बिहानीपख घाम राम्रोसँग लागेको छैन। यस्तो प्रतीत हुन्छ कि सूर्यका किरणहरू बादलको अभेद्य किल्ला नाघेर अगाडि बढ्न असमर्थ छन्। सशांक एक सुरमा कोठाको झ्यालबाट घरको कम्पाउन्डभन्दा केही परको जमिनतिर चियाउँछ। त्यहाँ एउटा रूखको नजिकै बडाबडा सेता ढुंगाहरू थुपारिएका छन्। उसको मन उद्वेलित हुन्छ मानौँ कि ती ढुंगाहरूले उसकै छातीलाई जोडसँग थिचेका हुन्। विस्मयको भावमा ऊ घरभन्दा मुनितिरको नयाँ टोललाई हेर्दछ।
साँढे पाँच वर्षको अन्तरालपछि सशांक विदेशबाट घर आएको हो। घरमा गर्नुपर्ने कामको सूचि लामो थियो।
दुई हप्ताअघि नगरपालिका कार्यालयले नगरमा गाभिएका पुरानो बस्तीका घरहरूले एक महिनाभित्र अनिवार्य नक्सा पास गर्नु भनेर सूचना निकालेको थियो। तोकेको समयसीमा भित्र नगरेपछि दोब्बर दस्तुर लाग्ने र सेवा-सुविधा रोक्का हुने चेतावनी समेत दिएको थियो। उसका बुबाले कुनै कन्सल्टेन्सी लगाएर नक्सा बनाउन लगाए। अनि चाहिने सबै दस्ताबेज जम्मा गरेर पालिकाको कार्यालयमा दर्ता गरेका थिए। तर के-के नमिलेको भन्दै फाइल अड्केर बसेको थियो रे। बुबाले भने, ‘अब तँ आइहालिस्। तेरो जिम्मा भो।’
यता आमालाई छोरोको बिहे नभएकोमा खपिनसक्नु पिर परेको थियो। दुर्लभ मात्र प्रकट हुने मातृ हठको सहाराले उनले छोरोलाई पण्डित बाजेकोमा हात र चिना हेराउन सहमत गराइन्। पण्डितले चिना हेरेपछि हातका औँलाहरू गनेर हाँस्दै भने, ‘बृहस्पति र शुक्रको स्थान हेर्दा त अहिलेसम्म बाबुको बिहे भइसक्नु पर्ने पो देखिन्छ।’ उसले सविनय सोचुँला मात्र भन्यो।
झट्ट हेर्दा कसैले पनि सशांक तेत्तिस वर्षको हो भन्दा पत्याउँदैन। दुवै कान वरिपरिका कपाल फुलिसकेका छन्। शिरको अघिल्लो भागबाट बिस्तारै कपाल झर्न थालेका छन्। उसको जीउडाल दुब्लो र अग्लो छ। आँखाहरू थकित र गम्भीर देखिन्छन् भने चिउँडोमा छ्यासमिस दारी पलाएको छ।
चिना हेर्ने कार्यक्रम सकिएपछि पण्डित बाजेले सशांकसँग विदेशका कुराहरू सोध्न थाले। अनि बस्तीको बारेमा गुनासो पोखे।
‘अहिले हेर्दाहेर्दै हाम्रो मूल बस्तीभन्दा अन्तबाट आएर पछि घर बनाउनेहरू कता हो कता धेर भइसके। बाबुहरू स्कुल पढ्दा तल कुलोसँगको गोरेटो बाटो जहिल्यै हिँडेका थियौ। कत्रो भल आउँछ बर्खामा, बाबुहरूले त देख्यौ नि। अहिले त्यो कुलो पुरेर गोरेटो बाटोलाई मोटर गुड्ने बाटो बनाएका छन्। त्यसमाथि ढलान पिच गरेर। अब बर्खाको पानी कहाँबाट बहन्छ ?’
