हिजोअस्तिको काठमाडौं
धेरैपछि काठमाडौंको कुरा गर्न मन लग्यो। केही अस्तिको, केही हिजोको, केही आजको।
जब जब कुनै सरकारले नदी–खोला अतिक्रमणको कुरा गर्छ, म आफ्नो सम्झनामा रहेका काठमाडौंका नदी सिमाना र बगरको कुरामा बहकिन्छु। पुराना नदीका 'रिभर बेड' फाँटहरूमा हराउन थाल्छु।
कहाँ गए ती नदी–खोलाहरू, बगरहरू?
कहाँ बगे ती चाँदी झैं टल्कने सिलिकाका पाता मिसिएका बालुवा?
कहाँ गए ती किनारतिर झाँगिने नर्कटका झाँगहरू?
अरू ठाउँको कुरा म कहन्न, किनकि ती मैले देखेको थिइनँ। म काठमाडौंकै कुरा गर्छु, किनकि म करिब ५० वर्षको काठमाडौंको प्रगति वा विगतिको साक्षी हुँ।
आज म काठमाडौंका नदी र नदी किनारसँग जोडिएका केही स्मरण र केही सुनेका कुरा गर्दैछु।
काठमाडौं उपत्यका, अर्थात नेपाल खाल्डोको इतिहास र नामहरू नेवा सभ्यतासँग जोडिएका थिए। प्राय: ठाउँ र खोलाका नाम नेवारीमै हुन्थे।
म यहाँ भूतकालमा किन बोल्दैछु भने, अचेल ती नेवारी नामहरू प्राय: प्रचलन बाहिरका भइसके। प्राय: अपभ्रंशित संस्कृत वा खस नाम नै प्रचलनमा छन्।
बाग्मतीकै कुरा गरौं।
केही समयअघि ऐतिहासिक महेशराज पन्तसँग नुवाकोट भ्रमणका दौरान काठमाडौं र पुराना नेवारी नामको कुरा निस्कियो।
'नेवारीमा नदी–खोलालाई 'खुसी' भन्छन्, त्यसैले जुन जुन खोलाको नामको पछाडि 'खुसी' वा खुसीको छोटकरी अक्षर 'खु' आउँदैन, त्यो नाम पुरानो नेवारी होइन,' उनले सम्झाए।
हामीले पछाडि 'खुसी' वा 'खु' आउने खोलाका नाम लिँदै गयौं — बल्खु, सामाखुसी, नख्खु ...
'नख्खु' को नाम आउनेबित्तिकै, पन्तले रोके र प्रश्न तेर्स्याए, 'बाग्मतीको नाम थाहा छैन?'
म एकछिन गमेँ र आमाबुबाले के भन्थे भनेर सम्झन खोजेँ। सम्झनामा बाग्मतीभन्दा अर्को नाम आएन। मेरी आमा पशुपतिको बाग्मती किनारमा हुर्केको र बा पाटनको शंखमुल किनार खेलेको भएर मैले काठमाडौं र पाटनमा बाग्मतीलाई के भन्थ्यो होला भनेर उनीहरूको बोली सम्झन खोजेँ। तै पनि नेवारी नाम सम्झनामा आएन।
मैले 'बाग्मती' मात्र सुनेको सम्झिएँ।
'अघि नख्खु भन्नुभो नि, हो काठमाडौंभित्र बहने र बाग्मतीमा मिसिने मुख्य शाखा खोलाहरूमध्ये अन्तिमको नख्खुले मात्र बाग्मतीको नाम बोकेको छ। बाग्मतीको नेवारी नाम नै 'न:खु' हो,' पन्तले भने।
'न' भनेको त फलाम! भनेपछि फलामबाट यो नदीको नाम आएको हो त?' मैले प्रश्न गरेँ।
'होइन, तपाईंको नेवारी भाषामा बोल्नुलाई के भन्छ?'
'नवागु'
'हो, न:खुको नाम 'नवागु खुसी' बाट अपभ्रंश हुँदै 'न:खु' भएको हुनुपर्छ,' उनले अर्थाए।
अनि फेरि प्रश्न गरे, 'बाग्मती भन्ने नाम कहाँबाट आयो होला त?'
मैले स्कुलमा सुने–पढेको कुरा सम्झँदै भनेँ, 'बाग्मतीको मुहान बागद्वार भएर...!'
