बिहान भर्खर निद्रा खुल्दै थियो, घर बाहिर त के भनौं छाप्रो बाहिरबाट ठूलो हल्ला खल्लाको आवाज आयो।
पाँच दश मिनेट अझ सुतौं कि सोचेको थिएँ तर हल्लाले पटक्कै सुत्न मन लागेन। सानी छोरी मेरो जिउमाथि खुट्टा राखेर निदाएकी रहिछ उसको खुट्टा बिस्तारै झिकेर तल राखी बिस्ताराबाट उठेंँ।
छेउपट्टि फाटेको तन्ना काटेर बुढीले सुत्ने ठाउँलाई पकाउने ठाउँबाट छुट्टाउने ‘पार्टेशन‘ बनाएकी थिई। त्यसले हाम्रो छाप्रोलाई कम्ता आकर्षक बनाएको थिएन। त्यही आकर्षक बुट्टे पर्दा खोलेर निस्कँदा चुलोमा बसालेको कराइमा केही पाक्दै थियो, तरकारी थियो सायद।
बुढी भने त्यहाँ थिइन। म छाप्रोबाट विस्तारै बाहिर निस्केँ, बाहिर त ठूलै कोलाहल रहेछ। जाडोमा पटक्कै ठिही रोक्न नसक्ने, झरीमा पानी थाम्न नसक्ने मेरो छाप्रोले पनि आवाज चाहिँ केही मात्रामा रोक्दोरहेछ। मलाई मेरो छाप्रोको त्यही एउटा विशेषतामा पनि गर्व थियो। परबाट बस्तीमा डोजर चल्दै हाम्रैतिर आउँदै रहेछ। सबै जना आफ्ना सामान जोगाउन सकिन्छ कि भनेर छाप्राबाट सामान झिक्दै रहेछन्। भागदौडको वातावरण थियो।
बच्चा, बिरामी र बुढाबुढीहरूले सामान ओसार्ने काममा ‘डिस्टर्व गरेझैं देखिन्थ्यो किनकि उनीहरू के गर्ने/ के नगर्ने? स्थितिमा रूँदै, चिच्याउँदै र ऐँया ऐँया भन्दै यता उता गरिरहेका थिए। बस्ती खाली गर्न उर्दी त दुई दिन पहिला नै आइसकेको थियो।
अघिल्लो साँझबाट त एकोहोरो माइकिङ गरिरहेको थियो नगरपालिकाले। तर पनि फालिनै हाल्ला भन्ने मनमा थिएन, डर धम्की देला र हुकुम्बासी भाग्लान् अनि हामी जस्ताको केही बन्दोबस्त होला भन्ने लागिरहेको थियो। सामान धेरै हुनेले त सामान ओसारिसकेका थिए अघिल्लै दिन।
हामी जस्ताको थोत्रो मोत्रो सामान कता सार्ने? कहाँ लगेर राख्ने? डेरा खोजेर पैसा तिर्ने हैसियत त थिएन, थिएन। हाम्रो झुत्रो सामान देखेर डेरा भेट्टाउन पनि मुस्किल थियो। त्यसैले फालि त नहाल्ला भन्दै, बुढीले कतै बन्दोबन्त गरौं न सबैले गरिसके भनेको आग्रहलाई बेवास्ता गर्दै म हिजोको दिन निस्फिक्री बसेको थिएँ। राज्य नै हामीमाथि यति क्रुर होला भनेर हामीले सपनामा पनि सोचेका थिएनौं। यही विश्वास नै हामीलाई भारी पर्यो।
पोहोर दिवालीमा तेह्रथुम जाँदा खुर्सानी फूलको बिरूवा ल्याएर छाप्रो अगाडि गाडेको थिएँ। हलक्कै बढेर फूल फुलिसकेको थियो। फूलको बोट देख्दा आफ्नो जन्म ठाउँको हुरूक्क माया र सम्झना दुवै एकसाथ लागेर आयो। फूलको पातमा शीत ओभाएको थिएन। शीतको थोपा देखेर त्यसको र आफ्नो जिन्दगीको नियति उस्तै लाग्यो। आकाशबाट अनायास पातमा झरेर फेरि खसिने हो कि बिलाउने हो ठेगान नभएको। छिमेकीको बच्चा दौडिँदै आएर फूलको बिरूवा समातेर हल्लाउँदै खेल्न थाल्यो र शीतको थोपा टिल्पिलाउँदै भुइँमा झर्यो। म झसंग भएँ।
