‘कति खान्छन् के यी बाजे, जति बेलै मातेकै हुन्छन्।’
‘केको मात्नु मात्रै? कहिलेकाहीँ त नालीमै सुतेको भेटिन्छन्’
‘पेन्सन पनि रक्सी खाएरै सिद्ध्याउने भए।’
बुढा बा पेन्सन निकालेर बैंकको ढोकाबाहिर निस्किन नपाउँदै, लाइनमा बसेका अरू ग्राहकहरू उनको कुरा काट्न थाल्थे।
हरेक महिना यस्तै यस्तै कुरा सुनिन्थ्यो।
एउटा महिना अलि फरक कुरा पनि सुनेँ मैले।
‘...तर बुढाले बुढेसकालमा न छोराबुहारीको साथ पाए न त आफ्नी बुढीको।’
‘बुढालाई कसले घमन्ड गरेर यहाँ एक्लै बस्नु भनेको थियो त? छोराबुहारीले अमेरिका लगेकै थिए। त्यै रक्सी खान नपाएर होला एक महिनामै फर्किएर आए। बुढी आनन्दले नातिनातिना हेरेर बसेकै छन् उतै। मान्छे धेरै घमन्डी भयो भने पनि दुख पाउँछ के ‘
यत्तिकैमा गार्ड दाइले भन्नुभयो, ‘हल्ला कम गर्नुहोला है।’
सबैजना शान्त भएर आफ्नो पालो कुर्न लागे।
केही महिनापछि फेरि तिनै बुढाको चर्चा भयो, पेन्सन लिनेहरूको लाइनमा।
‘आर्मीमा हुँदा कस्तो कडा थिए बुढा। रक्सी चुरोट केही हात लगाउँदैन थिए। पेन्सन पाकेपछि कसरी बिग्रिए, बिग्रिए...!’
त्यही लाइनमा अर्को आवाज, ‘नपुग्दो के छ र? यहाँ यत्रो सम्पत्ति छ। काठमाडौँमा घर छँदै छ। बुढेसकालमा अलिअलि खाए त आफ्नै खाए, के भयो त?’
एकदिन तिनै बुढाबाको खातामा केवाईसी अपडेट गर्नुपर्ने भयो।
इन्टर्नसिप गरिरहेको भाइले केवाईसी फर्म भरिदिने क्रममा सोधे, ‘बुवा इच्छाइएको व्यक्तिको फोटो र नागरिकता ल्याउनुभएको छ?’
बुढा बा केही बेर चुप लागे।
त्यसपछि खल्तीबाट आफ्नो पेन्सन पट्टा निकाले।
पेन्सन पट्टामा इच्छाइएको व्यक्ति अर्थात् आफ्नी श्रीमतीको फोटो देखाएर भनेँ, ‘यसलाई हेर्ने यसका छोराबुहारी अमेरिकामा छँदै छन् नि। तिनको पैसा नभएको भए यही पेन्सनको आसले पनि मेरो पछि लागिरहन्थी होला। तातोपानी सोध्न नि सँगै नभएकीको फोटो नागरिकता बोकेर हिँड्दिनँ बाबु म..।’
एकैछिन पछि बालाई कुन्नि के भएछ कुन्नि, पेन्सन पट्टामा टाँसेको आफ्नी श्रीमतीको फोटो पनि उप्काएर डस्टबिनमा फालेर निस्किए।
त्यस दिन दिनभरि खुब नरमाइलो लागिरह्यो।
सोचेँ, बुढाबाले रक्सी खाएकै कारण परिवार टाढा भएका होलान्?
कि, बुढेसकालमा श्रीमती र छोराछोरीको साथ नपाएर चाहिँ बाले रक्सीलाई बाँच्ने सहारा बनाए होलान्?
केही महिना त्यस्तै क्रम चलिरह्यो।
एकदिन एउटा नयाँ अनुहार आएर अनुरोध गर्यो, ‘मेरो बुवाको मृत्यु भयो। वहाँको पेन्सन खाता बन्द गर्नुपर्ने भयो।’
आवश्यक कागजात मागेर मृत्युदर्तामा नाम हेर्दा मुटु चिसो भयो।
अघिल्लो महिना बैंकबाट पेन्सन निकालेको मिति र मृत्यु भएको मितिमा केवल एकदिनको फरक देखिन्थ्यो।
यस्तो लाग्यो, बुढाबाले अन्तिम सास, आफ्नै पेन्सनको सहारामा रक्सीको बोतलसँगै फेरेछन्।
पट्टामा फोटो च्याते पनि, सम्बन्धित कार्यालयले श्रीमतीलाई नै प्रथम हकवाला भएको आधारमा पारिवारिक निवृत्तिभरणको अधिकार हस्तान्तरण गरेर पठाएको थियो।
सबै काम सकेर आमाको चेकबुक थमाएपछि छोरा चाहिँले सोध्यो, ‘मेडम, अब आमाको पनि मृत्यु भयो भने के प्रक्रिया हुन्छ...?’
मेरो दर्जनौँ महिनादेखि बुढेसकालमा आफ्नो श्रीमानलाई साथ नदिएकी श्रीमती भनेर मनमनै रिसाएकी ती बुढी आमासँगको सबै रिस यस पटक पखालियो।
आमा सामुन्ने रहँदारहँदै, आमाको मृत्युपछि आफूले पैसा कसरी पाउँछु भनेर सोध्न सक्ने कत्रो आँट! कस्तो भावना?
मैले उनको छोराको त्यो वचन सुनेर ती आमासँग आँखा जुधाउन सकिनँ।
मभित्रको मानवताले जवाफ दिँदै थियो, ‘तिमी जस्ता सन्तानलाई बुवाको आँसु र पसिनाले सिँचेको आम्दानीमा भगवानले कुन हक दिएका होलान् र खै?’
तर मुखले भने कर्मचारी भएर जवाफ दिनुपर्ने बाध्यता थियो, भनेँ, ‘....यस्तै यस्तै प्रक्रिया हुन्छ। आमाको खाता बन्द गरेपछि तपाईंले पाउनुपर्ने रकम तपाईंको खातामा जम्मा हुन्छ।’