मेरो वाक्य पूरा नहुँदै पन्तले भने, 'यो तर्क कसले कहाँबाट सुरू गर्यो थाहा छैन, तर नेवारी नाम न:खु – नवागु खुसी अर्थात बोल्ने खोलाबाट संस्कृतमा 'वाच्' शब्दमा 'मती/वती' प्रत्यय जोडेर 'वाग्वती' वा 'वाङ्गमती' बनेको हुनुपर्छ। 'वाच्' को अर्थ बोली, ध्वनि वा आवाज पनि हुन्छ।'
'वाग्वती' वा 'वाङ्गमती' हुनुपर्नेमा व्याकरणको हिसाबले अशुद्ध भए पनि कालान्तरमा 'बाग्मती' प्रचलनमा रह्यो भन्ने उनको भनाइ थियो।
मैले यी सबैलाई एक लाइनमा सँगै राखेर विचार गरेँ —
न:खु – न्वाखु – न्वाखुसी – नवागु खुसी – बोल्ने खोला – वाच् वती – वाङ्गमती – बाग्मती।
त्यो बेला बाग्मती नदीकै स्वरूपमै रहँदा आवाज निकाल्दै बग्थ्यो होला। त्यसैले त बोल्दै हिँड्ने खोलाको नाम पाएको होला —
न:खु – नवागु खुसी – बोल्ने खोला – वाच् वती
काठमाडौं उपत्यकालाई बाग्मती सभ्यता मान्ने हो भने, काठमाडौंको विकासक्रम बुझ्न बाग्मती र यसका शाखा नदी बगेको बाटो र यसले चर्चेको, सिँचेको क्षेत्र र योसँग सम्बन्धित धार्मिक, सांस्कृतिक आस्थाहरू बुझ्नुपर्ने हुन्छ।
नदी–खोलाको जमिन मिच्यो भन्नुभन्दा पहिले कहिलेको खोला र कुन कालको खोलाको प्रवाहलाई आधार मान्ने, त्यो यकिन गर्नुपर्ला।
सरकारी नक्सामा भएको वर्तमान आधिकारिक सीमांकनतिर म जाँदिनँ। म यहाँ दुईवटा थप तर्क प्रस्तुत गर्छु।
नदीको बाटो र यसले चर्चेको भूभाग हेर्न मैले स्याटलाइट तस्बिरहरू खोजेँ। एकै ठाउँको तीन समयका तस्बिर भेटेँ। यहाँ देखाइएका यी तस्बिरमा बायाँ माथिल्लो पट्टि – (a) अंकित ठाउँ वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (जेनजी आन्दोलन बेला जलाइएको संसद भवन) र दायाँ तलपट्टि (i) अंकित ठाउँ तीनकुने र बीचको बानेश्वर क्षेत्र हो। बीचभन्दा थोरै दायाँ पट्टि बाग्मती देखिन्छ।
पहिलो तस्बिर सन् १९६७ (कोरोना भूउपग्रह), दोस्रो सन् १९९१ (स्पिन भूउपग्रह) र तेस्रो सन् २००० (इकोनोस भूउपग्रह) ले लिएको हो।
मैले यी तस्बिरहरू राजेशबहादुर थापा र युजी मुरयामाले एप्लाइड जियोग्राफी जर्नलमा छापेको लेखबाट साभार गरेको हुँ।
बानेश्वर–तीनकुने क्षेत्रका तीन तस्बिर —
सन् १९६७ – कोरोना भूउपग्रह
सन् १९९१ – स्पिन भूउपग्रह
सन् २००० – इकोनोस भूउपग्रह
यी तस्बिर हेर्दा सन् १९९१ सम्म बाग्मती वरिपरि खुला जमिन देखिन्छ। १९९१ भनेको विक्रम सम्बत् २०४६/४७।
यो क्षेत्रमा सबभन्दा बढी घर २०४६ सालपछि बनेको देखिन्छ र नदी दायाँबायाँ घर बन्न थालेको पनि त्यही समयपछि हो। यो जायज थियो कि थिएन, कानुनसम्मत थियो कि थिएन, चाहना भए सरकार र सम्बन्धित नगरपालिकालाई पत्ता लगाउन गाह्रो पर्दैन।
यस्तै भूउपग्रह तस्बिर मनहरा, धोबीखोला, टुकुचा, नख्खु, बल्खु सबैको निकाले अनुसन्धानका लागि सहयोग पुग्छ नै।
त्यस बेलाका सरकारी कर्मचारीहरू अहिले अवकाशप्राप्त भए होलान्, प्राय: जीवितै होलान्। कसको पालामा कसको हस्ताक्षरबाट यी जमिन नामसारी भए, ढड्डा पल्टाए देखिन्छ नै। इच्छाशक्ति हुनुपर्यो!
बाग्मती–मनहरा दोभान–शंखमुलदेखि बाग्मतीमा धोबीखोला मिसिएको क्षेत्र देखिने तस्बिर – सौजन्य: नेपाली टाइम्स
१९६७ – कोरोना भूउपग्रह
२०२२ – गुगल अर्थ म्याप
यो त तस्बिरको कुरा भयो। अब एकछिन तस्बिर युगभन्दा पहिलेको कुरा गरौं। हाम्रो धार्मिक र सांस्कृतिक परम्परा र अभ्यासको लेन्सबाट हेरौं।
बाग्मतीकै कुरा गरौं।
बाग्मती नदीको धार्मिक र सांस्कृतिक मार्ग हेर्दा यसको तिरमा काठमाडौंका महत्त्वपूर्ण धार्मिक आस्थाका मन्दिरहरू रहेको पाइन्छ।
पहिलोमा लिच्छविकालीन गोकर्णेश्वर महादेव, अनि गुह्येश्वरी, पशुपति र कोटेश्वर महादेव। त्यसपछि भक्तपुरतिरबाट आएको मनहरा मिसिएको दोभानमा पर्ने पाटनको शंखमुल हुँदै पचली भैरव, टेकु दोभानबाट विष्णुमतीलाई सँगै लिएर चोभार हुँदै जलविनायक मन्दिरलाई दाहिने राखेर बाग्मती उपत्यकाबाट दक्षिण लाग्छ।
काठमाडौंमा बाग्मती किनारमा बनेका नयाँ मन्दिरहरूमा रानी ललित त्रिपुरासुन्दरीको पालामा बनेको त्रिपुरेश्वर महादेव र जंगबहादुर पालाको थापाथलीस्थित कालमोचन मन्दिर पर्छन्।
यी सबै मन्दिर बाग्मती किनारमा रहेको तथ्य भेट्न गाह्रो पर्दैन।
यदि यी मन्दिर र बाग्मतीबीच बस्ती बसेको छ भने, अनुसन्धान त्यहीँबाट सुरू गरे हुन्छ। अझ हाम्रो परम्परामा नदी किनारका प्राय: मन्दिरमा दाहसंस्कार गर्ने घाट पनि हुन्छ। जहाँ दाहसंस्कार गर्ने ठाउँ हुन्छ, त्यहाँ कुनै बेला नदी बग्थ्यो भनेर अड्कल लगाउन गाह्रो छैन।
यदि लास जलाउने ठाउँ र नदीबीच बस्ती बसेको छ भने, त्यो बस्ती खोलाको भूभागमा बसेको भनेर बुझ्न सकिन्छ।
उदाहरणका लागि — काठमाडौंको अति व्यस्त मैतीदेवी मन्दिरसँगै भएको दाहसंस्कार गर्ने चिता हेर्दा, कुनै बेला यहाँबाट धोबीखोला बग्थ्यो भनेर अड्कल लाउन सकिन्छ।
त्यस्तै, ललितपुरको नख्खुमा रहेको विष्णुदेवी मन्दिरमा अहिले पनि चलनमा रहेको चिता देख्दा, यो नै नख्खु खोलाको तिर थियो भनी मान्न सकिन्छ।
हालको नख्खु र विष्णुदेवी मन्दिरबीच बनेको सबभन्दा पहिलो संरचना नख्खु कारागार भएको देखिन्छ (हेर्नुस् तस्बिर ७)।
नख्खुको बारेमा कुरा हुँदा, 'हिति प्रणाली' पुस्तकका लेखक तथा सहरी विकास विशेषज्ञ पद्मसुन्दर जोशीले भने, 'नदीलाई आफ्नो बहाव र फैलावटबाट साँघुरो क्षेत्रमा सीमित गर्नुलाई 'रिभर ट्रेनिङ' अर्थात 'नदीलाई कज्याउने' कोसिसका रूपमा लिइन्छ। यो असफल प्रयोग हो भनेर संसारका धेरै नदीले आफ्नो शक्ति प्रदर्शन गरेर देखाइसकेको छ।'
काठमाडौं उपत्यकाका लागि यसको पछिल्लो उदाहरण २०८१ सालमा आएको नख्खुको बाढी हो।
'यसबाट के बुझिन्छ भने, नदीले आफ्नो क्षेत्र पुन: दाबी गर्छ, नख्खुले पोहोर गरेजस्तै,' जोशीले भने।
नख्खुको कुरा बुझाउन उनले दुईवटा तस्बिर मलाई ह्वाट्सएप गरे। पहिलो सन् १९७२ को र अर्को २०२५ को।
नख्खु – सन् १९७२
नख्खु – सन् २०२५
कोटेश्वर महादेव र बाग्मतीबीच कसरी बस्ती बस्यो? शंखमुलको महन्त बस्ने ठाउँ कसरी निजी भयो?
