आज दिन अलि रमाइलो छ। डाँडाहरू हराभरा देखिएका छन्। डाँडापछाडि हिमाल सुन सरि चम्किरहेको छ। कहिलेकाहीँ त डाँडा र हिमालले मुस्कुराएर कुरा गरिरहेझैँ लाग्छ। एकदमै मनमोहक!
बुवा तल खेततिर जानुभएको छ। आजकाल चिया पिउने बित्तिकै त्यतै लाग्नुहुन्छ। बुवा पनि निकै रमाइलो मान्छे हुनुहुन्छ। अलि होचो अनि गहुँगोरो वर्णको। आवाज त बाबै, सिंह गर्जेझैँ! बिस्तारै बोल्नै नआउने। घरमा बुवालाई चिया खुब मनपर्छ— दूधको चिया। ठुलो गिलासभरि पिउनुहुन्छ। अहिले त्यसरी नै एक गिलास चिया पिएर लाग्नुभएको हो।
आमा भने खाना पकाउनतिर लाग्नुभएको छ। आमा साह्रै सभ्य स्वभावकी हुनुहुन्छ। मधुर छ उहाँको आवाज अनि गोरो वर्णकी। उहाँको त मलाई असाध्यै माया लाग्छ।
म भने घाँस काट्न जान हतारिँदै छु। अलि ज्यादै अबेर भयो भने फेरि स्कुल ढिलो पुगिन्छ। गुरुहरूले मार्नुहुन्छ फेरि।
‘प्रसन्न, भाइ जा त, त्यो डोको र हँसिया लिएर आइज।’
मेरो भाइ प्रसन्न असाध्यै चञ्चल छ। बिचरालाई एक्लो नहोस् भनेर मसँगै भर्ना गरिदिनुभएको छ। यसले गर्दा उसलाई अहिले पढाइमा बढी दबाब छ।
‘गुरुले दिएको पाठ पढेर बसेस् है। म आइहाल्छु।’
दिदीको बिहेपछि घरमा म एक्लै जसो भएकी छु। के गर्नु, छोरीमान्छे भएपछि! आफ्नो घर छाडेर लोग्नेको घरलाई अपनाउनुपर्छ। हिँड्दाहिँड्दै तल देवीथाननेर आइपुगेँ। जाज्वल्यमान भएर उनी यस भूमिमा आश्रित छिन्। यिनी त देवी हुन्। यिनले चाहिँ आफ्नो जन्मथलो छाडेर कुनै देवको घरमा जानुपर्यो होला कि नाइँ? खै, यिनले नै जानुन्।
धन्न बुवा बुझ्ने हुनुहुन्छ, नभए मेरा साथीहरूजस्तै बिहे भइसक्ने थियो मेरो पनि। भर्खर कक्षा सातमा पुगेकी छु। अझै कति धेरै पढ्न बाँकी छ। यो कलिलो उमेरमा बिहे गरेर के गर्ने हो र? साँच्चै भन्ने हो भने त यो बिहे भन्ने कुरै मन पर्दैन मलाई।
बुवाले पढ्ने गरेका ग्रन्थहरूमा सुन्ने गरेकी छु— स्त्री भन्या त जननी, जीवनदाता र देवी हुन्। स्त्रीलाई कहिल्यै हेला गर्नुहुन्न, सदैव पुजेर राख्नुपर्छ। तर यदि यो कुरा सत्य हो भने किन आमाले राति बुवाको घुँडामा मनतातो तेल घस्नुपर्छ?
