जीवन कहिलेकाहीँ यति भारी हुन्छ कि पढेका किताबका शब्दहरू पनि अर्थहीन लाग्न थाल्छन्। कहिलेकाहीँ लाग्छ—जीवन पढेर बुझिने विषय होइन, भोगेर मात्रै बुझिने सत्य रहेछ।
जिन्दगीका पाना पल्टाउँदै जाँदा कुन पाना पढ्न छुट्यो भन्ने थाहा नै हुँदैन। आकांक्षा धेरै, सपना धेरै, तर संसार यति सानो बनिसकेको छ कि मानिस अरूलाई देखाउनकै लागि बाँच्न थालेको छ। देखासिखी, तुलना र सामाजिक प्रतिष्ठाको दौडले मानिसलाई आफ्नै अस्तित्वबाट टाढा पुर्याइरहेको छ।
म पनि त्यही भीडको एउटा पात्र बनेँ। समाजले सिकायो 'पुरूष रूँदैन', 'पुरूष कमजोर हुँदैन', 'पुरूषले संसार थेग्नुपर्छ।'
यही पुरूषत्वको बोझ बोकेर म घरबाट विदेशिन बाध्य भएँ।
विदेश जानु मेरो रहर थिएन, त्यो त परिवारको मान–सम्मान जोगाउने प्रयास थियो। घरमा आमा–बुबाको एउटै गुनासो हुन्थ्यो—'यत्रो पढेको छोरो विदेश नगएर के गर्छ?' अनि म आफ्ना सपना, आफ्ना भावना र आफ्ना पीडा नेपालमै छोडेर सात समुद्रपारि पुगेँ।
देख्नेहरूले मेरो बैंक खातामा आएको पैसा देखे, तर त्यो पैसासँगै बगेको पसिना, रोकिन नसकेको आँसु र च्यापिएको मन कसैले देखेन। सुनसान सडकमा मुर्छा पर्दै हिँडेका रातहरू, निद्राविहीन पलहरू, मनभित्र थुप्रिएका हजारौं डर र अपमान—यी सबै मेरो मौन संघर्षका साथी बने।
आज फेरि अर्को बोझले मलाई थिचिरहेको छ—सन्तानको भविष्य, परिवारको जिम्मेवारी र समाजको अपेक्षा।
मसँग हात समाएर 'म छु' भन्ने कोही छैन। यही अदृश्य पीडाले मानिसलाई मानसिक रोगको गहिराइमा धकेल्छ। परदेशको कठोर जीवनले मानिसलाई बाहिरबाट बलियो तर भित्रबाट चकनाचुर बनाइदिन्छ।
एकदिन श्रीमतीको फोन आयो। उनको स्वरमा पीडा थियो।
'सुन न, आज कार्यालयमा हाकिमको व्यवहारले मन धेरै दुख्यो... यो सब तिमीले गर्दा हो प्रकाश। तिमीले राम्रोसँग कमाएर घर धान्न सकेको भए मैले यस्तो मानसिक यातना सहनुपर्दैन थियो। कामको तनाव त तिमीलाई सुनाउन हुन्थ्यो हुन्न थियो तर मलाई अति नै भयो म धान्न नै नसक्ने भए यही कार्यालयकै कारण म मानसिक रोगी हुने भए प्रकाश यो सबको भागेदार तिमी हुन्छौ रामको, हरिको कुबेरको बुढीहरू हेर न उनीहरू बुढाकै कमाइ खाएर पनि आन्दैसँग बसेकै छन् त अहँ म सक्दिनँ। म काम गर्न सक्दैसक्दिनँ यस्तो टक्सिक इन्भारोमेन्टमा लिभ मि एलोन प्रकाश डाम इट।'
त्यसपछि फोन काटियो।
म एक्लै भएँ।
