिनिधि सभा बैठक अहिले पनि चलिरहेको छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ।