नेपाल आमाको कोखलाई त्यागी
म अरू कतै बस्न चाहन्नँ
यो माटोको ऋण नतिर्दासम्म
भागी म कतै जान चाहन्नँ
झुपडी बनाई यही माटोमाथि
जीवनका अध्याय पढ्न चाहन्छु
समाई कुटो, कोदालो र फाउरो
यही देशको माटो खन्न चाहन्छु
गाउँको जमिन बाँझो राखी
धान फलाउन खाडी, म जान चाहन्नँ
छोडी एक्लै यो देशको माटोलाई
भागेर, म शिखर चढ्न चाहन्नँ
पसिना चुहाई यही माटोमा अझै
चैते भविष्यको खेती गर्न चाहन्छु
मलजल गरी फलाई अन्न
भोकाको पेट भर्न चाहन्छु
रोदी घरमा नाच्न छोडी
म अरू कतै रम्न चाहन्नँ
युगौँ देखिको भाइचारा तोडी
दोषी म आफूलाई बनाउन चाहन्नँ
यही देशको माटोमा उफ्री र नाची
दसैँ, इद म मनाउन चाहन्छु
सबैलाई एउटै धागोमा उनेर
सुन्दर माला म बनाउन चाहन्छु
भत्केको घरलाई टेको लाउन छाडी
आप्रवासी म आफूलाई बनाउन चाहन्नँ
नेपाल आमाको आँसु बगाई
समृद्धिको बाटो म रोज्न चाहन्नँ
आफ्नो भविष्य दाउमा राखी
नवज्योतिको पासो खेल्न चाहन्छु
मेटाई यहाँको कृत्रिम अँध्यारो
सुनौलो बिहान म ल्याउन चाहन्छु।