समयको एक उछाल र उमेरको उनमातको अन्तर द्वन्द्वबाट जन्माइसकेको एक सम्बन्ध। जुन यति क्षणिक छ कि र यति प्रिय पनि शब्दमा व्यक्त गर्न सक्दिनँ! एक बालकले हावामा फुलाएर छोडिएको सेम्पुको फिँजझैँ हावामा रहुन्जेल जस्तै छोटो र त्यही फोका हेरेर खुसी हुँदै गरेको खुसी जति नै। या त नदीका किनारमा पारित बालुवा जस्तै! खै कस्तो कस्तो सम्बन्ध। जुन आफ्ना एक ठुलो प्रसूनको पर्खाल जस्तै।
समयको एक एकानताले भेटाइदिएको दुई एकल यात्रु, जुन जीवनको हरेक आरोह अवरोह सहजै चढ्न खोज्छ तर डराउँछ। समाजले जन्माएका कृत्रिम भूतकाल डरलाग्दा अप्राप्तिको प्रेमका कहानी देखि। जो पुग्न खोज्छ गन्तव्यसम्म। तर समयले समयको बहाना देखाएर दोबाटोमा छुटिन्छ। बाटोमा र सहकार्यमा नै खोट देखाउँदै। ती तमाम कथा भन्ने हो भने निकै लामो हुँदो हो। छोटकरीमै भनौँ कि क्या हो। कि म भन्ने?
माथिका भूमिकाहरूबाट खासै बुझिन्न होला। सहजै भनौँ?
अक्सर मानिसको जीवनमा कोही यस्ता विरक्ति ठोकिन्छन् कि तिनले तिनको जीवन नै तरङ्गित गरिदिन्छ र जीवन जिउने एक नयाँ दिशाबोध प्रदान गर्छ। उनी मेरो लागि त्यही हुन्। जसरी कसैको स्पर्शबाट लोलो ‘घण्टाको भित्रपट्टि झुन्डिएको फलाम वा पित्तलको सानो डल्लो’ जसरी घण्टामा ठोकिएर आवाज निकाल्छ शान्त र सुन्दर, त्यस्तै त्यस्तै।
एक विवाहमा भेटिएकी ऊ। रातो टु-पिसमा सजिएकी खाइलाग्दो शरीर, हँसिलो अनुहार र त्यो हँसाइमा लुकेको मधुरो डिम्पल। सुन्दरताको एक अद्भुत नमुना जसलाई कृत्रिम बनाउने वस्तु बिना नै सुन्दर देखिन्थी। आँखामा मसिना धर्नाले तानिएका गाजल। छुँदै दाग लाग्ला झैँ छाला। जनमतको एक हुलमा एक बेग्लै देखिने, एक्लै बस्न रुचाउने उनी।
नाम पूर्णतया रुपाखेती! ऊ मुहारमा मेकअपभन्दा बढी करिना र लाजरहित मुस्कान बोकेकी थिई। हाम्रो पहिलो भेट त्यही भयो। साथीको विवाहको जमातमा।
‘हेलो दादा! पूर्णतयालाई मैले बोल्छु भन्दिस्योस् न?,’ साथीको बहिनीले भनी।
‘म?’ प्रश्नवाचक चिन्न निदारमा देखिने गरी सोध्छु, ‘को हो उहाँ र? म चिन्दिनँ।’
बहिनीले भन्छे, ‘उ त्यो के, त्यो गोरी रातो लाउने।’
‘ए हस्,’ भनेँ।
म उतै जाँदै थिएँ र ‘नानु, तिमीलाई बेहुलाको बहिनीले बोलाउँदै छिन् है,’ भनेँ।
‘कुन बहिनी?’ उनले सोधिन्।
‘कान्छीले।’
‘ए ए ए, ल हस्।’
लामो लयमा ए तान्छिन् र उनी जान्छिन्। हाम्रो पहिलो कुरा यति मात्र हुन्छ।
पूर्णतया। सुन्दर व्यक्तित्व, शालीन सुन्दर र हँसिलो मुहार सहितको प्रोफाइल पिक्चर। यसै हेर्दै थिएँ, उनको जीवन बोध र वास्तविकता मूलक स्ट्याटसले मेरो ध्यान झनै तान्यो। स्क्रोल गर्दै गर्दा गल्तीले फ्रेन्ड रिक्वेस्ट गएछ। हतार-हतार क्यान्सिल रिक्वेस्ट गरेँ। यो यस्तो, भयो चोरी गर्न जाँदा टर्च बाले जस्तो। आफैँ हाँसेँ। आफैँ लजाएँ। तोइट!