पशुपतिको भट्ट बस्ने घर उनको नाममा पास हुन नसके जस्तै शंखमुलमा अस्तिसम्म स्थानीय बच्चाहरू पर्खाल चढेर फलफूल चोर्ने महन्तको बगैंचा कसरी निजी भयो?
यस्ता उदाहरण काठमाडौं उपत्यकामा खोज्नु मात्र पर्छ, फेहरिस्तै लाग्छ।
खोला र यी मन्दिर बीचका जमिन कहिलेदेखि बिक्री वितरण सुरू भयो भनेर सरकारी स्रेस्ता खोज्न त्यति गाह्रो पनि नहोला।
काठमाडौंमा र त्यसपछि त्यसैलाई नजिर मानेर बाहिर पनि खोलाको किनारमा जब बाटो बन्यो, बाटोछेउ परेका जमिन नदीको मापदण्डबाट बाटोको मापदण्डमा पर्न थालेको देखिन्छ।
नदी किनारलाई सफाइ गर्ने नै हो भने, कागज नभएका सुकुम्बासी मात्र किन, पैसा र प्रभाव प्रयोग गरेर बेच्ने चाँजो मिलाउने कर्मचारीदेखि पहिलो पटक लालपुर्जा हात पार्नेसम्मको नाम पत्ता लगाएर कारबाही गर्न सकिन्छ। त्यसपछिका जग्गाधनीलाई पनि प्रचलित अभ्यासका आधारमा मुआब्जा दिन सकिन्छ।
यसो गर्न सके, काठमाडौंले गुमाएको प्राकृतिक क्षेत्र कति पुनर्स्थापित हुन्थ्यो होला?
यो सोच्दै मात्र के थिएँ, बाग्मती, विष्णुमती, धोबीखोला — यी सबै खोलाका रिभर बेडमा तन्किएका खुला पार्कमा हिँडेको कल्पनामा डुब्न थालेँ।
लन्डनको थेम्स किनार, मेलबर्नको साउथ यारा किनार टहलिएको सम्झन थालेँ।
तादी नदी र त्रिशूली दोभान – देवीघाटमा ऐतिहासिक महेशराज पन्त
यी सब तर्क-बितर्क मनमा खेल्दै थिए, हामी राजा पृथ्वीनारायण शाहको दाहसंस्कार भएको तादी नदी आएर त्रिशूलीमा मिसिने दोभानमा रहेको देवीघाट पुग्यौं।
मोटरबाट ओर्लँदै गर्दा ऐतिहासिक महेश पन्तले सोधे, 'बाग्मती जस्तै काठमाडौंको अर्को मुख्य नदी, विष्णुमतीको नेवारी नाम त थाहा होला नि?'
मैले टाउको दायाँबायाँ हल्लाएँ।
'लौ त्यो पनि थाहा छैन?' उनले खिसी गर्दै भने, 'लुँ खुसी'।
लुँ भनेको सुन।
सुन र विष्णुमतीको सम्बन्ध खोज्दै म पुरानो यादमा डुबेँ।
म जन्मे–हुर्केको ताहाचल नजिकको टंकेश्वर महादेव पूर्वको विष्णुमतीमा आधा डुबेर बालुवामा केही खोज्न तल्लीन मानिसहरू देख्दा मैले आमालाई प्रश्न गरेको सम्झेँ, 'उनीहरूले खोलामा के खोजेको?'
आमाले भनेको याद अझै छ — 'लुँ मालाचोगु' अर्थात 'सुन खोजिरहेको'।
सायद सुन पाउने खोला भएकैले 'लुँ खुसी' भनेको हो कि?
***
(किरणकृष्ण श्रेष्ठका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @KiranKrShrestha
देवीघाटमा पृथ्वीनारायण शाहको समाधि स्थलअघि ऐतिहासिक महेशराज पन्तसँग लेखक