तेह्रथुम मेरो बाउ बाजेको थातथलो। मेरो अस्तित्व जोडिएको ठाउँ। मेरो हो भनेर हक लाग्ने ठाउँ। कसलाई मन हुन्छ र आफ्नो थलो छोडेर बसाइ सर्न? अझ हजार ठक्कर खाँदै खाँदै काठमाडौंको नदीकिनारको दुर्गन्धित बस्तीमा टहराको जिन्दगी जिउन। फाँटमा जग्गा नभए पनि २/३ रोपनी पाखो बारी थियो। खाद्यान्न बाली लगाए तीन महिनालाई छाक टार्न पुग्दैनथ्यो। तीन तीन वटा बच्चा भइसकेका थिए। तिनको लालनपालन, औषधि मुलो साह्रै सकस बन्न थालेका थियो। गाउँमा ऐंचोपैचो,आत्मीयता र सम्मान प्रशस्त पाइने हुँदा अभर नपरी गाउँ समाज छाड्न कसैलाई मन लाग्दैन तर माया र आत्मीयताले मात्र जिन्दगी चल्दोरहेनछ। कोदो/फापरको भर परेर पार पाउन नसकेपछि हामी साह्रै बिलखबन्दमा थियौं। त्यही बेलामा अलैंची खेतीले मनग्य आम्दानी हुने, कम खर्च र मेहनतमा राम्रो प्रतिफल दिने हुनाले त्यही खेती गर्न उपयुक्त हुने सल्लाह कृषि प्राविधिकहरूले पनि दिए।
ठूलो सपना र आशा लिएर सबै पाखोबारीमा ‘खोल्सीको सुनध्र भनेर चिनिने अलैंची खेती गर्ने निधो गरियो पूरै गाउँले मिलेर।
अलैंची खेतीले उत्पादन दिन थालेपछि हाम्रो जीवनमा राम्रै परिवर्तन ल्याइदियो। गाउँमै आएर राम्रो मूल्य तिरेर अलैंची किन्न थाले। अलैंचीको आम्दानीले घरमा जस्ताको छानो फेरियो। छोराछोरीलाई बोर्डिङ स्कुलका भर्ना गरियो। दुई छाक खान, लुगाफाटो फेर्न र दुःख बिमार पर्दा औषधि मूलो गर्न गाह्रो हुन छाड्यो। समूहको सहकारीमा थोर धेर बचत पनि गर्न थालिएको थियो। छोटोमा भन्दा सन्तोषको जिन्दगी जिउन सुरूआत भएको थियो।
तर हाम्रा सुखका दिन धेरै दिन टिकेनन्। गाउँमा बाँदर आतंक छायो। हुलका हुल बाँदर आएर बोटको गुभा नै मासिने गरेर अलैंची खेती सखाप पारिदिए। हामीसँग अलैंचीको आम्दानी बाहेक अर्थ उपार्जनको अरू कुनै साधन थिएन। न त हाम्रासामु आय आर्जन गर्ने अरू कुनै विकल्प नै थियो। तै पनि हामीले अर्को सिजनसम्म कुर्यौं। बाँदर धपाउन कुकुर पाल्ने, बाँदर गाउँ पसे रे भनेपछि ठूलो ठूलो आवाजमा ढोल बजाउने आदि इत्यादि गर्दथ्यौं।
तर बाँदरहरू यसरी हुल बाँधेर आउँथे कि हाम्रा सबै प्रयासहरू निरर्थक हुन्थे। नगदे बाली सखाप पारे मात्रै त हुन्थ्यो। तरकारी, सागपात पनि जरैदेखि निमोठ्थे। करेला नखाने बाँदरले टिपेर टुक्राटुक्रा पारेर यसरी मिल्काउथ्यो, लाग्थ्यो उनीहरूलाई हरेक चिज ध्वस्त पार्नु मात्र थियो। तर बाँदरलाई के थाहा उनीहरूले हाम्रो खेती बाली मात्र नाश गरेका थिएनन् हाम्रो अस्तित्व, अपनत्व, जिजीविषा र कर्ममा लात हानेर हामीलाई सुकुम्बासी बन्न बाध्य पारेका थिए।
वर्षभरिको मेहनत बाँदरलाई फाड्न छाडेर भोकै नाङ्खै थातथलो रुङ्न सकिएन। जति माया र अपनत्व भए पनि एकदिन पुर्खाको थलो त्यो पाखोलाई छाडेर जहान बच्चालाई खानासम्म जुटाउने उपाय खोज्न हिँड्ने निर्णय गर्यौं हामी जोइपोइले। गाउँका अन्य परिवार पनि क्रमशः बसाइँ सरेर गाउँ रित्तो भयो, हाम्रो सहकारी पनि हामीसँगै तितरवितर भयो। अलिअलि लत्ता कपडा र रहेल पयल सामल बोकेर तराईतिर झरियो।
पहाडबाट हेर्दा तराई सुगम र सुलभ ठाउँ लाग्दोरहेछ। तर त्यहीँ पुगेर हेर्दा हामी जस्तो साथमा केही नहुनेका लागि तराई पनि जिउन साह्रै गाह्रो ठाउँ रहेछ। गर्मी ठाउँ, बस्ने ठाउँको टुंगो नहुनु, सर्प र लामखुट्टेको बिगबिगी अनि न्यून ज्यालामा काम गर्नुपर्ने अवस्थाले तराईमा बस्न सक्ने अवस्था रहेन। छोराछोरीको पढाइको टुंगो त थिएन नै। दुई जनाको मजदुरीले ५ जनाको परिवारलाई खान नै धौधौ भैरहेको थियो। जीवनसँग हार खाने बेला हुन लागेको थियो। सायद यस्तै परिस्थितिमा बाबुआमाले छोराछोरीलाई मारेर आफूले आत्महत्या गर्दा हुन्। मैले जीवनमा आफूलाई यति निरूपाय र असह्य सायद कहिल्यै पाएको थिएँ।
एकदिन काममा एउटा साथी भेटियो जसले आफू परिवार सहित काठमाडौंतिर भविष्य खोज्न हिँडेको बतायो। काम सजिलै पाइने, ज्याला पनि बढी हुने, दुई–तीनतिर काम गर्न पनि सकिने, बुढीहरूलाई पनि सजिलो घरेलु काम लगाउन सकिने, गर्मी कम भएकाले एक छाक कम खाएर पनि नछटपटाई बाँच्न सकिने जस्ता कुराले ममा आशाको त्यान्द्रो पलायो, जहान केटाकेटीको प्राण धान्न सकिन्छ कि भनेर। साथीसँग ‘म पनि जान्छु सहयोग गर्छौ?’ भनेँ उसले एकै बचनमा सहमति जनायो। अनि बुढीसँग सल्लाह गरेर हामी दुई परिवार रात्री बस चढेर काठमाडौं हानिएका थियौं।
सपनाको सहर काठमाडौं त आइयो। पाँच पाँच वटा भोका पेट थिए, बासको टुंगो थिएन। खाना खान धौ हुनेले बस्न होटल खोज्न सक्ने सामर्थ्य हुने कुरा भएन। दुइटी छोरी अनि श्रीमतीको सुरक्षा पनि कम चुनौतीको कुरो थिएन, छोरो र म त जहाँ लड्न पनि सकिन्थ्यो। त्यो दिन गोंगबु–सामाखुसी क्षेत्रमा काम खोज्दा बित्यो। भन्न पो काम सजिलै पाइने भन्ने रहेछ। काम खोज्दा त बाउको बिहा नै देखिँदोरहेछ। बल्ल बल्ल काम छ भने पनि उधुमै सोधीखोजी हुँदोरहेछ।
पहाड घर कहाँ हो? बसाइ कहाँ छ? कति भो काठमाडौं आएको आदि इत्यादि। बासको टुंगो लागेर फलानो घरमा बस्छु, मेरो बारेमा घरबेटी र छिमेकीलाई सोध्न सक्नुहुन्छ भन्ने ल्याकत राख्नुपर्ने रहेछ काम पाउन। दुई दिनसम्म काम खोजेर लखतरान परेपछि हामीलाई पहिला सार्वजनिक जग्गामा भए पनि बस्ने टुंगो लाउन पर्छ भन्ने लाग्यो। त्यतिन्जेल हामी राति माछापोखरीको तरकारी बजार नजिक बरण्डामा शरण लिइरहेका थियौं। त्यहीँनेर बस्ने मगन्तेले हामीलाई विष्णुमति खोलाको किनारमा सुकुम्बासी बस्ती रहेको जानकारी दिएको थियो। अर्को दिन बिहान हामी सुकुम्बासी बस्तीतिर बासको खोजीमा निस्क्यौं। खोला किनारको त्यो भाग पूरै भरिएको रहेछ।