मलाई स्मरण छ। मलाई पहिलोपल्ट नछुने हुँदा किन मैले केही पनि छुन मिल्दैन? सधैँ मलाई स्नेह गर्ने मेरा आफ्नाहरू किन त्यो बेला मेरो नजिक पनि पर्दैनन्? ग्रन्थहरूमा जति नै जननीको महिमा लेखिए पनि यस्तो आभास भइरहेको छ कि समाजले त्यसलाई सधैँ नै अस्वीकार गर्दै आइरहेको छ।
अरू विषयमा खुब अगाडि छ हाम्रो समाज। धर्मका अनेक गीतहरू गाउँछन्, जयजयकार गर्छन्। तर त्यही धर्मले दिएको नारीप्रतिको अभिव्यक्ति किन स्विकार्दैन यो समाज? किन पन्छ्याइरहन्छ यी विषयहरू? यस्तो अवहेलना गर्ने, खाली प्रथा निम्त्याउने जो कोही हो, उसलाई भेट्न मन छ। तर के गर्नु, उहिल्यै मरिसक्या होलान्।
विवाहको प्रथामा सीता, सती, पार्वती आदि जस्ता महाशक्तिशाली देवीहरू त झुके भने म त बिचरी सानी मान्छे। म के नै गर्न सक्छु र?
तर केही दिनअघि सरले हामीलाई म्याडम क्युरीबारे पढाउनुभएको थियो। उनी त ठुलो वैज्ञानिक रे! विश्वमा पुरुषहरूले ओगटेको क्षेत्रमा, अझ विज्ञानको क्षेत्रमा, उनले कीर्तिमान रचिन् रे। कुन पुरस्कार पनि जितेकी थिइन् रे।
त्यति साँघुरो ठाउँबाट पनि उनले संसारका प्रत्येक व्यक्ति, अझ महिलाहरूलाई, आफ्नो साहस, बुद्धि र प्रेरणाको न्यानो न्यानोपन दिइन्। मैले मेरा नपढ्ने साथीहरूलाई उनको बारेमा बताएँ भने उनीहरूले पत्याउने छैनन्, त्यही भएर मैले बताएकी पनि छैन। तर म बस्ने ठाउँ र क्युरी बसेको ठाउँ कति भिन्न छ! परिवेश ज्यादै असामान्य छ।
यस्तै विषयवस्तुले मेरो मन खोतलिरहन्छ घाँस काट्ने बेला। आफ्नो शरीरभन्दा डबल घाँसको भारी बोकेर घर आएँ। बुवा पनि खेतबाट आइसक्नुभएको रहेछ। हतार हतार गरेर हातमुख धोएँ अनि भान्सातिर पसेँ। भाइले पर्खिरहेको रहेछ। ऊ सधैँ मसँगै बस्न रुचाउँछ। कोहीसँग ज्यादा नबोल्ने मेरो सानो काले मसँग भने धेरै बोल्छ। म उसको प्यारी दिदी जो हुँ।
आज विद्यालयमा परीक्षाको नतिजा प्रकाशित भएको रहेछ। फेरि यो पटक पनि म दोस्रो भएँ। खै, के हुन्छ कुन्नि? सधैँ दोस्रो नै हुन्छु। पहिलो हुन जोडदार मेहनत गर्दा पनि उही नतिजा। दुई नम्बरले चुकेँ। भाइ भने फेल भएछ, तर उसको अनुहारमा कुनै दुःख देखिएन। अहिले त्यति धेरै बुझ्ने भएको पनि छैन नि त।
मलाई प्रिन्सिपल सरले अबिर लगाइदिएर प्रमाणपत्र दिनुभयो। भाइले चाहिँ केही पनि पाएन। म भने अबिर लगाइदिएको खुसीले उखपात भएर उफ्रिँदै घरतिर लाग्दै थिएँ। भाइ पछिपछि आयो। म उफ्रिँदा भुइँमा खसेका अबिरका केही अंशहरूलाई भाइले आफ्नो निधारमा दलेछ र ऊ पनि दिदी जसरी नै उफ्रिँदै घर आयो। यसरी के-के गर्न जानेको हो त्यो सानो केटोले!
घरमा भाइको खुट्टामा चप्पल देखिएन।
‘भाइ, खै तेरो चप्पल?’
‘साँच्ची त, कहाँ छुटेछ ?’
