बिहानको नौ बज्नै लाग्दा
लम्किन्छन् एक जोडी पैतालाहरू
आशाको दियोमा तेल थप्न
हतार-हतार पुग्छन्
लाइन उभिएका सेवाग्राहीको अगाडि
सुशासन र समृद्धिको बिउ रोप्न।
सेवामा नवप्रवर्तन खोज्दै
व्यावसायिक हातले कलम चलाउँदै
फाइलमा मात्र हैन,
एक आमाको आँसुमा,
किसानको पसिनामा,
विद्यार्थीको भविष्यमा,
युवाको सपनामा,
सृजनशील दिमागले
नयाँ बाटो देखाउन खोज्छन्।
र थाहा छ,
राजमार्गको चक्रपथमा जाम हैन,
सम्भावनाको राजमार्ग हो
तर बिचमा
फाइलहरू ट्राफिक जस्तै अड्किन्छन्
सही हस्ताक्षर ढिला आउँछ,
जसरी चक्रपथमा ढिलो बल्ने हरियो बत्ती आउँछ।
भ्रष्टाचारको मिनिबस,
ढिलासुस्तीको ट्याम्पो,
र स्वार्थको मोटरसाइकलले
जनताको गन्तव्य रोकेर राख्छन्।
त्यसै बेला नागरिक आक्रोश बोल्छ
काठमाडौँको सडकमा मात्र हैन,
कार्यालयको फाइलमा समेत जाम छ।
जनताको सपना बायाँ मोड्न खोज्छ
तर
नोटको सिग्नल नबलेसम्म हरियो बत्ती आउँदैन।
यही जाम बिचमा
रेडियोमा स्वदेशमै स्वरोजगार र
अर्थतन्त्रमा आत्मनिर्भर कार्यक्रम आउँदै गर्दा
सडकमा सुनिन्छ
नागरिक असन्तुष्टि,
एम्बुलेन्समा बिरामीको रोदन,
न्यायालयमा बलात्कृत चेलीको चित्कार,
खेतमा कृषकको भोकमरी,
विदेशी मोहीले स्वदेशको नौनी विस्थापित गर्दाको पीडा,
रेमिट्यान्सको खोजीमा अरब बनाउन हिँडेको हर्के
र बिर्खेको बाकसमा आएको लास,
ग्रिनकार्डसँग नागरिकता साट्नेको देशभक्ति,
अनि रुन्छ बुद्धको बुद्धत्व, तराईको बाँझो खेत,
बाराको उखु, जुम्लाको स्याउ।
अनि चुनौती समाधान गर्दै
जनताका नयनमा आँसु पुछ्न
बढाइएका हातहरू
पीडामा मलम लगाउँदै
राष्ट्रसेवामा उभिएका छन् र
पर्खँदै छन् सुनौलो भविष्य कर्ममा
नयाँ सार्वजनिक प्रशासन।
आज सार्वजनिक प्रशासन
संघीयतामा व्यावसायिक बन्दै
नियम खोल्ने सिट्ठी बजाउँदै
घरदैलो सेवामा
साँघुरो गल्ली हुँदै
जनताको ढोकासम्म पुगेको छ।
र बुझेको छ
सेवा ढिलो भयो भने कसैको चुल्हो निभ्छ
निर्णय गलत भयो भने कसैको जीवन अन्धकार बन्छ
कलम केवल हस्ताक्षर हैन,
जनताको जीवनसँगको सम्झौता हो।
व्यावसायिकतालाई अनुशासित बनाउँदै
रगतमा सृजनशीलता घोलेर
मेट्दै अनियमितता र भ्रष्टाचार
सजावटका लागि हैन,
जनताको हाँसोको शपथ लिँदै
सृजनशील यात्रामा
अब समृद्धि बोर्डिङ पासमा हैन,
उड्ने विमानमा देखिनेछ।