कतै अन्तरकुन्तरमा ओत लाग्ने ठाउँ बनाउन सकिन्छ कि भनेर दिनभरी खोजी हिँड्यौँ कहीँ फेला परेन। भट्टी पसल जस्तो छाप्रोमा पसेर सोधखोज गर्यौ आफ्नो बारेमा सबै भन्यौं। त्यहाँको बस्ती त धेरै अगाडिबाट भरिएको रे। खाली जग्गा नपाए पनि भाडामा छाप्रो मिलाइदिने कुरा गर्यो त्यो भट्टीवालाले।
महिनाको पाँच हजारमा एउटा १२ हजार ८ सय १० को कोठा, न शौचालय। पानी पनि सार्वजनिक चापाकलको। नहुनुभन्दा हामीलाई त्यो पनि स्वर्ग भयो। परिवारलाई ओत लाएर काम खोज्न हिँड्दा पनि एक खालको सन्तोष हुन्छ जस्तो लाग्यो। बैना दिन पैसा थिएन। कमाएर पैसा दिने शर्तमा हामीले कोठा लियौं। जिन्दगीको नयाँ यात्रा सुरू भयो फेरि।
मैले होलसेल पसलमा सामान गाडीमा राख्ने/झार्ने काम पाएँ। बुढीले त्यही होलसेल पसलेको छिमेकीकोमा घरमा सरसफाइको काम पाएँ। पायो भने मैले अन्त पनि भारी बोकेर धेरथोर कमाउन थालेँ। महिनाभरी रूखो सुखो खाने र छाप्रोको भाडा तिर्न सक्ने अवस्थामा हामी पुग्यौं। हामीसँग साह्रै ठूला रहर पनि थिएनन्। केटाकेटीलाई सरकारी स्कुलमा नै पढाए पनि केकेमा अलि अलि खर्च आइहाल्ने। देखासिकीमा पनि केटाकेटीका रहर पूरा गर्दा धेरथोर खर्च उठ्ने।
केटाकेटीका साना साना रहर पुर्याउन अनि खान बस्न पुग्ने भएपछि हामी सन्तोष मानिरहेका थियौं। सानी छोरी दुई वर्षकी लिएर आएको सात वर्षकी पुगी यस बीचमा मैले बिहानदेखि बेलुकासम्म दुई सिफ्टमा काम गर्ने गरी गार्मेन्ट फ्याक्ट्रीमा काम पाएँ।
बुढीले पनि बिहान एउटा घरमा र दिउँसो अर्कोमा सफाइको काम पाई। हाम्रो छाप्रोको साहु विदेश जाने भएछ। उसले ८० हजारमा छाप्रो नै बेच्छु भन्यो। महिनामारी भाडा तिर्नभन्दा हामीले बचत गरेर राखेको पैसामा, साहुसँग पछि ज्यालामा कटाएर दिने गरी सापटी मागेको पैसा थपेर छाप्रो किन्यौं। लालपुर्जा नभए पनि आपसी विश्वासमा चल्ने आधारमा हामी छाप्रोको मालिक बन्यौ। मुख र मुठ्ठी मात्र लिएर आएका हामीलाई ओत किन्नु सानो कुरा थिएन। त्यो दिन हामीले मासु पकाएर हाम्रो हैसियतको पार्टी गर्यौं। सँगै आएको साथीको परिवार र छिमेकीलाई पनि बोलाएर मासु, चिउरा, अचार र कोक ख्वायौं।
यस बीचमा बचतको पैसाले छाप्रोमा इँटा र सिमेन्टको एकसल गारो लगाएका थियौं, एक दुई वर्षमा त प्लास्टर पनि गर्न सकौंला भन्ने थियो। सानो सानो टिभी किनेका थियौं। सुत्ने सेकेण्ड ह्याण्ड पलङ किनेका थियौं। भाडाकुँडा पनि थपेका थियौं। पानी सफा खानलाई युरोगार्ड समेत किनेका थियौं। हाम्रा लागि मस्त जीवन चलिरहेको थियो। दिनभर काम गरेर लखतरान परे पनि सन्तोष थियो। थोरै भए पनि कमाइ थियो। एकसरो लुगा फाटो, बिहान बेलुकाको खानालाई साह्रो चिन्ता थिएन। दुःख बिमार पर्दालाई थोरै साँचो मुचो पनि थियो। तर अकस्मात फेरि हाम्रो खुसीमा ग्रहण लाग्यो, भाग्यमा बज्रपात भयो र परिवारको भविष्य खोसियो। ठूलो दुःखले आर्जेको मेरो साम्राज्य ढल्यो। मेरो सर्वश्व नासियो।
