रोशन श्रेष्ठ स–परिवार सन् २०२१ मा डिभी भिसामार्फत अमेरिका गए। उनीहरू कोलोराडो राज्यमा बस्छन्।
रोशन त्यहाँ ट्रक चलाउँछन्। उनले आफै ट्रक किनेर चलाउन थालेको ४ महिना भयो।
'पहिले एक कम्पनीमा काम गरेँ। भर्खरै जस्तो हो, आफ्नै चलाउन थालेको,' उनले भने।
उनी सामान ढुवानी गर्छन्। सामान लोड–अनलोडको काम भने कम्पनीले खोजिदिन्छ।
उनका अनुसार अमेरिकामा सामान लोड–अनलोड गर्ने छुट्टै कम्पनी हुन्छन्। उक्त कम्पनीसँग रोशनले सम्झौता गरेका छन्। सम्झौता अनुसार सातामा नाफाको ८ प्रतिशत कम्पनीलाई बुझाउँछन्।
कम्पनी सञ्चालन गर्न रोशनले नसक्ने होइनन्, तर भर्खरै यो पेसामा हात हालेकाले पुरानो कम्पनीसँग काम गरिरहेको उनले बताए।
'सामान ढुवानी गर्न राज्य अनुसार नै अनुमति लिनुपर्छ। त्यसको छुट्टै प्रक्रिया हुन्छ,' रोशनले भने, 'पछि आफ्नै कम्पनी खोल्छु।'
अनुमति बाहेक लोड (सामान) लिन विभिन्न एप्स प्रयोग गर्नुपर्छ। यसको मासिक करिब १६० डलर शुल्क लाग्छ।
यस्ता कम्पनी आफैले सामान ढुवानी गर्नुपर्ने ग्राहक खोज्छन्। कम्पनीले भने अनुसार सामान ढुवानी गर्नुपर्छ।

'हाम्रो काम सामान ढुवानी गर्ने मात्र हो। ट्रकभित्र के सामान छ भन्ने पनि थाहा हुँदैन,' रोशनले भने, 'ठाउँ अनुसार सामान पुर्याउने हो।'
ट्रक व्यवसायमा काम गर्दा धेरै चुनौतीहरू सामना गर्नुपर्ने उनी बताउँछन्।
रोशन महिनामा करिब १५ दिन मात्र घर आउँछन्। बाँकी समय उनको बाटोमै बित्छ। ट्रकमै खाना पकाउने तथा सुत्ने सुविधा छ। यात्रा क्रममा ट्रक स्टपहरूमा इन्धन भर्ने, नुहाउने र लुगा धुने सुविधा उपलब्ध हुन्छ।
त्यसका साथै, सरकारले करिब २५ देखि ४० माइलको दुरीमा रेस्ट एरिया (आराम गर्ने ठाउँ) पनि बनाइदिएको हुन्छ।
तर काम सजिलो छैन।
'हिउँ परेको बेला ट्रक चिप्लिने जोखिम हुन्छ। तर सामान बोकेर हिँडेपछि फर्किन पाइँदैन। ग्राहकले दिएको डेलिभरी समयमा पुर्याउनैपर्छ,' उनले भने।
सामान समयमै पुर्याउनुपर्ने दबाबका कारण चालकले सधै ट्रक राम्रो अवस्थामा राख्नुपर्छ। यात्रा क्रममा नियमित परीक्षणमा समस्या भेटिए तुरून्त मर्मत नगरी अगाडि बढ्न नपाइने नियम हुन्छ।
मर्मत नगरे, स्टिकर टाँसिदिने र त्यसको जरिवाना मर्मतभन्दा महँगो पर्ने उनी बताउँछन्।
यी सबै चुनौतीबीच ढुवानी क्रममा हालसम्म उनले अमेरिकाका ४८ वटा राज्यमा यात्रा गरिसकेका छन्।
रोशनले अमेरिका पुग्नेबित्तिकै अमेजनको वेयरहाउसमा काम सुरू गरे। श्रीमान–श्रीमती दुवै एकै कम्पनीमा काम गर्थे। उनीहरूको काम सामान प्याकिङ गर्ने थियो।

रोशनले त्यो काम डेढ वर्ष गरे। उनले नेपाल हुँदै अमेरिकामा ट्रक चलाउँदा आम्दानी राम्रो हुने कुरा बुझेका थिए।
उनले कम्पनीमा आफू पनि ट्रक चलाउन इच्छुक भएको प्रस्ताव राखे। कम्पनीले नै लाइसेन्स निकाल्ने तालिम दियो।
त्यसपछि उनको नयाँ यात्रा सुरू भयो। ट्रक चलाउँदा आम्दानी बढ्यो, दैनिकी सहज हुँदै गयो। लाइसेन्स निकालेपछि ६ महिना रोशनले त्यही कम्पनीमा ट्रक चलाए।
'यहाँको राम्रो पक्ष के छ भने कर्मचारीको इच्छा अनुसारको कामको तालिम कम्पनीले नै दिन्छ,' उनले भने, 'तर तालिम लिएपछि कम्तीमा ६ महिना चाहिँ काम गर्नुपर्छ।'
त्यसपछि उनी अर्को एक कम्पनीमा जोडिए। त्यहाँ लगभग एक वर्ष काम गरे। त्यसपछि आफै ट्रक किनेर चलाउन थालेका हुन्।
'सेकेन्ड–ह्यान्ड ट्रक किनेको हुँ। करिब २५ हजार डलर लाग्यो,' उनले भने।
उनी नेपालमा हुँदा फोटो पत्रकार थिए। अमेरिका आएपछि दुःख भए पनि भविष्यबारे भने चिन्ता लिन नपरेको उनलाई महसुस भएको छ।
अमेरिकामा मेहनत अनुसार राम्रो पारिश्रमिक पाइने उनको अनुभव छ।
'नेपालमा सबभन्दा बढी खर्च बच्चा पढाउन हुन्छ। यहाँ निःशुल्क छ, बोतलमा पानीबाहेक केही पठाउन पर्दैन। त्यसैले आर्थिक दबाब छैन,' रोशनले भने, 'हामीले दुःख गर्न परे पनि बच्चाको भविष्यबारे धेरै चिन्ता लिन परेको छैन।'