म डराउँथेँ,
आज डरलाई जितेँ।
म हराउँथेँ,
आज मौनतालाई जितेँ।
म कराउँथेँ,
आज एकान्तलाई जितेँ।
तर जित्न सकिनँ आफैलाई,
न त हार्न नै।
जसरी अपवाद हौ तिमी,
त्यसरी नै मिथक हुन्
जित र हार पनि।
कहिलेकाहीँ हारेर जित्छु,
कहिलेकाहीँ जितेर पनि हारिदिन्छु।
जब मन भारी हुन्छ,
तब दिमाग चल्छ
जब मन खाली हुन्छ,
तब दिमाग शून्य हुन्छ।
धन्यवाद ती सबैलाई
जसले मन भारी बनाए
किनकि जरुरी थियो
दिमाग चल्नु
र नयाँ सृष्टि रचिनु।
सायद म साक्षी हुँ
जीवन र जगतको,
मरण र शरणको,
छल र धोखाको,
बुद्ध र गिद्धको।
किनकि यहाँ सबै
बाँचिरहेछन् जीवन
कोही नाचिरहेछन्,
कोही हाँसिरहेछन्,
र कोही साँचिरहेछन् खुसीहरू
मरे पछिको नर्कका लागि।
म खुला छु,
स्वतन्त्र छु।
सकिएन सहन तिम्रो मौनता,
त्यसैले लेख्दैछु
यो खुला पत्र।
आशा छ
एकदिन पाउनेछौ,
पढ्नेछौ
र बुझ्नेछौ
जीवन, जगत्, प्रेम र पीडाको अर्थ।
त्यसैले बढ्दै छु अगाडि
आज जीवनपथमा
किनकि रोकिएको दिन
हुनेछ मेरो अन्त्य।