पहिले सशांकको घरबाट मुनितिर खेतैखेत र चौरहरूको ठुलो फाँट थियो। फाँटको उत्तरी भागमा कुलो थियो जसको साँधमा लस्करै अग्ला अग्ला रूखहरू थिए। झमक्क साँझ नपरुन्जेलसम्म ऊ र उसका साथीहरू चौरमा फुटबल खेल्दथे। धेरै पछिसम्म पनि त्यो सुनसान खुला ठाउँ थियो। अहिले भने झ्याप्पै नयाँ बस्ती बनेको थियो। उसलाई सबथोक नौलो लागेका छन्। नौला घरहरू अनि नौलै मानिसहरू। बस्तीमा आएको परिवर्तन उसको कल्पनाभन्दा बाहिरको विषय थियो।
भोलिपल्ट पालिका कार्यालयमा सोधखोज गर्दै प्राविधिक शाखामा पुग्यो। त्यहाँ हातमा फाइल बोकेर ओहोरदोहोर गर्ने मानिसहरूको भिड थियो। कोठामा अल्मुनियमको पार्टिसनले विभिन्न खण्डमा विभाजन गरिएको थियो। सुरुको खण्डमा दुई ओटा साना टेबुल थिए। त्यस सँगैको कुर्सीमा छरितो जीउ भएका दुई जना केटाहरू फाइलहरू पल्टाएर हेर्दै थिए। तिनीहरू भर्खरै किशोरावस्था पार गरेका जस्ता देखिन्थे।
‘यो प्लानमा मिस्टेक नै मिस्टेक छ। करेक्सन गरेर ल्याउनुपर्ने छ,’ कालो क्याप लगाएको एकजनाले भन्यो।
‘के बिग्रेको छ?,’ सशांकले जिज्ञासु भएर सोध्यो।
किशोरहरू काममा व्यस्त थिए। तिनलाई व्याख्या गरिरहने फुर्सद थिएन।
केही जवाफ नआएपछि थोरै झर्किएर सशांकले पुनः सोध्यो, बिग्रेको चाहिँ के हो?’
दोस्रो ठिटोले उसलाई फाइल दिँदै इन्जिनियर सापकोमा जानुस् भन्दै पार्टिसनको अर्को खण्डतर्फ देखायो।
इन्जिनियर बस्ने क्याबिन अघिको खण्डभन्दा फराकिलो र उज्यालो थियो। त्यहाँ घुमाउरो आकारको ठुलो र आकर्षक टेबल थियो। त्यसको एउटा छेउमा कपमा विभिन्न रङका कलमहरू थिए। फाइल र डायरीहरू राम्रोसँग तह-तह मिलाएर राखिएको देखिन्थ्यो। बिचमा ल्यापटप राखिएको थियो। टेबलको पछाडि घुम्ने मेच थियो जसमा गाढा निलो कोट, सेतो सर्ट र निलै रंगको पाइन्ट लगाएकी युवती बसेकी थिई। हातमा रातो कलम थियो र निहुरिएर एकचित्तले फाइल हेरिरहेकी थिई।
सशांकले नमस्कार भन्यो। युवतीले हतार-हतार आवाज आएतिर पुलुक्क हेर्दै नमस्कार भनी र तुरुन्तै आँखाहरू फेरि फाइलतर्फ मोडी। सँगै ल्याएको फाइल टेबुलमा राखेर सशांकले इन्जिनियरतिर हेर्यो। उसले पनि लगत्तै केही विस्मययुक्त नजरले आफूकहाँ आएको सेवाग्राहीलाई दोहोर्याएर हेरी। एक निमेषभन्दा केही बढी समयको लागि सेवाग्राही र इन्जिनियर दुवै जनाको आँखाहरू जुधे। सशांकलाई ती आँखाहरू नौलाजस्ता लागेनन्। उसको मानसपटलमा एक नाम बिजुली चम्के जस्तो झल्याँस्स आयो। तैपनि झझल्को मात्र हो कि भन्ने ठानेर उसले छिटो-छिटो टेबुलको नेमप्लेटको नाम नियालेर हेर्यो। मानसपटल आएको र त्यो नेमप्लेट दुवैमा एउटै नाम थियो।
सशांक खङ्ग्रङ्ग भयो। नियतिले बाह्र वर्षपछि उसको भेट आभासँग गराइदिएको छ।
‘यो नक्सामा घरको साँधबाट कुलोसम्म छाड्नुपर्ने ग्याप मापदण्डभित्र पर्दैन। स्ट्येरकेस, के भन्छ, भर्याङका उचाइ र सिँढीहरू पनि मिलेका छैनन्। मिलाएर लेराउनुस्।’