अन्य कुरा पढ्दै थिएँ। एक नोटिफिकेशन आयो- पूर्णतया सेन्ड ए फ्रेन्डरिक्वेस्ट टु यु। समयलाई खेर नफाल्दै स्वीकार गरेँ। त्यसपछि झन् उसको, साथी भइयो।
यसै एक म्यासेज छोडेँ- ‘बायो- जहाँ आवाज छैन त्यहाँ म छु। कडा! कि त यहाँ क्रान्तिकारी हुन पर्छ! कि त कानुन व्यवसायी?’
‘हे हे,’ हासेको इमोजी दिँदै भन्छिन्, ‘हजुर कानुनको विद्यार्थी हुँ।’
‘ए एलएलबीको कि बिएलएलबी?’ मैले प्रतिप्रश्न गरेँ।
उनले ‘बिएलएलबी’ भनिन्।
‘कता नेपाल ल कलेज हो?’ मैले सोधेँ। उनले हैन पोखरा हो भनिन्। त्यही जाँदै हो बाटोमा छु पनि भनिन्।
जिस्किँदै मैले हाँसेका इमोजीसहित सोधेँ, ‘नेपालको संविधानमा कति वटा अनुसूची छन्?’
‘पोलिटिकल साइन्स गरेको सरले यस्तो सोध्दा सुहाउन्न है,’ हाँसेरै सही उत्तर पनि दिन्छिन्।
‘वाह नाइस।’
‘यति त जसलाई नि थाहा हुन्छ ल,’ भनिन्।
‘त्यो नि हो,’ मैले उत्तर दिएँ।
‘म बाटोमा हो, बेलुका बोल्छु है,’ भन्छिन्।
साँझबाट रुकेको कुराले पूर्ण रूपमा गति लिन्छ।। उसको पोखराको यात्रा मौसम खराब भएर चितवनमै रहेको र मामा हजुरकोमा बसिरहेको कुरा सुनाइन्।
‘समय ठिक छैन, मुग्लिनमा जाममा पर्नु भन्दा मामाघरमै बस्नु उचित हुन्छ,’ भनेँ।
उसलाई मैले जिस्किँदै एक व्यक्तिगत प्रश्न गर्छु, ‘गोपनीयताको हकको जन्म त हुन्न नि?’
‘हाहा, हुन्छ नि।'
सानो समय र मिठो र स्वादिलो कुराकानीले हाम्रो मित्रता निकै प्रगाढ भइसकेको थियो।
दैनिकी झैँ उनलाई ‘हाउ वाज योर डे’ सोधेँ।
उनी ‘क्वाइट गुड, एन्ड योर्स,’ भन्छिन्।
म ‘ठिकै, साथीको बिहेमा गएको रमाइलै भयो’ भन्छु।
उनी जिस्किँदै भन्छिन्, ‘ के हो सर? खालि साथीको बिहेमा मात्र जाने, आफ्नोमा चाहिँ जाने मन छैन? आफ्नो पनि जानु पर्यो।’
म उसकै शैलीमा भन्छु, ‘हामी मिस जस्तै एडभोकेट जस्ती बेहुली भेटे गर्ने हो?’
उनी एक मुख छोपेर हाँसेको अनि अर्को एक आँखा चिम्लिएको इमोजीसहित उत्तर दिन्छिन्, ‘सरकारी जागिर नभएकालाई मेरो बा’ले छोरी दिँदैनन्।’
सरल र सहजतामा केही गहिरो अनुभूति र दबिएको जवाफ। म नि हाँस्दै गरेको इमोजीमा उसलाई भन्छु, ‘भनेसी म अहिलेलाई उसको है?’
‘को हो?’
