कुन साइतमा जन्मिएऊ तिमी?
कुन भावीले लेखिदियो भाग्य तिम्रो?
ती हातले हसिया समाए, कलम त देख्न पनि पाइनौ,
मेलापात घास दाउरा, साँझ बिहान चुलोचौको,
माग्न आए कुन गाउँदेखि एकाबिहानै तिमीलाई
झोलो कुम्लो बोकी पठाए बाबाले, रित्ताए धनसम्पत्ति ओइरो।
दुई वर्षमै भए लालाबाला तिम्रा,
तर कठै!
कठै तिम्रो किस्मत्!
किन जन्मायौ छोरी तिमीले,
सासु कराउँछिन् ए अलच्छिना,
बाबुझैँ ससुरा झम्टिन्छन् बाघझैँ गर्जेर,
श्रीमान् तिम्रा खै कुन पो खाडी मुलुकमा,
कोख तिम्रो रित्तियो,
छैन तिमीसँग अब जिउने सहारा,
खबर पायौ तिमीले,
फर्की आए रे बाकसमा तिम्रा पियरा!
सिउँदो पनि पखालियो ए नारी तिम्रो,
रहेन घरबार पनि कहाँ जान्छेऊ तिमी?
माइत जाउँ भने बुढा बाबा पिर गर्छन्,
आमा रुन्छिन् आँसु खसाली बर्बरी।
एका-बिहानै घामले खुट्टा नपसार्दै हिँड्यौ अरे नौ डाँडा काटेर
नयाँ बस्ती,
नयाँ समाज,
तर प्रश्न त्यही रह्यो
को हौ तिमी?
किन आयौ?
कोसँग ढाटेर?
सेतो पहिरन पखालिएका तिम्रा रहर
अनि उजाड तिम्रा सपनाहरु,
त्यसै त्यसै अत्तालिँदै ब्युझिन्छौ रे सपनिमा
रुँदै, कराउँदै एक्लै गुहार्छौ रे सहारा,
सहरका ती अँध्यारा गल्लीहरुको कुनामा
ओझेल परेको एउटा बन्द कोठा,
अनि त्यो कोठामा तिमी!
श्रीमान् पनि रहेनन्,
भए त आँसु पुछिदिने थिए होलान्,
छोरी अझै काखैमा छे,
नत्र,
नत्र नरोऊ आमा ‘म’ छु तिम्रो साहारा भन्थी होला,
आश केही पलाउँथे होलान्,
अब तिमीले संघर्ष गर्नु छ,
आफैलाई जितेर समाजलाई पछार्नु छ,
एक्ली आमा,
एक्लो अभिभावक,
छोरीलाई एक्लै हुर्काउनु छ,
‘क ख’ चिन्ने बनाई,
आफ्ना कथा ब्यथा फेरि नदोहोरियोस् कतै पनि भनि सिकाउनु छ।
छोरी हुर्कँदै गई,
हेर्दा हेर्दै ठुली भई,
आजकाल ‘ऊ’ महिला अधिकार हनन् नहोस भन्दै नारा लगाउँछे,
सडक सडक, गल्ली गल्लीमा चेतनाको रंग छर्छे,
तर,
तर अचानक एक साँझ कलेजबाट फर्किँदै गर्दा,
ऊ बलात्कृत हुन्छे,
उस्को अस्मिता लुटिन्छ,
आश्चार्य त यो कुराको लाग्छ कि,
बलात्कारी अरु कोही नभएर,
उहीसँगै बलात्कारीलाई फाँसी भन्दै हिँड्ने सहकर्मी हुन्छ।
उस्की आमाले जिन्दगीमा कयौँ दुख भोगिन्,
कति बियोग झेलिन्,
तर यो घटनाले उन्लाई यतिसम्म असर पर्योँ कि
उनका ती आँखा सधैँका लागि बन्द हुन्छन्।
यता छोरी आँट गरेर माइती नेपाल जान्छे,
अड्डा अदालत पुलिस चौकी गएर न्याय माग्छे तर अफसोस्,
अर्को बिहान पत्रिकामा खबर छापिन्छ,
सर्लाही घर भएकी...
काठमाडौँमा आफ्नी आमासँग बसेर कलेज पढिरहेकी...
हत्या भयो...
अनुसन्धान अझै जारी छ।
यता पुलिस चौकीमा उस्को केस दर्ता भएको फाइल जलाइन्छ,
पैसाले न्याय पनि किन्यो,
अनि एउटा मर्दको रवाफ पनि,
भोलिपल्टदेखि माइतीघर मन्डलामा
त्यही चेलीको रगतले लत्पतिएका हातहरु
बलात्कारीलाई फाँसी भन्दै नारा पिटिरहन्छन्,
कथा दोहोरिरहन्छ।
चेलीहरु लुटी नै रहन्छन्।