आभाले यति भनी नसक्दै त्यहाँ अर्को सेवाग्राही आइसकेको थियो। फटाफट फाइल टिपेर सशांक कार्यालयबाट निस्कियो। बाहिर बादल लागेर चिसो हावा चल्दै थियो। मौसमसँगै उसको मुटु पनि चिसो भएको थियो।
आभासँग क्याम्पसमा पहिलो पटक परिचय हुँदा किशोरावस्थालाई भर्खर बिदाइ गरेको बेला थियो। सरल र हँसिली थिई अनि सहयोगी पनि। ऊ त्यस्तै थिई, जस्तो कि सबै किशोरकिशोरी हुन्छन्। तर प्रेम गर्न के विशेष चाहिन्थ्यो र! सशांकलाई आभाको त्यही सरलता मन परेको थियो। बिहेको लागि मात्र हो मान्छेले परिणामको लेखाजोखा गर्ने; प्रेम त निश्छल, निष्कपट र शिशुझैँ नादान हुन्छ।
पहिले त्यो रूखको छहारीमा बसेर खुला फाँटको दृश्यावलोकन गर्न मिल्थ्यो। तोरी फुल्ने याममा वरदेखि परसम्म पहेँलपुर हुन्थ्यो मानौँ कि धर्तीले आफूलाई पहेँलो कम्बलमा लपेटेको होस्। पारिलो घाममा फाँट रनक्क तातेको हुन्थ्यो। वृक्षको शीतल छहारीमा बसेर उसले चेखोबको ‘एबाउट लभ’ कथा अनगिन्ती पटक पढेको थियो। अनि आभालाई सम्झँदै कविताका पंक्तिहरू लेख्दथ्यो। ती कवितांशहरूमा भावनाहरू प्रचुर हुन्थे तर शिल्पी र शैलीको न्यून उपस्थिति हुन्थ्यो। भावनाका लहरमा उर्लिएर उसले एकदिन आभालाई प्रेम प्रस्ताव राखेको थियो। यो जान्दाजान्दै कि आभाको प्रतिक्रिया सकारात्मक आउँदैन भनेर। आखिर त्यही भयो, जे उसले अनुमान गरेको थियो।
फाँट र त्यो रूख शैशवकालमा उत्साहको साथी थिए। अनि किशोरकालका कोमल र निश्छल उमंगका साक्षी थिए।
फाँट हेर्दाहेर्दै घरैघरको कुरूप बस्तीमा विलुप्त भयो।
तीन दिनपछि ‘करेक्सन’ गरेको नक्सा लिएर ऊ शाखामा पुग्यो। त्यहाँ कर्मचारीहरू जम्मा भएका थिए। भिडभाड थियो र हल्लाखल्ला मच्चिएको थियो। तनावको वातावरण थियो।
‘तपाईँहरूको मापदण्ड पछि बनेको हो। हाम्रो घर पहिलेदेखि नै थियो। बनिसकेका घरहरू मापदण्डमा परेन भने हाम्रो सुविधा खोस्न मिलेन नि,’ एकजना मान्छे क्रोधित भएर बोल्दै थियो।
‘बस्ती पहिलेदेखि नै थियो मैले मानेँ। तर पक्की घरहरू त सबै पछि बनेका हुन् नि,’ आभाले स्थिर र ओजपूर्ण आवाजमा भनी।
क्रोधित मान्छे अवाक् भयो। फनफनिएर बाहिर निस्कियो। सबै कर्मचारीहरू यथावतको क्याबिनमा गए।
आभाले झ्यालको पर्दा खोली। क्याबिनमा घामका किरणहरू फैलिए।
सशांक क्याबिनमा पस्यो र नक्सा टेबुलमा राख्यो।
आभाले हातमा रातो कलम घुमाउँदै दत्तचित्त भएर नयाँ नक्सा हेरी र भनी, ‘ठिक छ। अगाडिको क्याबिनमा बुझाउनुहोला।’
यति भन्दै गर्दा उसको मुहारबाट अचानक मन्द मुस्कान फुत्कियो। सशांकले भने पत्तै पाएन। उसले तुरुन्तै आफूलाई सम्हाली र अनुहार पूर्ववत् औपचारिक बनाई।
दिनभरको दौडधुपले सशांक थकित थियो। घरको नक्साको काम सकिएकोमा उसको मुहारमा सन्तुष्टिको भाव छचल्किएको थियो।
त्यस रात सपनामा सशांकले देख्यो कि ऊ र आभा रूखको छहारीमा बसेर खुला फाँटलाई टाढासम्म नियालिरहेका थिए।