विगतको सम्झनाको तरेलीमा बग्दै गर्दा, म कतिबेला घर अगाडिको सडक पारी पुगेँ? मेरो छाप्रोमाथि कति बेला ढल्यो? मेरा छोराछोरी र बुढी कतिबेलादेखि मेरो छेउमा टाँसिएर सुँक्क सुँक्क गर्दै बसिरहेका थिए। मैले केही भेउ पाइरहेको रहेनछु। झसंङ्ग भएर हेर्दा खोलाको किनार कबाड खाना जस्तो थियो। हाम्रो छाप्रो यहीँनेर थियो भन्ने बाहेक हामीसँग भौतिक रूपमा केही बाँकी थिएन।
वास्तविक सुकुम्बासीले सरकारसँग नाम दर्ता गराउने उर्दी त आयो तर त्यस्ता व्यक्तिसँग नेपाल अधिराज्य भित्र कहीँकतै जग्गा भएको थाहा भए कारबाही हुने सूचना पनि सँगै आयो। मेरो नाममा गाउँमा जग्गा भएका कारण चुनौती मोलेर नाम दर्ता गर्ने दुःसाहस गरिनँ किनकी मलाई राज्यबाट अर्को लात खाने रहर थिएन। हाम्रो वास्तविक पीडा बुझ्ने कसलाई पो चासो र फुर्सद थियो र? नत्र भने यो देशमा जन्मनु बाहेक मैले अरू गल्ती गरे जस्तो लाग्दैन।
हो, मसँग तेह्रथुममा २/३ रोपनी पाखो बारी थियो/छ। तर त्यहाँ गरिखान केही उपाय नलागेर अनेक हण्डर ठक्कर खाँदै काठमाडौं आएको हो। मलाई अप्ठयारो पर्दा त्यही नदी किनाराको छाप्रोले मलाई ओत र सुरक्षा दिएको हो। जिन्दगीदेखि थाकेको परिवारलाई जीवन दिएको हो। मेरा परिवारका लागि त्यो छाप्रो आशा, भरोसा र भविष्य पनि थियो। एउटै शब्दमा भन्दा त्यो छाप्रो हाम्रो ‘सर्वश्व’ थियो। खोलाबाट ढलको दुर्गन्ध आउँदा पनि हामीलाई घिन लाग्दैनथ्यो। त्यही फोहोर, त्यही अस्तव्यस्तता, त्यही साँघुरो पनि हामीलाई लाख थियो। अप्ठ्यारो पर्दा अंगालेको, मेरा छोराछोरीको बालापन र हाम्रो यौवनकाल बिताएको त्यो छाप्रोमा हाम्रा अनमोल स्मृतिहरू जोडिएका थिए।
आफूसँग पैसा भएका भए कतै जग्गा किनेर छाप्रो हालिन्थ्यो होला। हातमुख जोड्न नै मुस्किल हुने अवस्थाका हामीले कहाँबाट घर जग्गा जोड्ने?जिन्दगीभर मेहनत गरेर जोडेको एउटा छाप्रो त खोस्ने राज्यसँग आशा राख्ने ठाउँ पनि थिएन।
अब म कहाँ जाने? आफै टुटेर सिध्दिन लागेको मान्छेले जहान छोरा छोरीलाई केले ढाडस दिने? राज्यको मापदण्डमा म सुकुम्बासी हैन तर श्वास बाहेक बाँकी मेरो केही छैन भने अब मैले के गर्ने? मानिस एक पटक मर्छ तर मलाई नियतिले पटक पटक मारिरहेको थियो। हामी जस्ता राज्यका कुनै मापदण्डमा नपर्ने, धरतीका बोझ जनताको छाप्रोमा डोजरभन्दा गोला बारूद चलेको भए कति आनन्द हुन्थ्यो होला है?