मेरो अगाडि पहाडझैँ समस्या उभिए। न त म रून सक्थेँ, न कराउन, न आफ्नो पीडा कसैलाई सुनाउन। संसार मेरो आँखाअघि भत्किँदै गएको महसुस भयो।
म परिवारको खुसी किन्ने सपना बोकेर विदेश गएको थिएँ। तर न परिवारका खुसी समेट्न सकेँ, न आफ्ना बालबच्चासँगै हुर्किन पाएँ। १६ वर्ष परदेशमा बिताएपछि अन्ततः देश फर्किने निर्णय गरेँ। मनमा आशा थियो—अब आफ्नै देशमा चैनको सास फेर्छु, आफ्नै माटोमा केही गर्छु।
मैले गाउँकै विद्यालयलाई नमूना विद्यालय बनाउने सपना देखेँ। शिक्षक सेवा आयोगको परीक्षा पास गरेर शिक्षक बनेँ, पछि प्रधानाध्यापकको जिम्मेवारीसमेत पाएँ। विद्यालयलाई व्यवस्थित, अनुशासित र उत्कृष्ट बनाउने मेरो सपना विस्तारै सफलतामा बदलिँदै थियो। विद्यालयको प्रगति देखेर धेरै खुसी हुन्थेँ।
तर जब सफलता बढ्न थाल्यो, तब शत्रुका आँखा पनि ममाथि लाग्न थाले। मैले नगरेका कामको आरोप ममाथि लगाइयो। इमान्दारितालाई अपराधझैँ प्रस्तुत गरियो। बोलेका शब्दहरूलाई तोडमोड गरियो। चारैतिरबाट मलाई अपराधीजस्तो घेरियो। ती अपमान, ती झूटा आरोप र ती विषालु शब्दहरूले मेरो आत्मालाई च्यात्न थाले।
आज म त्यही मानसिक पीडाको चरम बिन्दुमा उभिएको छु।
म थाकेको छु
म भित्रैबाट भाँचिएको छु ।
सुशीला,
तिमी मेरी जीवन साथी मात्रै होइनौ, मेरो संघर्षको साक्षी पनि हौ। यो संसारमा इमान्दारिताको मूल्य घट्दै गएको छ। यहाँ टिक्न कहिलेकाहीँ असल होइन, चलाख र कठोर बन्नुपर्ने रहेछ। मेरा सन्तानलाई सिकाइदिनू—मानिसले कहिल्यै अरूको पीडामाथि आफ्नो सफलता उभ्याउनु हुँदैन।
आज म हार मानेको होइन, म मानसिक पीडाले च्यापिएको एउटा पात्र बनेको छु, म जस्ता हजारौं मानिसहरू समाजमा छन् जो बाहिरबाट हाँस्छन्, तर भित्रभित्रै मर्दै गएका छन्। धेरैका कथा कहिल्यै सुनिँदैनन्। अन्तमाा उनीहरू समाचारको एउटा शीर्षक बनेर हराउँछन्।
मानसिक पीडा अदृश्य हुन्छ, तर त्यसले दिने घाउ संसारकै गहिरो हुन्छ।
मानिस शरीरले भन्दा पहिले मनले मर्छ, मेरो मन सयौ पटक मरिसकेको छ,
त्यसैले आज आवश्यक छ—हामीले मानिसको कमाइ होइन, उसको मन बुझ्ने प्रयास गरौं
पुरूषलाई पनि रून दिने समाज चाहिन्छ।
महिलालाई पनि सुनिने वातावरण चाहिन्छ।
मानिसलाई 'कमजोर' होइन, 'मानव' भएर बाँच्न पाउने अधिकार चाहिन्छ।
मानसिक स्वास्थ्य विलासिता होइन, जीवनको आधार हो।
यदि समयमै सुन्ने, बुझ्ने र साथ दिने संस्कृति निर्माण गर्न सकेनौँ भने, अझै हजारौं 'प्रकाश' हरू अन्धकारमा हराइरहनेछन्।