‘म लोक सेवा पढ्नलाई।’
हाँसे बग्यो च्याटबक्समा।
तर म हाँस्न सकिनँ। खै किन हो! जिस्किएरै गरिएको प्रस्ताव अस्वीकार हुँदा त्यति दुख लाग्थेन होला। तर सरकारी जागिरसँग तुलना गरिएको मेरो प्राइभेट जागिरको अपमान जस्तै लाग्यो। आफूले आफैसँग आफ्नै जागिरसँग हीनताबोध भयो। जागिरमा नजरबाट गिर्या जस्तो। एकाएक खै किन हो मैले मजाकलाई मजाक लिन सहज भएन। मेरो सिङ्गो धरातललाई दश मुखका रावणले गिज्याइरहेको हाहा हाँसो जस्तै लाग्यो।
के फरक छ र प्राइभेट र सरकारीमा? आफूले आफैलाई प्रश्न गर्न थालेँ र आफैले उत्तर दिन पनि। सरकारी जागिरमा सेवाको सुरक्षा, आर्थिक निश्चितता र सुविधाहरू, सामाजिक प्रतिष्ठा र सम्मान, वृत्ति विकास र अवसरहरू र कार्य-जीवन सन्तुलन सरकारी जागिरका फाइदाहरू। प्राइभेटमा क्षमताअनुसारको उच्च तलब, तीव्र वृत्ति विकास, आधुनिक कार्यशैली र प्रविधि, नेटवर्किङ र एक्सपोजर र लचिलोपन (घरबाटै काम गर्ने सुविधा)।
तुलनात्मक रूपमा कामको प्रेसर कम होला, तुलनात्मक थोरै तलब होला या धेरै यति मात्र न हो। सरकारी कर्मचारीहरू ‘जागिर सुरक्षित छ तर भविष्य अन्योल छ’ भन्ने मानसिकतामा देखिन्छन्। तलब कम हुनुले कार्यक्षमतामा ह्रास ल्याएको र सरकारी सेवाप्रति युवाहरूको आकर्षण बिस्तारै घट्दै गएको विज्ञहरूको टिप्पणी छ। केही वर्षअघि एक मुख्य सचिवले नि एक अन्तरवार्तामा भनेका थिए।
अझ धमिरा लागेका सरकारी जागिर गरिरहेका संस्थाका कर्मचारीहरूलाई ती जागिर टोक्नु कि बोक्नु भएको हुन्छ। न त समयमा तलब न ती जागिर छोडेर अन्य जानै सकिन्छ।
एक पटकको एक हाँसो उठ्ने कथाको याद आयो।
एक नाति अमेरिकाबाट स्याङ्जा गएछन् मामाघर। त्यहाँ आमालाई सन्चो बिसन्चो सोधे। आमाले प्रतिउत्तरमा उनलाई सोधिन्, ‘के काम गर्छौ बाबु?’
नाति केटोले ‘आमा, म मेटामा आइटी इन्जिनियर हुँ’ भने।
आमाले नबुझेर सोधिन्। केटीको बा’ले प्राइभेट कम्पनीमा कम गर्छ के आमा अर्थाएर भने।
ती आमाले उनलाई सल्लाह दिइछिन्- ‘यसो लोक सेवा गरेर खरदार सुबा खाऊ बाबु, प्राइभेटको भर हुन्न।’
आमाले आफ्नो विचार तथा पुस्ताले जानेका र आफ्ना विवेकले भ्याएसम्मको सल्लाह दिन्छिन्। हुन नि हो। कुनै बाआमाले आफ्ना छोरीकोको भविष्य सुनिश्चित देख्नु र तीसँग केही आशा राख्नु स्वाभाविक हो। बा-आमाले जागिर खान भनेका कुरा हाम्रा चाहनाका खिलाफ हुँदैनन्, बस् उहाँहरूले आफ्ना सन्तानलाई गरिब देख्न चाहनु हुँदैन।
उनका बाबु ती तमाम बाहरू सरह थिए जसले आफूले पूरा गर्न नसकेको सफलताको नाम्लोको भार छोराछोरी तथा ज्वाइँमा खोज्दै थिए।