‘अब बाले मार्नुहुने भयो भाइ तँलाई। खोज्न हिँड, छिटो।’
भाइको चप्पल बाटाभरि खोज्दा पनि हामीले भेट्न सकेनौँ। तर घरमा बुवाआमालाई भने थाहा हुन दिएनौँ। भोलिपल्ट आफ्ना चप्पल भाइलाई दिएर म नाङ्गो खुट्टा गएँ। पछि चप्पल चाहिँ स्कुलमा आफू बस्ने ठाउँमुनि राखेको रहेछ मोराले। रिसभन्दा पनि हाँसो पो लाग्यो।
आज सर आउनुभएनछ। साथीहरूको गफबाट केही टुक्राटुक्री सुनेँ। सर र उहाँकी श्रीमतीको झगडा परेछ। उहाँकी श्रीमतीले पनि बिए पढ्नुभएको रे। उहाँलाई पनि शिक्षिका भएर पढाउन मन रहेछ। तर सरले दिनुभएन रे। यही कुरामा झगडा परेको अरे।
कस्तो अचम्म! अस्ति भर्खर क्युरीको बारेमा पढाउँदा महिलाको क्षमताको खुब ठुलठुला तारिफ गर्नुभएको थियो। तर आफ्नै श्रीमतीलाई भने त्यसो गर्नुभएछ। हुन त सरले पनि के नै गर्नु र? स्कुलमा कोही मिस त हुनुहुन्न, सबै सरहरू मात्र। त्यही भएर अप्ठ्यारो लागेको हुन सक्छ। बिहे गरेर घर ल्याएपछि त्यसरी हिँड्न दिन कहाँ मिल्यो र?
सती प्रथाबारे थाहा पाएँ। मेरो त शरीर नै जिरिङ्ग भयो त्यो सुन्दा। बुढा मर्दा सँगै आफू पनि मर्नुपर्ने! कति निर्दयी र क्रूर रहेछ हाम्रो समाज। श्रीमान् जीवित हुँदासम्म कसैकी बुहारी, कसैकी भाउजू, कसैकी माइजू, फुपू, काकी, दिदी आदि बनेर नाता गाँस्नेहरूले नै पछि उसको श्रीमान् मर्दा उसलाई जबरजस्ती ढुंगामुढाले हिर्काएर त्यो चितामाथि फ्याँकिदिने! के मेरो जिजुबाजे मर्दा पनि त्यस्तै गरियो होला? यदि हो भने धिक्कार छ मेरो आफ्नै परिवार र समाजलाई!
एकदमै क्रूर भनिने राणाहरूले नै यो प्रथा हटाए रे। उसो भए उनीहरूलाई किन क्रूर भनिन्छ?
—जनतालाई पढ्न नदिएर?
—कर वसुली गरेर?
—देशलाई गरिब छाडेर?
अहिले पढेलेखेको समाजले चाहिँ के नै गर्न सकेको छ र? उनीहरूले त नारीका लागि सती प्रथा हटाए। आफ्ना श्रीमतीहरूको पिरले पनि हुन सक्छ, तर जे भए पनि त्यस्तो निर्दयी प्रथा हट्यो। यसमा भलो त नारीहरूकै भयो। त्यसैले क्रूर कसलाई भन्ने? म त यो समाजलाई क्रूर भन्छु।
पढेर पनि समाजको त्यही नियममा तल्लीन हुने मानिसहरूलाई धिक्कार छ। यसरी अरूलाई धिक्कार्दा आफ्नै बाको याद आउँछ। बालाई के भन्ने? सही कि गलत?
सही भनूँ भने उहाँ पनि उही समाजले बनाएको पुरुष नामक नायक हुनुहुन्छ।
तर गलत भनूँ भने पनि मलाई यसरी पढाउनुभएको छ। दिदीलाई पनि पढाउनु नै भएको हो।
त्यस कारण म ओझेलमा छु। ओझेलमा यस कारणले छु कि समाज साँच्चै गलत छ कि केवल समाजका मान्छेहरू? कि त यी सब परिस्थितिका सिकार हुन्?
खै, यो कुरा त भगवानले नै जानुन्।